के सिक्किमका नेपालीहरू विदेशी हुन्  ?

00-1-Sikkim-Rally

आज सिक्किमको सामाजिक-राजनैतिक परिप्रेक्ष्यमा यहाँका नेपालीहरू साँच्चि नै विदेशी हुन् त भन्ने गम्भीर प्रश्न उठेको छ। हालै भारतको सर्वोच्च अदालतले पुराना व्यापारीहरूले आयकर छुटका निम्ति दायर गरेको याचिकाको सुनुवाईमा यहाँका नेपालीहरूलाई विदेशी मूलका निवासी हुन् भनी चित्रण गरेकोले उक्त प्रश्न खडा  भएको हो। हुन त त्यस भन्दा अघि पनि यस प्रकारका लाञ्छना र आरोपहरू विभिन्न समय र सन्दर्भमा लाग्दै आएका हुन्,जसले यहाँका नेपालीहरूमा एकप्रकारको असुरक्षाको भावना सिर्जना गरेको छ। त्यसैले नेपाली भनेको को हो, सिक्किमका  नेपालीहरू विदेशी हुन्  अथवा होइनन्, होइनन् भने त्यसलाई पुष्टि गर्ने आधार र तथ्यहरू के के हुन् त्यसको उत्तर खोज्ने प्रयास यस लेखमा गरिएको छ। जुन तथ्य र तर्कप्रति यहाँका सम्पूर्ण नेपालीहरू जानकार हुन र जबाफदेही हुन आवश्यक छ।

 वास्तवमा नेपाली एउटा जातीय अवधारणा अथवा जातिको नाम हो। तर  नेपाली जाति को हुन् भन्ने कुरा जान्न अघि जात र जाति भनेको के हो अनि जात र जातिमाझ के भिन्नता छ भन्ने  कुरा  बुझ्न आवश्यक छ, त्यसैले सङ्क्षिप्तमा त्यसको भिन्नतालाई बुझ्ने कोशिश गरौँ।

  • जात र जातिको भिन्नता के हो?

१.१. जात- जात जन्मेन शब्दबाट आएको हो। विभिन्न योनीमा शरीर धारण गरेर जन्म लिने मानिस, जनावर, किराफटेङ्ग्रा  आदि प्राणीका विभिन्न जात हुन्। हिन्दू वर्णाश्रममा सानो-ठूलो, तल्लो –उपल्लो आदि भनेर छुट्याइएको समूहलाई जात भन्ने गरिएको छ। जात शब्द अंग्रेजी भाषाको कास्ट (Caste)को नेपाली रुपान्तरण हो। यो पुर्चुगाली भाषाको Casta बाट आएको शब्द हो, जसको अर्थ जन्म अथवा भेद हो। जात भनेको समाजको त्यो वर्ग हो, जसको अधिकार र कर्तव्यहरु वंशाणुगत हुन्छन्।

   १.२. जाति (Race)

शारीरिक बनावट, आकार-प्रकार  गुण, स्वभाव र रङ्गका आधारमा छुट्टयाइएको मानव जातिको विभिन्न समूहलाई जाति  (Race)भनिन्छ। ठूला जातिअन्तर्गत विभिन्न साना उपजाति Sub–Races) पनि हुन्छन् तथा ठूला जातिहरु र साना जातिहरुको समिश्रणबाट माध्यम जातिहरु पनि उत्पत्ति भएको हुन्छ। विद्वानहरूले संसारमा रहेका विभिन्न जातिलाई छुट्याउने विभिन्न आधार र सिद्धान्तहरू प्रस्तुत गरेका छन् जसमध्ये भौगोलिक सिद्धान्त (Geographical Theory), सांस्कृतिक एकीकरणको सिद्धान्त (Theory of Cultural Integration),सामाजिक वर्गीकरणको सिद्धान्त (Theory of Social Division) आदि प्रमुख छन्। नेपाली जाति यस्तै सिद्धान्तका आधारमा निर्मित जातीय अवधारणा हो।

  • नेपाली जातिको मूल के हो? को हुन्  खस- किरात ?

नेपाली जाति मूलतः खस र किरातको समायोजनबाट बनेको जाति हो। वर्तमान परिप्रेक्ष्यमा खस भन्नाले विशेषतः छेत्री, बाहुन,  ठकुरी, कामी ,दमाई, सार्की, सन्यासी  गन्धर्व आदिलाई बुझिन्छ। खस जातिको उत्पत्ति पूर्वी इरानको ताजिक वा कम्बोज वा साका जातिबाट भएको हुनसक्ने अनुमान कतिपय इतिहासविद्हरूले गरेका छन्। खस जाति काशगर वा मध्य एसियाका बासिन्दा थिए र तिब्बत हुँदै नेपाल र भारत आएका थिए भन्ने मान्यता पनि छ। प्राचीन भारतीय साहित्यमा  खसहरू गान्धर, बहलिका, त्रिगर्त र मद्रा राज्यहरूमा बसेको चर्चा पाइन्छ। खस जातिको उल्लेख प्राचीन भारतीय ग्रन्थहरूमा प्रशस्तै पाइन्छ। महाभारतमा  खसहरू कौरवहरूको पक्षमा लडेका थिए भन्ने मत पाइन्छ। पुराणमा खसलाई हिमालय राज्यको बासिन्दाको रूपमा वर्णन गरिएको छ। इतिहासकार सिल्भान लेवीअनुसार खस अर्ध-संस्कृत जाति थिए जो हिमालयमा बसोबास गर्दथे र बौद्ध धर्म  अवलम्बन गर्थे तर १२औं शताब्दीमा आइपुग्दा प्रकृतिपुजक र  हिन्दू धर्मानुरागी भए। पाँचौ शताब्दीतिर खसहरू पश्चिम नेपाल प्रवेश गरेर बसोवास गर्न थालेको कुरा धेरै इतिहासकारहरूले उल्लेख गरेका छन्। बाह्रौं शताब्दीको प्रारम्भतिर खस राजा नागराजले सिञ्जालाई खस साम्राज्यको राजधानी बनाइसकेको थाहा पाइन्छ।

अर्कोतिर वर्तमान सन्दर्भ  र विभिन्न समाज-राजनैतिक डिस्कोर्समा विशेषतः लिम्बू, राई, याखा, सुनुवार, जिरेल, धिमाल आदिलाई मात्र किरात बुझ्ने र बुझाउने गरिए तापनि इतिहासविद् इमानसिंह चेम्चोङले आफ्नो पुस्तक हिस्ट्री एन्ड कल्चर अव द किरात पिपुल्स (१९६७)- मा विशेषतः भोट- बर्मेली भाषा बोल्ने मगर, तामाङ, शेर्पा, मगर, कागते, नेवार, दनुवार, गुरूङ, भुजेल थामी आदि पनि किरात हुन् भन्ने जीकिर  गरेका छन्। त्यसैले अनेक जातको  समुच्चाजन्य नाम किरात रहेको कुरामा कुनै शङ्का छैन। अथर्व वेदमा सिन्धू सभ्यताकाल (२५००-१७०० ई.पू. लगभग)-मा सिन्धू मालभूमिको उत्तरस्थित सिङ्गो हिमालय पर्वतमालाको दक्षिणी पाखा र त्यस परिपरिको  मैदानमा  किरातहरू रहने-बस्ने गरेको उल्लेख पाइन्छ। प्राचीन संस्कृत वाङ्मयले किरातलाई हिमालय पर्वतमा बस्ने, गुफा निवासी,  धनुषधारी,  पीत वा गेरु वर्णी, किंपुरुष आदि भनेको पाइन्छ। रामायण र महाभारत कालसम्म आइपुग्दा किरातको राम्रैसँगले पहिचान खुलेको पाइन्छ। रामायणमा रामका कुलगुरु वशिष्ठ हिमदाव (हिरदावी) पर्वतमा किरातहरूका साथ केही समय रहेको प्रसङ्ग पाइन्छ भने  प्रागैतिहासिक कालमा पश्चिम हिमालय मूलतः किरात क्षेत्र रहेको देखिन्छ।  हिन्दूको फेद नै किरात हो  भन्ने मान्यता मुन्धुमविद डा. चन्द्रकुमार शेर्माको रहेको छ। 

