पटना: बिहार क्याडरकी सन् २०१३ ब्याचकी प्रतिभाशाली र कर्तव्यनिष्ठ गोर्खाली भारतीय प्रशासनिक सेवा (आईएएस) अधिकारी छिरिङ वाई भुटिया जहानाबाद जिल्लाको नयाँ जिल्ला मजिस्ट्रेट (डीएम) नियुक्त भएकी छन्। बिहार सरकारले हालै गरेको प्रशासनिक हेरफेर अन्तर्गत भुटियालाई यो महत्त्वपूर्ण जिम्मेवारी सुम्पेको हो। सिक्किमकी छोरी भुटियाको यस उच्च पदमा भएको नियुक्तिलाई सिक्किमसहित सम्पूर्ण भारतीय गोर्खा समुदायका लागि गौरवको उपलब्धिका रूपमा हेरिएको छ।
सिक्किममा ३१ डिसेम्बर १९९० मा जन्मिएकी छिरिङ वाई भुटियाले भारतको प्रतिष्ठित दिल्ली विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक उपाधि हासिल गरेकी हुन्। अध्ययनकालदेखि नै उत्कृष्ट शैक्षिक पृष्ठभूमि भएकी उनले भारतीय प्रशासनिक सेवामा प्रवेश गरेपछि पनि आफ्नो दक्षता, इमानदारी र समर्पणको स्पष्ट छाप छोड्न सफल भएकी छन्। आफ्नो प्रशासनिक सेवाका क्रममा उनले उप-विभागीय अधिकारी (एसडीओ), कार्यकारी मजिस्ट्रेट, विशेष कर्तव्य अधिकारी (ओएसडी), सहायक सचिव तथा आयुक्त जस्ता विभिन्न महत्त्वपूर्ण र चुनौतीपूर्ण जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गरिसकेकी छन्।
जहानाबाद जिल्लाको कमान्ड सम्हाल्नुअघि उनी बिहार सरकारको स्वास्थ्य एवं परिवार कल्याण विभागमा अतिरिक्त सचिवका रूपमा कार्यरत थिइन्। कुशल, इमानदार र जनमुखी प्रशासकका रूपमा चिनिएकी भुटियाले आफ्नो सेवाकालभरि सुशासन, उत्तरदायित्व र जनहितलाई सधैं प्राथमिकतामा राख्दै आएकी छन्। उनको यो नयाँ नेतृत्वमा जहानाबाद जिल्लाले समग्र विकास, सुशासन र प्रभावकारी सार्वजनिक प्रशासनका क्षेत्रमा नयाँ उचाइ हासिल गर्ने विश्वास स्थानीय स्तरमा र गोर्खा समुदायका विभिन्न सामाजिक सञ्जालहरूमा व्यक्त गरिएको छ।









