२५ सेप्टेम्बरः खरसाङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (केजीएचएसए)-को तत्त्वावधानमा आयोजित आठौं अण्डर-१४ लीग कम् नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार तीनवटा म्याच खेलियो। स्थानीय मण्टिभियट खेल मैदानमा जारी यस सेभेन ए साइड टुर्नामेण्टमा आज भएको दिनको पहिलो म्याचमा जेआर३२-ले कार्मेल बोइज स्कूललाई १२-१-ले पराजित गऱ्यो। विजेता टीमबाट रेहान एक्लैले ७ गोल गरे। यसबाहेक इशान्तले ४ अनि अनुरागले १ गोल गरे। कार्मेल बोइज स्कूलबाट अश्विन लेप्चाले १ गोल गरे। दोस्रो चैतेपानी एफसी-ले हिल फूटबल एकाडमी (एचएफए) ब्लू-लाई ३-०-ले पराजित गऱ्यो। यसरी नै दिनको तेस्रो तथा अन्तिम म्याचमा एचएफए रेड-ले कार्मेल बोइजलाई १०-०-ले पराजित गऱ्यो। विजेता टीमबाट देवाशिषले ७ गोल गरे। आज टुर्नामेण्टको लीग चरण समाप्त भयो। पूल ए-बाट चैतेपानी एफसी (विजेता) र साई सुन्दरम स्कूल (उपविजेता)-ले सेमिफाइनलमा स्थान बनायो। यसरी नै पूल बी-बाट एचएफए रेड (विजेता) र जेआर३२ (उपविजेता)-ले सेमिफाइनलमा स्थान बनायो। दुईवटा सेमिफाइनल १ अक्टोबर अनि फाइनल २ अक्टोबरमा खेलिने आयोजक केजीएचएसए-का महासचिव निर्मल गुरुङले बताएका छन्।










