भागोपमा लामो समयदेखि खट्ने सदस्यहरूलाई सम्बर्ध्दना
खरसाङ: भारतीय गोर्खा परिसंघ घैयाबारी शाखाको आयोजनामा घैयाबारीको सार्वजनीक भवनमा एक सभा सुवाङ सुब्बाको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभामा भागोप राष्ट्रीय अध्यक्ष डा. मुनिष तामङ प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए। सभामा विशिष्ठ अतिथिहरूमा भागोप जोन २ का अध्यक्ष आकाश लामा, राष्ट्रीय सह कोषाध्यक्ष देविका मंग्राती राई अनि भर्खरै गठित तीरधारे शाखाका तदर्थ समितिका अध्यक्ष शान्ती तामङ उपस्थित रहेका थिए। भागोप घैयाबारी शाखाका सचिव जयराज थापाद्वारा सञ्चालित सभामा भागोपको स्थापनाकालदेखि नै भागोपको उत्थानको निम्ति नि:स्वार्थ रुपमा निरन्तर सेवा पुर्याउँदै आईरहेका समाजसेवी, जाति,भाषा, संस्कृति र अस्तित्वको निम्ति खट्ने र सोच्ने साँचो भागोप प्रेमीहरूमा जयराज थापा, हेमराज गुरूङ, शुवाङ सुब्बा अनि जेबी गुरूङलाई स-सम्मान खादा लगाई स्मृति चिन्ह प्रदान गरेर सम्वर्ध्दना जनाईयो। सभामा रोहिणी, सिलिम हिल, घैयाबारी, खरसाङ अनि तीनधारेबाट गण्यमान्य व्यक्तित्वहरू मात्रामा उपस्थित थिए। सभामा डा. मुनिष तामङले सबै सदस्यहरूलाई एक भएर निष्ठापूर्वक भागोपलाई अघि बढाउने, जोन २ लाई बलियो बनाउने, धेरै शाखाहरूको गठन गर्नुपर्छ भनी बताए। राष्ट्रिय अध्यक्ष डा. मुनिष तामाङले भने, हामीले उब्रेको समयलाई होईन तर अन्य कामहरू छोडेर भागोपलाई समय दिनपर्छ। पहिला जुन लक्ष्य लिएर आएका छौं, त्यो सबै मिलेर पूर्ण गर्नुपर्छ। त्यसरी नै सभामा आकाश लामाले जोन २ भागोपको प्रमुख अंग हो र यसमा सबै संघ संस्थाहरूलाई जोडौं अनि अन्य कामलाई होईन भागोपलाई प्राथमिकता दिनपर्छ भनी बताएका छन्।

सभामा तीनधारेका सह सचिव सुरेशचन्द्र दर्नालले आफ्नो वक्तव्यमा रंगटङ्गदेखि गिद्ध पहाडको मूल बाटोलाई स्वतन्त्र सेनानी नरभूप राईको नाम दिनलाई भागोपले पहल गरिदियोस् भनी सुझाव राखेका छन्। नरभूप राईले खरसाङ क्षेत्रमा पहिला बिजुली बत्ति ल्याएका थिए। साथै मेजर दुर्गा मल्लको उत्सर्ग पनि भुल्नुहुन्न भनी बताएका छन्। राष्ट्रिय अध्यक्षद्वारा तीनधारे तदर्थ समितिका कमिटिलाई खरसाङको साक्षीमा अनुमोदन स्विकार गरिदिएका छन्। सभामा सभाध्यक्ष साथै उपाध्याक्ष हेमराज गुरूङद्वयले वक्तव्य राखेका थिए। सभामा धन्यवाद ज्ञापन रमेश प्रधानले राखेका थिए।