१५ जूनः सुबोथ फूटबल एकाडमीको तत्त्वावधानमा आयोजित अण्डर-१६ युथ लीग नक्आउट फूटबल टुर्नामेण्ट २०२२ अन्तर्गत बुधवार दुईवटा म्याच खेलियो। मिलनमोड़को सेण्ट जोन्स स्कूल नजिक मेचे बस्तीमा स्थित नेटवर्क मिनिष्ट्री सेण्ट्रल खेल मैदानमा आज भएको पहिलो म्याचमा युनाइटेड सिक्किम फूटबल एकाडमीले खरसाङको हिल फूटबल एकाडमीलाई ५-०-ले पराजित गरी सेमिफाइनलमा स्थान बनायो। यसरी नै दिनको दोस्रो म्याचमा मिलनमोड़ फूटबल एकाडमीले सुबोथ एफए ब्ल्यू टीमलाई ४-०-ले पराजित गरी क्वार्टर फाइनलमा स्थान बनायो। अब बिहीवार हुने क्वार्टर फाइनलमा मिलनमोड़ एफए-ले माउण्ट जियोन ईंग्लिश बोर्डिंग स्कूलको चुनौती स्वीकार्नेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल १७ जून र फाइनल १८ जूनमा खेलिनेछ।