 उपर्युक्त तथ्यको आधारमा हेर्दा नेपाली जाति मूलतः खस किरातका विभिन्न सभ्यता, संस्कृति आदिको अन्तरसम्बन्ध र अन्तरघुलनबाट निर्मित भएको देखिन्छ। जसको बुनोट  टिस्टा र रङ्गीत मिलेपछि छुट्याउनै नसकिने  पानी जस्तो छ, कुन टिस्टाको पानी कुन रङ्गीतको पानी। खस र किरातको समावेशी सांस्कृतिक समागमबाट नै नेपाली जातिमा मादल, ढ्याङ्ग्रो र सारङ्गी जस्ता वाद्ययन्त्र, खुकुरी जस्तो हतियार  विभिन्न प्रकारका आजा -पुजा र खानपानहरू भित्रिएको पाइन्छ भने समाजमा मितेरी साइनो, बुढेनी, धामी झाँक्रीहरू छिरेको र शीर उठाउने क्षमाशील समाज निर्माण भएको देखिन्छ। भाषा-भाषा र वेश-वेश-वेशमा सांस्कृतिक अन्तर्घुलन पाइन्छ। इतिहासदेखि नै खस र किरातले एक अर्काको अस्तित्वलाई स्वीकार गरेको र व्यापक रूपमा साँस्कृतिक अवयवहरू आदानप्रदान  भएको पाइन्छ। त्यही  सद्भावको व्यवहारिक र मनोवैज्ञानिक सङ्गमबाट नेपाली जाति बनेको हो। परस्परको लेनदेनबाट नै नेपाली समाजमा वुद्धको प्रार्दुर्भाव र सम्मति, विभिन्न जात्रा, पर्व र प्रथाहरू पनि  स्थापित हुँदै आएका हुन्। त्यसैले खस-किरात भिन्न संस्कृति र  रगत् होइन सङ्युक्त संस्कृति र रगत् हो। किरातमा ल्हासा गोत्र र काशी गोत्रको चलन होस् वा मदिरापान गर्ने पावइ खसको प्रसङ्ग होस्  वा खसको विहेमा मगर नास्ती र मगरको विवाहमा खस नास्तीको सन्दर्भ होस् वा त लामिछाने, बुढाथोकी, विष्ट, थापा, बराल, राना आदि थरहरूको प्रसङ्ग होस् सबैतिर सरोवरी  पाइन्छ।

  • नेपाली जाति भनेको को हो?

 नेपाली जाति विभिन्न जातीय, भाषिक, धार्मिक , सांस्कृतिक, भौगोलिक र विविधत्तायुक्त समाजिक बनोटमा आधारित जातीय अवधारणा हो। एकैनासे जीवनशैली, परस्परमा सहयोगिताको र अपनत्वको भाव र सांस्कृतिक समानता भएको साझा पहिचानमा आधारित अवधारणा हो नेपाली। साझा विचार र भावना, आदर, रीति–रिवाज, चालचलन, खानपान, हावभाव भेषभूषा आदि भएको इन्द्रेणारूपी अवधारणा हो नेपाली। नेपाली जाति नेपालका बासिन्दा हुन् भन्ने धारणा एकदमै गलत हो। विभिन्न समय, स्थान र सन्दर्भमा नेपाली जातिलाई चिन्हित र परिभाषित गर्न आवश्यक छ। नेपालको सन्दर्भमा नेपालको भौगोलिक सीमाभित्र बस्ने बिहारी, पञ्जाबी, मुसलमान थारू आदि सबै नेपाली हुन् भने एकसमय नेपाल भन्नाले काठमाडौं उपत्यकालाई मात्र बुझिन्थ्यो भने नेपाल भाषा भन्नाले आज पनि नेवारी भाषा बुझिन्छ। दार्जीलिङ-कालेबुङका भोटे-लाप्चेहरू आफूलाई गोर्खा वा नेपालीको बृहतर अवधारणाभित्र अटाउन रूचाउँछन् भने सिक्किममा इतिहासदेखि नै भोटे,लाप्चे र नेपाली तीनवटा  छुट्टै  जाति हुन् भन्ने भाष्य निर्माण भएको छ। कुनै देशको नाम हाम्रो जातीय नामसँग जोडिँदा त्यही देशको वासिन्दा वा विदेशी भइन्छ भन्नु भ्रान्त धारणा हो। यदि त्यसो हुँदो हो त बङ्लादेश छुट्टै देश छ भारतमा बसोबास गर्ने  बङ्गालीहरू पनि   विदेशी  हुनुपर्ने! हाल पाकिस्तानमा रहेको सिन्ध प्रान्तसँग  भारतका सिन्धी जातिको  के सम्बन्ध छ? सिन्ध जातिको उद्गमथलो सिन्ध प्रान्त, जुन ठाउँको उल्लेख भारतको राष्ट्रगानमा समेत छ उनीहरू पनि  विदेशी हुनुपर्ने! भारतमा मात्र होइन पाकिस्तानमा पनि रहेको पञ्जाबलाई ध्यानमा राख्ने हो भने त भारतीय पञ्जाबीहरू, पस्तुनहरू, तिब्बती मूल भएका भोटे र चांग्पाहरू, हिमाचल प्रदेशका लाहौरी जाति, बर्मी मूलका   अरूणाचल प्रदेश र असममा बस्ने जिन्गपोहरू पनि विदेशी हुनुपर्ने! त्यसभन्दा माथि अङ्ग्रेज जसले भारतलाई लामो समयसम्म राज गरे त्यस मूलका, भारतमा  व्यवसाय अथवा पदाधिकार लिएर बसेका  एंग्लो इण्डियन समुदायलाई  किन विदेशी नभन्ने? भारतीय संविधानले उनीको  दुईजना सदस्यलाई लोकसभामा मनोनयन गर्ने व्यवस्था सुनिश्चित गरेको छ त! त्यसैले सिक्किममा  बस्ने नेपालीहरूलाई नेपालको भन्नु  सरासर  गलत हो। त्यसैले यो तथ्यहीन कुतर्क ,अपव्याख्या र अज्ञानी मनोविज्ञानबाहेक  अरू केही होइन।

