फूलबारी: ‘भीबी-जी राम जी’ अन्तर्गत १२५ दिने रोजगार कार्यक्रम सुरु, श्रमिकहरूमा उत्साह

29ee485e-b90f-43ce-9d0a-fa8c16522aad

सिलिगुडी: उत्तर बंगालको फूलबारी क्षेत्रमा केन्द्र सरकारको ग्रामीण रोजगार योजना ‘विकसित भारत– ग्यारेन्टी फर रोजगार एन्ड आजिविका मिसन ग्रामीण’ (भीबी-जी राम जी) अन्तर्गत १२५ दिने कामको औपचारिक सुरुवात भएको छ। विगतमा ‘१०० दिने काम’ वा ‘मनरेगा’ नामले चिनिने यस ऐतिहासिक ग्रामीण रोजगार कार्यक्रमलाई हालै केन्द्र सरकारले परिमार्जन गर्दै नयाँ नाम दिएको हो। राज्य सरकारले ग्रामीण क्षेत्रका श्रमिकहरूको हितलाई ध्यानमा राख्दै यसअघि नै १२५ दिने रोजगार कार्यक्रम सुरु गर्ने घोषणा गरे अनुरूप यो काम अघि बढेको हो।
​लामो समयपछि गाउँमै रोजगारीका अवसरहरू सिर्जना भएपछि यस क्षेत्रका ग्रामीण श्रमिकहरूमा नयाँ आशा र उत्साह पलाएको छ। योजनाको पहिलो चरण अन्तर्गत फूलबारी-२ ग्राम पञ्चायत क्षेत्रमा एक सामुदायिक ढल निर्माण परियोजनाको काम मंगलबारदेखि विधिवत् रूपमा प्रारम्भ गरिएको छ। पूर्व धनतला हाई स्कूलदेखि जोरापानी नदीसम्म जोडिने उक्त निकास ढल परियोजनाको अनुमानित लागत १ लाख ४८ हजार ८३५ भारतीय रुपैयाँ रहेको छ।
​परियोजनाको उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि र सामाजिक कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। २६ जना ग्रामीण श्रमिकहरूको सहभागितामा नरिवल फुटाएर र रिबन काटेर परम्परागत विधिअनुसार कामको थालनी गरिएको हो। कार्यक्रममा ग्राम पञ्चायत प्रधान रफिकुल इस्लाम, पञ्चायत सदस्य उत्तम सरकार, सामाजिक कार्यकर्ता राहुल बर्मन, सूर्य मल्लिक, मामनी दास र मीनु रोय लगायतको उपस्थिति थियो। यस अभियानले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै मनसुनको समयमा हुने डुबानको समस्यालाई समेत समाधान गर्ने विश्वास स्थानीयले लिएका छन्।

About Author

Advertisement