सोनादा: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सूचना अनि सांस्कृतिक विभागको पहलमा आयोजना भइरहेको जीटीए आइडलको अडिशन को क्रममा टुङ-सन्तमेरिज समष्टि स्तरीय जीटीए आइडलको स्थानीय सन्तमेरिज हिल गिर्जा मैदानमा भव्यताको साथ सम्पन्न गरियो जसमा संगीतमा पारङ्गत रहेका टुङ-सन्तमेरिज समष्टि अन्तर्गत सिपाहीधुरा बजार निवासी पूर्ण राई ‘बाबरी’ लाई पनि उक्त कार्यक्रममा आयोजक समितिको पक्षमा सम्बर्द्धना जनाइएको थियो। उनको अस्वस्थ्यताका कारण पूर्ण राई ‘बाबरी’ भने कार्यक्रम सहभागी बन्न असमर्थ बनेका थिए। यसर्थ, टुङ-सन्तमेरिज समष्टिका सभासद नुरी शेर्पाको विशेष उपस्थितिमा पूर्ण राई ‘बाबरी’कै वासस्थानमा सम्बर्द्धना जनाउने कार्यक्रम सम्पन्न गरियो। उनलाई खदार्पण गरी अङ्ग वस्त्र पहिराएर फूल-गुच्छाको साथ सम्बर्द्धना पत्र प्रदान गरियो। यसरी सडक, बिजुली, पानी एवं अन्य विविध बुनियाँदी विकासमूलक कार्यहरु भएतापनि साहित्य, कला एवं संगीतलाई पनि समेटेर गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनद्वारा जुन कार्य भइरहेको छ त्यो अति नै सराहनीय रहेको पूर्ण राई ‘बाबरी’ले आफ्नो मन्तव्य प्रकट गरेका छन्। साहित्य, कला, संगीतमा संलग्न रहेका प्रतिभावान कलाकारहरुलाई सम्मान गर्नु नै आउँदो भावी पिढीले पनि यस कलाको क्षेत्रलाई अप्नाएर क्षेत्रको विकासमा थप उपलब्धि प्राप्त गर्नु हो भन्ने मन्तव्य पूर्ण राई ‘बाबरी’ले दिएका छन्। उनी यसरी सम्बर्द्धित भएकोमा जीटीए आईडलको समष्टि आयोजक समितिप्रति कृतज्ञता प्रकट गरेका छन्।

स्मरण गराइन्छ: पूर्ण राई ‘बाबरी’ले बङ्ग संगीतालयबाट स्नातकोत्तरमा एम म्युज स्वर्ण पदक प्राप्त गरेका थिए भने शैक्षिक, सामाजिक एवं सांगीतिक क्षेत्रमा उनको अतुलनीय योगदान रहेको पाइन्छ। उक्त सम्मान दिने क्रममा सिपाहीधुरा समाजका एवं समष्टि प्रतिनिधि दिलीप गजमेरको पनि सहभागिता रहेको थियो।