. पहिचानको सङ्कटमा सिक्किमे नेपाली

पहिचानको सङ्कट (आइडेन्टी क्राइसिस) पदावलीको प्रथम प्रयोग मनोविज्ञ एरिक एरिक्सनेलले गरेका हुन्। उनीअनुसार यस्तो स्थिति त्यतिबेला आइपर्छ, जब व्यक्ति वा समाजले जेलाई आफ्नो पहिचान ठानेको हुन्छ, ऊ त्योभन्दा भिन्न रूपमा प्रस्तुत हुनथाल्छ। जेम्स मर्सिआ लगायतका मनोविज्ञहरूले आफ्नो क्षमता र प्रतिबद्धताबीच सन्तुलन नहुनु नै पहिचानको सङ्कट हो भनेका छन्। जुन कुरा आजको सिक्किमको नेपाली समाज र  अहिलेको परिस्थितिसँग ठ्याक्कै मेल खान्छ। बहुसङ्ख्यामा रहेर पनि घरि घरि विदेशी वा इमिग्रान्टको लाञ्छना खेप्नु परेको यहाँको नेपाली जातिले भारतीय सन्दर्भमा सीमान्तकृत जातिका रूपमा उपेक्षित जीवन बाँच्नु परिरहेको छ। उनीहरुको पहिचानलाई निशाना-नामेट पार्ने दुस्प्रयास र षडयन्त्र विगतदेखि हुँदै आएको छ जो आजपर्यन्त जारी छ। विभिन्न बहानामा उनीहरूलाई हीनताबोध गराउने र धब्बा लगाउने कुत्सित चालमा  कुनै विराम लागेको छैन। त्यसका लागि यहाँका नेतृत्व पङ्क्तिमा रहेका  नेपाली जातिकै मानिसहरूको भूमिका पनि पनि कम महत्त्वपूर्ण छैन। आफ्नो कुत्सित राजनैतिक महत्वकाङ्क्षालाई पूर्ति गर्न सिक्किमको सिङ्गो नेपाली जातिलाई राजनैतिक, आर्थिक, धार्मिक र सांस्कृतिक रूपमा सकेसम्म विभाजन गरिएको छ। त्यसैले आज सिक्किममा सिङ्गो नेपाली जातिभित्र   ओबिसी, एनबीसी,एमबीसी, एसटी, एससी जस्ता विविध रूपहरू पाइन्छन्। त्यही खण्डित स्थितिमा सिक्किमे नेपालीहरूको   साझा पहिचान हराएको छ र को नेपाली तिमी कि म भन्ने असमञ्जसता सिर्जना भएको छ।

  • सिकिक्मको इतिहासले के भन्छ?

