सोरेङ। उर्जा एवं श्रम विभागका मन्त्री एमएन शेर्पाले अग्नि पीडित विनोद तामाङलाई जीविकोपार्जनको लागि एक माउ दुहुना गाई प्रदान गरेको छ। दरमदिन समष्टिको दोदक ग्राम पञ्चायत एकाई अन्तर्गत वार्ड नम्बर एक निवासीलाई विनोद तामाङलाई उक्त गाई सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका समष्टि स्तरीय समिति दरमदिनका उपाध्यक्ष हर्ष कुमार छेत्रीले हस्तान्तरण गरे। वहाँसँग पार्टी कै ब्लक स्तरीय समितिका युवा संयोजक हेमन्त बिष्ट पनि उपस्थित थिए।
स्मरण रहोस्, १८ फरवरी, २०२२-को भीषण आगलागी काण्डमा विनोद तामाङको ३ वटा गाई मारिएको थियो।
पीडित तामाङलाई सरकारले अघिबाटै अनुग्रह राशि ४८ हजार एक सय रुपियाँ पनि प्रदान गरिसकेको छ।
पीडित कृषक विनोद तामाङको जीविकोपार्जको माध्यम नै गाइपालन थियो। उनी गरीबी रेखामुनि (बीपीएल) परिवारमा पर्छन्। यस्तोमा उनको ठूलो नोक्सानी भएको थियो। गाई गोठ घरदेखि निकै टाढा रहेको हुँदा पनि आगलागी भएको अनि तत्काल थाहा पाउन नसक्दा पनि यस्तो हृदयविदारक घटना भएको थियो। गोठको एकछेउमा सोत्तर, कुचो अनि वारीपारी बारिएको हुँदा छिटो आगो सल्किएको थियो।
पीडित तामाङले मन्त्री शेर्पाप्रति कृतज्ञता पनि प्रकट गरेका छन्।










