काठमांडू: चालु आर्थिक वर्षको अक्टूबर महिनामा तीन अर्ब ४५ करोड ६३ लाख रूपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ। स्वचालित प्रणालीबाट २१ वटा उद्योगमा १५ करोड १० लाख रूपैयाँ र म्यानुअल प्रणालीबाट ३४ वटा उद्योगमा ३ अर्ब ३० करोड ५३ लाख रूपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ।
विभागका अनुसार गत अप्रैलमा आयोजित तेस्रो लगानी सम्मेलनदेखि अटोमेटिक रुटमार्फत विदेशी लगानी प्रतिबद्धता स्वीकृत गर्न थालेको हो। अक्टूबरमा पर्यटन क्षेत्रमा ६४ प्रतिशत, सेवा क्षेत्रमा २४ प्रतिशत, उत्पादन क्षेत्रमा ७ प्रतिशत, कृषिमा ४ प्रतिशत र सूचना तथा प्रविधि क्षेत्रमा १ प्रतिशतलगानी प्रतिबद्धता आएको छ।
यस्तै, चालु आर्थिक वर्षको तीन महिना जुलाई, अगस्त र सेप्टेम्बर, अक्टूबरमा १६ अर्ब ४४ करोड १३ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। अघिल्लो आर्थिक वर्ष नेपालमा ६१ अर्ब ९० करोड ४५ लाख रूपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो भने खुद विदेशी लगानी ८ अर्ब ४० करोड ७ लाख रूपैयाँ मात्रै भित्रिएको विभागले जनाएको छ।