सिक्किमका नेपालीहरूलाई विदेशी, इमिग्रान्ट र डयास्पोरा आदिको संज्ञा  दिन र लाञ्छना लगाउन अघि माथि बताइएका  कुराहरू र निम्नलिखित तथ्यलाई  ध्यानमा राख्नुपर्ने हुन्छः

  • इतिहासमा सिक्किम वर्तमान सिक्किम जस्तो सानो थिएन। सिक्किमका प्रथम राजा फुन्सो नामग्यालको (१६४२-१६७०) समयमा सिक्किमको पश्चिमतर्फको सीमा हालको नेपालको तमर नदीसम्म फैलिएको थियो। त्यस क्षेत्रमा बसोबास गर्ने मानिसहरू सिक्किमका राजाका रैती थिए भने  उनीहरू विदेशी हुन भन्ने कुरा कसरी पुष्टि हुन्छ?

२. इतिहासमा अङ्कित छ सन् १७७३ मा, गोर्खा सेनाले पूर्वी नेपाल कब्जा गर्यो र  सन् १७८८ सम्म सिक्किमको पश्चिमी भागमा अधिकार जमायो। गोर्खाली सेनाले दार्जिलिङ क्षेत्र र २८ अक्टोबर सन् १७८८  मा सिक्किमको तात्कालीन राजधानी राबदेञ्चीसमेत कब्जा गर्यो। सिक्किमको अधीनबाट फुत्केर यी क्षेत्रहरू सन् १८१४ को सुगौली सन्धिसम्म नेपालको अधीनमा रह्यो भने  उक्त सन्धिपछि नेपालले जितेको धेरै भूभाग सिक्किमलाई फर्काउनु पर्यो त्यस अवधिमा धेरै नेपाली जवानहरूले यहाँ आफ्नो घरद्वार बसाइसकेका थिए। त्यसैले  नेपाली नेपालबाट लुसुक्क भागेर सिक्किम पसेका होइनन् आफ्नो थातथलो सँगै वीरोत्वपूर्ण तरिकाले सिक्किममा पसे –बसेका हुन्। उनीहरू कसरी विदेशी हुनसक्छन्?

३. सिक्किमको नामकरण नै किरातवंशी लिम्बू भाषाको ‘सु’ ‘हीम’- बाट भएको हो। सिक्किमका दोस्रो राजा तेन्सुङ नामग्याल (१६४४-१७००)ले लिम्बू राजा योयाहाङकी छोरी थुङवामुकमालाई विवाह गरेको ऐतिहासिक तथ्यले सिक्किममा लिम्बूहरूको बसोवासगत प्राचीनतालाई प्रष्ट्याउँछ भने विदेशीको प्रसङ्ग कहाँबाट उठछ?

४. नामग्याल वङ्शको उदयपूर्व,  एघारौं शताब्दीदेखि नै सिक्किममा मगर राजाहरूले राजकाज गर्दै आएको कुरा ह्यामिल्टन जस्ता इतिहासकारहरूले उल्लेख गरेका छन् भने इतिहासकार एच.एस.रिस्लेले सिक्किममा खनिज पदार्थहरू निकाल्ने र सन् १६४२ -मा फुन्सो नामग्यालको राजतिलक समारोहमा सलामी दिने फौज मगर रहेको कुरा उल्लेख गरेका छन्। मगर राजा सन्तुपति सेन र उनकी रानीले नामग्याल शासनविरूद्ध लडेको वीरोत्वपूर्ण लडाई इतिहाससिद्ध छ। यसरी प्रागैतिहासिक कालदेखि नै सिक्किममा बसिआएका, नेपाली जातिको एउटा अभिन्न अङ्ग मगरहरूको इतिहास हेर्दा सिक्किमको आदिनिवासी को हुन् भन्ने प्रमाणित हुन्छ?

५. सन् १६४२–मा सम्पन्न भएको लो-मेन-चोङ सन्धिका हस्ताक्षरकर्ता  बाह्जना लिम्बूहरू भएको ऐतिहासिक तथ्यले नेपालीलाई सिक्किमको आदिनिवासी हुन् भन्ने प्रमाणित गर्छ कि विदेशी हुन् भन्ने प्रमाणित गर्छ?

६. सिक्किमका आठौ राजा सिद्योक नामग्यालले  (१८७९-१९१४) सिक्किममा मुद्रा चलन चल्तीका लागि लक्ष्मीदास प्रधान, चन्द्रवीर मास्के आदिलाई सन् १८४५ तिरै सिक्किम ल्याएको र उनीहरूले श्रीश्री सिक्किम सरकार नेपाली भाषाङ्कित ताँबे पैसा चल्तीमा ल्याएको पाइन्छ पछि जे. सी. ह्वाइट जस्ता बिट्रिस अफिसर, खाङसा देवान, छिबु आदेन र फोदोङ लामा जस्ता उदार काजीहरूको निमन्त्रण र आश्रयमा सिक्किम ल्याइएका नेपालीहरू कसरी विदेशी हुनसक्छन्?

