नेपाली साहित्य परिषद् सिक्किमद्वारा भाषा मान्यता दिवस पालन

IMG_20220820_230111.jpg

सानु लामा, रञ्जीत गजमेर र विक्रमवीर थापालाई कञ्चनजङ्घा राष्ट्रिय पुरस्कार

गान्तोक: आज राजधानीको मनन भवनमा नेपाली साहित्य परिषद्, सिक्किमले ३१औं नेपाली भाषा मान्यता समारोह २०२२’ भव्यरूपमा आयोजन गऱ्यो। कार्यक्रम राज्य शिक्षा मन्त्री कुङ्गा नीमा लेप्चाको अध्यक्षतामा सम्पन्न भएको थियो भने समारोहमा सिक्किमका राज्यपाल गंगा प्रसाद मुख्य अतिथि थिए।
नेपाली कालजयी गीतहरूको प्रस्तुतिबीच आयोजित ३१औं नेपाली भाषा मान्यता दिवसको मुख्य आकर्षण ‘कञ्चनजङ्घा राष्ट्रिय पुरस्कार २०२२’ अलङ्करण रहेको थियो। नेपाली साहित्य परिषद्, सिक्किमले लामो समयको अन्तरालपछि विभिन्न विधामा उल्लेखनीय योगदान दिने स्रष्टाहरूलाई अभिनन्दन जनाउने कार्यक्रम यस वर्षदेखि पुनः शुरू गरेको छ।
यस क्रममा कञ्चनजङ्घा राष्ट्रिय पुरस्कार, २०२२ साहित्य विधामा पद्मश्रीले सम्मानित वरिष्ठ साहित्यकार सानु लामा (गान्तोक) लाई अभिनन्दित गरियो। यसरी नै कञ्चनजङ्घा राष्ट्रिय पुरस्कार, २०२२ सङ्गीत विधामा प्रसिद्ध सङ्गीतकार रञ्जीत गजमेर (दार्जीलिङ- हाल मुम्बई) लाई अभिनन्दित गरियो। यसै गरी, कञ्चनजङ्घा राष्ट्रिय पुरस्कार, २०२२ कला विधामा वरिष्ठ चित्रकार विक्रमवीर थापा (शिलङ) लाई अभिनन्दित गरियो। अभिनन्दित व्यक्तित्वहरूलाई मुख्य अतिथि राज्यपालको बाहुलीद्वारा अंग-वस्त्र, प्रशस्ति पत्र र एक लाख रूपियॉं नगद अर्पण गरियो।
कार्यक्रममा सिक्किम विश्वविद्यालय अधीनस्थ नेपाली विषयमा २०२२ को स्नातकोत्तर (एम) तहको परीक्षामा सर्वोत्कृष्ट अङ्क प्रापक विद्यार्थी जोशना शर्मा र २०२१ को परीक्षामा सर्वोत्कृष्ट अङ्क प्रापक विद्यार्थी नरबहादुर छेत्रीलाई ‘प्रेमलाल स्मृति शैक्षिक पुरस्कार’ प्रदान गरियो।
मुख्य अतिथि राज्यपाल प्रसादले आफ्नो सम्बोधनमा ३१औं नेपाली भाषा मान्यता दिवसको अवसरमा देश तथा विदेशका नेपाली भाषीहरूमा बधाई एवं शुभकामना व्यक्त गरे। उनले आज अभिनन्दित व्यक्तित्वहरूलाई बधाई दिॅंदै उनीहरूको सुस्वास्थ्य एवं दीर्घायुको कामना गरे। उनले सन् १९९२ मा नेपाली भाषाको अस्तित्वलाई चिन्हित गर्दै भारतीय संविधानको आठौं अनुसूचिमा अन्तर्भुक्त गरेर मान्यता दिइएको बताए।

राज्यपालले भने, ‘मातृ भाषाको उन्नति बिना कुनै पनि समाजको तरक्की सम्भव छैन। भाषा कुनै पनि संस्कृतिको जीवनरेखा एवं मानव सभ्यताको उन्नतिको मूलाधार हो। भाषाले संस्कृतिलाई बलियो बनाउॅंछ भने संस्कृतिले समाजलाई बलियो बनाउॅंछ। मनुष्य सामाजिक प्राणी हुनुको सबैभन्दा ठूलो प्रमाण भाषा हो। भाषाको सहयोगद्वारा नै समाजको निर्माण हुन्छ र भाषा सम्प्रेषणको सशक्त माध्यम हुनुका साथै संस्कृतिको संवाहक पनि हुन्छ।’
कार्यक्रममा कालेबुङ निवासी प्रा. कुमार छेत्रीले ‘संवैधानिक मान्यतापछिको नेपाली भाषाको अवस्थिति’ माथि वार्ता प्रस्तुत गरेका थिए। नेपाली साहित्य परिषद्, सिक्किमका अध्यक्ष रूद्र पौड्यालले स्वागत सम्बोधन राखेको यस कार्यक्रममा स्थानीय कलाकारहरूले नेपाली कालजयी गीतहरू प्रस्तुत गरेर सबैलाई मन्त्रमुग्ध बनाए।
उल्लेखनीय छ, वर्तमान सिक्किम सरकारले यस वर्षदेखि २० अगस्त (नेपाली भाषा मान्यता दिवस) लाई सरकारी विदा घोषणा गरेको छ।

About Author

Advertisement