शब्द समय सालबारीद्वारा विश्व कविता दिवस पालन

IMG-20230323-WA0187.jpg

सिलगढी: शब्द समय सालबारीको तत्वावधानमा विश्व कविता दिवसको अवसरमा मङ्गलबार २१ मार्चको दिन स्थानीय सविता गोम्देन साहित्य कक्षमा एक भव्य साहित्यिक कार्यक्रम सम्पन्न भयो। कार्यक्रमलाई मूर्धन्य साहित्यकार नरबहादुर दाहालले अध्यक्षता गरेका थिए भने प्रसिद्ध कवि नोर्जाङ स्याङदेन विशेष अतिथिको रूपमा उपस्थित थिए। ओनलाइन पत्रिका ‘दार्जीलिङ टक्स’-का सम्पादक शैलेन्द्र समदर्शीद्वारा सञ्चालन गरिएको कार्यक्रममा उनैले प्रथममा स्वागत सम्बोधन राखे। कार्यक्रम अध्यक्ष विशिष्ट साहित्यकार नरबहादुर दाहालले यस अवसरमा आफ्ना कुराहरू राखे। आफूले कविता लेख्नतिर कलम चलाउन थालेको समय कवितामाथि कविहरूको सोच कस्तो थियो त्यसबारे उनले रोचक कुराहरू बताए। आफूले श्रृंगार रसका कविताहरू लेख्ने गरेकाले आयामिकहरूबाट आफू भिक्टिमाइज भएको पनि उनले बताए। साहित्यकार दाहालले भने, आयामिकमा दुई थरीका कविहरू थिए, एक थरी दुर्बोध भएर पनि राम्रो कविता लेख्नेहरू थिए अनि अर्का थरीमा केही बुझ्नै नसकिने लेख्नेहरू। तर दुर्बोध्यको आडमा अर्थहीन कविता लेख्नेहरू पछि आफै हराएर गए। कवि दाहालले वातावरणलाई काव्यमय बनाउँदै ‘उदास मनको एउटा कविता’ शीर्षकमा स्वरचित कविता पठन गरे अनि बाछिटालाई भनेर लेखेका छोटा कविताहरू पनि सुनाए। विशेष अतिथि लोकप्रिय कवि नोर्जाङ स्याङदेनले कविताप्रति आफ्नो धारणासित आफ्नो कविता लेखनका कुराहरू बताए। उनले भने, कविता भनेको कला हो। शब्दमा कला हुनुपर्यो, भाव अभिव्यक्तिमा कला हुनुपर्यो। दर्शनलाई पनि मलिलो बनाएर पेश गर्नुपर्यो। अभिव्यक्तिलाई साहित्यिक भाषामा लेख्नुमात्र कविता होइन। गिरीका कविताहरू किन कालजयी छ्न् उनले आफ्नो दृष्टिकोण बताए। उनले भने, कवितालाई हामीले गम्भीरतापूर्वक लिनुपर्छ। पाठकलाई हामीले सम्मान गर्नुपर्छ। अन्त्यमा कवि स्याङ्देनले ‘उपद्रो’ शीर्षकमा आफ्नो खुबै सुन्दर कविता पठन गरेर सुनाए। वरिष्ठ कवि मोहन ठकुरीले यस अवसरमा आफ्नो स्वरचित कविता ‘एक लहर चाहना’-सितै कवि नर्जाङ स्याङदेनले लेखेका अनि आफूलाई अति मन परेको कविता ‘एक पाइला हासूँ’ पठन गरेर सुनाए। वरिष्ठ कवि-अध्येता-चिन्तक ज्ञानेन्द्र खतिवड़ाले विश्व कविता दिवसको महत्वबारे प्रकाश पार्दै एक समयको चोर डाकुहरू लाग्ने सालबारी आज साहित्यको निम्ति उर्वर बनिरहेको बताए। उनले भने, आज आएर हामी त्यही स्थानमा विश्व कविता दिवस पनि पालन गरिरहेका छौं, यो गर्वको कुरो छ। यस अवसरमा उपस्थित स्वनामधन्य सर्जकहरूले आफ्ना सिर्जनाहरू पठन गरे जसमा कवि-अनुवादक खड़कराज गिरीले आफ्नो एक मौलिक कवितासित एक अनुवादित कविता पठन गरे। यसै गरी चर्चित कवि राजा पुनियिनी, कवि देविका मंग्राती राई, रम्भास कवि लीलबहादुर सुनार, कथाकार-अनुवादक जीतबहादुर सुनार, कथाकार-उपन्यासकार मणिकुमार प्रधान, कथाकार-चित्रकार सुवास छेत्री, कवि-गजलगो समीर शर्मा, कवि हेमन्त काफ्ले, कवि निर्मल सिन्चुरी, युग्मककार कालूसिंह रनपहेंली आदिले आ-आफ्ना सिर्जनाहरू सुनाए। वरिष्ठ समाजसेवी पूर्ण मंगरले एक सुन्दर अनुवादित कविता सुनाएर सबैलाई मन्त्रमुग्ध बनाएका थिए। वरिष्ठ गायक-सङ्गीतकार नरवीर रसाइलीले यस अवसरमा एउटा मीठो गीत गाएर सुनाए। यस कार्यक्रममा चर्चित कवि सुरज रोसुरी, चिया उद्योगबाट अवकाशप्राप्त अधिकारी अरूण गोम्देन, गोम्देन टी-बारका स्वामी अरूण गोम्देन आदिको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रमलाई खुबै सुन्दर ढङ्गमा सञ्चालन गरिरहेका पत्रकार-सम्पादक शैलेन्द्र समदर्शीले अन्त्यमा सबैलाई धन्यवाद ज्ञापन पनि गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *