कालचिनीः चियाबारी श्रमिकहरूको जीवनभरीको कमाई भविष्यनिधि कोष अर्थात पीएफ रकम प्राप्त गर्ने तरीका सम्बन्धित विषयमा सोमबार कालचिनी खण्डको दलसिंहपाड़ा चियाबारीमा एउटा सचेतना शिविर सम्पन्न भएको जानकारी तृणमूल चियाबारी श्रमिक यूनियन टीसीबीएसयूको दलसिंहपाड़ा यूनिट सचिव मोहम्मद शाहजहाँ रहमानले दिएका छन्। पीएफ विभागको कोलकाता जोनका अतिरिक्त सीपीएफसी राजीव भट्टाचार्यको मुख्य उपस्थितिमा सम्पन्न सो शिविरमा दलसिंहपाड़ा चियाबारीका प्रायः २०० भन्दा अधिक श्रमिकहरूले सहभागिता जनाएको थियो।
शिविरमा श्रमिकहरूको पीएफ रकम निकाल्दा हुने आधार समस्याको समाधान कमानहरूमा आधार संसोधन शिविर मार्फत गरिने र पीएफ रकम निकाल्दा कुनै दलालहरूको सहारा नलिने सोझै पीएफ कार्यालय आएर पीएफ सम्बन्धित चाहिने कागजपत्र जमा गर्ने आह्वान पनि गरिएको थियो। दलालहरूको भरोसामा जीवनभरी कमाएको पैसा दलालले लैजान नदिन अबउसो पीएफ रकमको निम्ति लाभार्थीहरूलाई नै पीएफ कार्यालय बोलाइने र बिना कुनै खर्च आफ्नो पीएफ दाबी गर्न सक्ने पनि श्रमिकहरूलाई बताईएको थियो। शिविरले धेरै राम्रो काम गरेको र यसले अब श्रमिकहरूलाई दलालको चक्करमा नपर्न मदत पुऱ्याएको टीसीबीएसयू नेता मोहम्मद शाहजहाँ रहमानले जनाएका छन्।