७. सन् १८१६ मा ब्रिटिस इष्ट इण्डिया कम्पनी र तात्कालीन सिक्किम सरकारमाझ भएको तितलिया सन्धिको धारा २ मा गोर्खा अथवा नेपालीहरू सिक्किमका नागरिक भएकोले अब उसो सिक्किमपति महाराजले गोर्खाहरूसँग युद्ध गर्न पाउने छैनन् भन्ने उल्लेख गरिएको छ उनीहरू कसरी विदेशी भए?

८. सन् १८९१ मा सिक्किममा भएको पहिलो र आधिकारिक जनगणनामा नेपालीहरूको जनसङ्ख्या (भोटे लाप्चेइतर) कूल जनसङ्ख्याको ६५ प्रतिशत रहेको पाइन्छ। त्यसबेलाको जनगणनामा भारतीय मूलका व्यापारीहरूको कुनै उल्लेख पाइँदैन भने नेपालीहरू कसरी विदेशी हुनसक्छन्?

९. सिक्किम प्रजाजन अधिनियम (Sikkim Subject regulations 1961) अन्तर्गत सिक्किमका राजाले सिक्किममा रहि -बसी आएका आफ्ना नागरिकलाई  बिना भेदभाव नागरिक प्रमाणपत्र अथवा सब्जेक्ट प्रदान गरेका थिए भने तात्कालिन राजाले मानेका  बहुसङ्ख्यक नेपाली रैतीहरू कसरी विदेशी हुनसक्छन्?

१०. १६ मई सन् १९७५ मा सिक्किम भारतमा आधिकारिक रूपमा विलय हुनपूर्व १४ अप्रेल सन् १९७५ मा सम्पन्न भएको जनमत सङ्ग्रहको आधारमा सिक्किम भारतमा विलय भएको हो। उक्त जनमतको  लगभग सत्तरी प्रतिशत हिस्सा नेपालीहरूको थियो भने  उनीहरू कसरी विदेशी हुन सक्छन्? यदि उनीहरू विदेशी हुन भने भारतमा सिक्किमको विलयको वैधनिकतामाथि प्रश्न उठ्छ कि उठदैन?  तर उक्त जनमत सङ्ग्रहमा भाग लिने सिक्किमे व्यापारीहरूको आधिकारिक आँकडा कतै पाइँदैन। जनमत चाहिँ वैद्य तर नागरिक चाहिँ अवैद्य अथवा  विदेशी कसरी हुनसक्छ? विदेशीकै चश्माले हेर्ने हो भने त १६ मई सन् १९७५ अघि भारतको दृष्टिमा सिक्किम विदेश थियो भने सिक्किमको दृष्टिमा भारत विदेश थियो।

११. सिक्किममा आधुनिक कृषिखेती भित्राउन, विकास पूर्वाधार तयार पार्न यहाँको माटोलाई उर्बर र हराभरा बनाउन नेपालीहरूको  ठुलो योगदान छ। सिक्किममा उनीहरूको वसोबासोगत प्राचीनतालाई यहाँको नेपाली भाषाको प्रयोग परम्पराले पनि  दर्शाउँछ। आज पनि नेपाली भाषामा पाइने पर्चा, खजना रसिद, अदालती कागजात, तमसुक मिलापत्र वन्डापत्र जस्ता पुराना दस्तावेजले  नेपालीहरूको वसोवासोगत  प्राचीनतालाई प्रष्ट्याउँछ। सिक्किमकै विशेष पहल र योगदानबाट भारतीय संविधानको आठौं अनुसूचीमा नेपाली भाषाले मान्यता पाएको छ। यदि नेपालीहरू विदेशी हुन् भने विदेशी भाषालाई मान्यता दिनुको औचित्य के हो? नेपालीहरू नै नभएको ठाउँमा नेपाली भाषाको प्रयोग कसरी सम्भव छ? उपर्युक्त तथ्य र तर्कको आधारमा नेपालीहरू विदेशी हुन् भन्ने आरोप वा लाञ्छना स्वतः खारिज हुँदछ। उक्त आरोप फगत एउटा पूर्वाग्रह र षडयन्त्रको हिस्सा हो भन्ने प्रमाणित हुँदछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *