गान्तोक। अखिल सिक्किम सरकारी वाहन चालक सङ्गठनको नव निर्वाचित समितिले आज राज्यका मुख्य सचिव एससी गुप्ता लगायत अन्य वरिष्ट अधिकारीहरूसित शिष्टाचार भेट गरे। भेटको क्रममा संगठनको विभिन्न विषयमाथि छलफल गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। संगठनका अध्यक्ष छोपेल दोर्जी भोटियाको नेतृत्वमा समितिका सदस्यहरूले पछिल्ला केही दिनको अन्तरालमा मुख्य सचिव एससी गुप्ता, गृह विभागका प्रधान सचिव आर तेलहाङ, सिक्किम पुलिसका डिजिपी, ए. सुधाकर राव, गृह विभागका प्रोटोकल सचिव, गान्तोक जिल्लाका पुलिस अधिक्षक लगायत अन्यसँग भेट गरेको बताइएको छ। भेट अवधि नवनिर्वाचित सदस्यहरूको पक्षबाट सङ्गठनका बारेमा अधिकारीहरूलाई विभिन्न जानकारी गराउनको साथै चालकहरूको हितमा कार्य गर्न सहयोग पुऱ्याउने पनि आग्रह गरेको छ। मुख्य सचिव लगायत अन्य वरिष्ट अधिकारीहरूले सङ्गठनलाई विभिन्न सुझाउ दिएको र आवश्यक परेको खण्डमा सहयोग गर्ने वचन दिएको विज्ञप्तिमा थप उल्लेख गरिएको छ। यसरी नै अखिल सिक्किम सरकारी वाहन चालक सङ्गठनको कार्यलाई अघि बढाउने क्रममा संगठनका सदस्य र सरकारी वाहन चालकहरूको सहभागिता गत ५ जूनमा पर्यावरण दिवसको अवसरमा तादोङ कृषि भवन परिषरमा एउटा सफाइ कार्यक्रम पनि सञ्चालन गरिएको थियो।










