भागोप्रमो भनेको टीएमसी हो अनि गोरामुमो र गोजमुमो भनेको भाजपा हो: अजय एडवर्ड्स

दार्जिलिङ: ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डसले दार्जिलिङ विधानसभा समष्टिको लागि आफ्नो नामांकन पत्र बुझाएका छन्। पूर्व घोषित कार्यक्रम अनुरूप सोमवार बिहान दार्जीलिङको चौरस्तामा इण्डियन गोर्खा जनशक्ति फ्रण्टको हजारौं कार्यकर्ता तथा समर्थकहरूको भेला भएको थियो। यस अवसरमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टको खरसाङ विधानसभा समष्टिको उम्मेद्वार बन्दना राई,पार्टी केन्द्रीय कार्यकारिणी सदस्य एनबी खवास, लाडुप घिसिङ आदि जस्ता केन्द्रीय नेतृत्वहरूको उपस्थिति रहेको थियो। इण्डियन गोर्खा जनशक्ति फ्रण्टले दार्जीलिङ पहाडको तीनैवटा आसनहरू लगायत तराई क्षेत्रको आसनहरूमा पनि उम्मेद्वार खडा गरेका छन्।जसमा दार्जीलिङ विधानसभा आसनबाट पार्टीले पार्टी केन्द्रीय संयोजक अजय एडवर्डसलाई उम्मेद्वार बनाएका छन्। विशाल जनसैलाब लिएर अजय एडवर्डसले आफ्नो नामांकन पत्र दर्ता गर्न जिल्लापाल कार्यलय पुगे अनि आफ्नो नामांकन पत्र दर्ता गरेका छन्।दार्जीलिङ पहाड परिवर्तनको खोजीमा लागि परेको छ।पहाडमा परिवर्तन हुनै पर्छ भन्ने सोंच र विचारलाई आत्मासात गर्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्टले जनतासंग गठबन्धन गरेर उम्मेद्वार खडा गरेको बताएको छ। यस विषयमा बोल्दै ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्ड्सले भने, ‘यसपाली पहाडको जनताले भाजपा र टीएमसीलाई अवश्यै मज्जा चखाउने छन् भन्ने विषयमाथि आफुहरू विश्वस्त रहेका छौँ।भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा भनेको नै टीएमसी हो अनि गोरामुमो,गोजमुमो भनेको नै भाजपा हो। केन्द्रको भाजपा सरकारले पहाडबासीलाई झूठो आश्वसन मात्र दिँदै आएको छ भने राज्यको टीएमसी सरकारले पहाडबासी तथा गोर्खाहरूमाथि शोषण,अन्याय अत्यचारहरू गर्दै आएको छ। त्यसकारण अब हुने चुनावमा पहाडबासीहरूले यिनीहरूलाई अवश्यै मज्जा चखाउने छ।’










