सरस्वती वर्ल्ड स्कूलका प्रतिभावान विद्यार्थीहरूद्वारा वार्षिक कार्यक्रम “ऊर्जा २०२५” मा आफ्नो प्रतिभा, संस्कृति र शिक्षा प्रदर्शित गर्दै उत्कृष्ट प्रदर्शन

IMG-20250128-WA0175

Loading

कोलकाता: सरस्वती वर्ल्ड स्कूलले आफ्नो विद्यालय परिसरमा बहुप्रतीक्षित वार्षिक कार्यक्रम ‘ऊर्जा २०२५’ को आयोजना गर्‍यो। यो कार्यक्रममा विद्यालयसँग सम्बन्धित शैक्षिक उपलब्धि, कलात्मक अभिव्यक्ति र सांस्कृतिक जीवन्तताको उत्कृष्ट उदाहरण प्रस्तुत गरियो। कार्यक्रममा समाजका विभिन्न क्षेत्रसँग सम्बन्धित प्रतिष्ठित व्यक्तित्वहरू सहभागी भए। प्रमुख शैक्षिक नेताहरू, अभिभावक, शिक्षक र विद्यार्थीहरूको समेत उपस्थिति रहेको कार्यक्रममा उत्साहजनक माहोल थियो।

समारोहको शुरुवात भावपूर्ण स्वागत भाषणसहित भयो। त्यसपछि परिचयात्मक सम्बोधन र ज्ञान तथा बुद्धिको प्रतीकस्वरूप दीप-प्रज्वलनको औपचारिकता सम्पन्न गरियो। कार्यक्रमको नेतृत्व उपाध्यक्ष विक्रान्त सिंह, विनोद सिंह र निर्देशक स्नेहा सिंहले गरे। मुख्य अतिथिहरूमा प्रख्यात पर्यावरणविद तथा सामाजिक कार्यकर्ता विश्वजीत मुखर्जी र प्रतिष्ठित शोधकर्ता तथा लेखक देबाशीष मुखोपाध्यायको उपस्थिति विशेष रह्यो। उनीहरूले शिक्षा क्षेत्रमा बौद्धिक क्रियाकलापको महत्त्व र दिगो अभ्यासका विषयमा प्रेरणादायी सम्बोधन दिएर श्रोताहरूलाई प्रभावित गरे।

विद्यालयका प्रधानाध्यापक श्यामाश्री बिस्वासले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गत वर्षका प्रमुख उपलब्धि, प्रगति र माइलस्टोनहरूबारे जानकारी गराए। अध्यक्षको सम्बोधनले शिक्षाले युवा मस्तिष्कहरूको भविष्यलाई आकार दिन कसरी महत्वपूर्ण भूमिका खेल्छ भन्ने कुरा अझ प्रस्ट्यायो। कार्यक्रमको प्रमुख आकर्षण उपाध्यक्ष विनोद सिंहको नयाँ पुस्तक “स्कूल एजुकेशन इन इण्डिया इन २०२४” को विमोचन रह्यो। यस पुस्तकले शैक्षिक उत्कृष्टताप्रति विद्यालयको दृढ प्रतिबद्धता र शिक्षा क्षेत्रमा विद्यालयको निरन्तर योगदानलाई उजागर गरेको छ।

विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू मार्फत आफ्नो रचनात्मक क्षमता प्रदर्शन गरे। ती प्रस्तुतिहरूमा शिव ताण्डव, नारी शक्ति, अच्युतन केशवम, विवेकानन्द-थीममा आधारित प्रस्तुति, शिक्षा मूल्यांकन, रामको करुणा, ब्ल्याक एण्ड ह्वाइट युगको नृत्य, स्वतन्त्रता सेनानी भगत सिंहको नृत्य नाटक तथा देशभक्ति र वीरताको सशक्त चित्रण रहेका थिए। कार्यक्रमको समापन राष्ट्रगानको भावपूर्ण गायनसँगै भयो, जसले सहभागीहरूमा एकता र देशभक्तिको गहिरो भावना जागृत गरायो।

About Author

Advertisement