गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा परिकल्पित नशामुक्त र स्वच्छ सिक्किमको थिममा आरिथाङ समष्टिका विधायक तथा मन्त्री अरूण कुमार उप्रेतीको प्रमुख संरक्षकत्वमा तथा पार्टी कार्यकर्ताहरूको तत्वावधानमा हिजोदेखि देवरालीको जीएमसी फुटसल एरिनामा फुट्सल प्रतियोगिता प्रारम्भ भएको छ।
आज प्रतियोगिताको दोस्रो दिनको कार्यक्रममा एसकेएम पार्टीका प्रवक्ता विकास बस्नेत मुख्य अतिथिका रूपमा उपस्थित रहेर खेलाडीहरूलाई प्रोत्साहित गरे।
यस फुटसल लिगमा अरिथाङ क्षेत्रका विभिन्न वार्डहरुबीच खेल सम्पन्न भयो। मुख्य अतिथि, अतिथि वा उपस्थितहरूबाट कुनै पनि आर्थिक सहयोग नलिई यो कार्यक्रम स्वच्छ र लागुऔषध मुक्त सिक्किमको लागि चेतना जगाउने खेलको भावना, सामुदायिक सहभागिता र खेलकुदलाई प्रवर्द्धन गर्न विशुद्ध रूपमा ध्यान केन्द्रित गर्दै आयोजना गरिएकोमा मुख्य अतिथि विकास बस्नेतले आयोजक पक्षको खुलेर सराहना गरे। यस अवसरमा अरिथाङ निर्वाचन क्षेत्रका पार्षद र पार्टी कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो।









