खरसाङ: गोर्खा सांस्कृतिक संस्थान, खरसाङले संस्थानकी संस्थापक सदस्या, पूर्व अध्यक्षा अनि संरक्षक दिवंगत शान्ति प्रधानलाई श्रद्धा सुमन व्यक्त गर्नार्थ एक शोकसभाको आयोजना गरेका थिए। शोकसभा संस्थानको निजीभवन गोर्खा सांस्कृतिक चिन्तन भवनमा संस्थानकी अध्यक्ष आशा मुखिया लामाको अध्यक्षतामा सम्पन्न भयो। शोकसभालाई मूल सचिव प्रणिता मुखिया घिसिङले सञ्चालन गरेकी थिइन्। उक्त शोक सभामा प्रथमत: स्व शान्ति प्रधानको तस्वीरमा फूल श्रद्धा अर्पण गरेर सम्पूर्ण सदस्यवृन्दले एक मिनटको मौन धारण पालन गरिएको थियो। शोक सभामा वरिष्ठ सदस्यगणले स्व शान्ति प्रधान गुरूमाबारे आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए। बिजया ब्लोन, संस्थानकी उपाध्यक्षले शान्ति गुरूमाको मार्गदर्शनमा धेरै वर्ष गोसांसका विभिन्न कार्यक्रमहरू गरेको अनि विषेश गोसांसको भवन निर्माणको निम्ति गुरूमासित दागोपाप अनि जीटीएका कार्यालय, लालकोठी, दार्जीलिङ जाँदा वहाँले सदैव साथ दिएका हुन्। यस्ता कार्यहरूमा अन्य सदस्यहरूले होटलमा दिवा भोजन ग्रहण गर्दा गुरूमा सात्विक भोजन मात्र ग्रहण गर्ने हुनाले केही नखाई बस्नु भएका तथ्यहरू स्मरण गर्दै सभामा राखेका थिए। प्रमिला प्रधानले स्काउट्स अनि गाइड्सका दिनहरू स्मरण गर्दै सन् १९७९ देखि शान्ति गुरूमासित स्काउट्स अनि गाइड्सका कार्यक्रमहरूमा नजिकको सम्बन्ध कायम भएको अनि शान्ति गुरूमाले नै स्काउट्स अनि गाइड्सलाई जगेर्ना गरेर खरसाङमा स्काउट्स अनि गाइड्सलाई पुनर्स्थापित गरेर उन्नत अवस्थामा पुरयाएका हुन्, भनिन्। सभामा मूल-सचिव प्रणिता मुखियाले खूबै भावविह्वल हुँदै स्वयं रामकृष्ण उमा कन्या पाठशालाकी छात्रा भएकीले आफ्नो जीवनमा शान्ति गुरूमाको आदर्श र उनले दिनु भएको शिक्षाले गहन असर पारेको छ भन्दै उनको निधनले आफु मर्माहत भएको वक्तव्य राख्दा राख्दै निःशब्द र अश्रुपूर्ण बनिन्। गोसांसका वरिष्ठ सदस्य, प्रमुख सल्लाहकार तिलक शर्माले आफ्नो खरसाङ आगमन भएपछि सन् १९७७ देखि ठूलो गुरूमासित परिचय भएपश्चात गोर्खा जन पुस्तकालयमा आगलागी भएर पुनः निर्माणको निम्ति सर्वप्रथम एकमुष्ट आर्थिक अनुदान प्रदान गर्दै शान्ति गुरूमा अग्रसर भएको संस्मरण साझा गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरे। सभामा वरिष्ठ सदस्य लक्ष्मण शर्माले शान्ति गुरूमालाई पूजाको निम्ति सयपत्री फूल प्राय नैं उनले पुर्याउने गरेको सम्झना गर्दै शान्ति गुरूमाको आध्यात्मिक पक्ष अति नै गहन रहेको कुरामा प्रकाश पार्नु हुँदैन श्रद्धासुमन अर्पण गरे।
सभामा वरिष्ठ सदस्य एसके छेत्रीले शान्ति गुरूमाको हाम्रो समाजप्रतिको लेखनबारे जति नै वर्णन गरेपनि कम हुन्छ भने।
ललिता सेर्पाले गुरूमाले शिक्षा कम भएता पनि हरेक व्यक्तिमा आ-आफ्नो केही न केही प्रतिभा हुन्छ त्यसको उजागर आफैले गर्नुपर्छ भन्ने गुरूमाको अमृत वचनको सम्झना गर्दै नमन टक्र्याए। अन्त्यमा सभाध्यक्ष आशा मुखिया लामाले शान्ति गुरूमाको देहावसानले पहाडमा शिक्षण क्षेत्रमा एउटा अध्याय समाप्त भएको छ भन्दै उनले शैक्षिक, साहित्यिक, सामाजिक, आध्यात्मिक क्षेत्रमा प्रदान गर्नु भएको योगदानको मूल्यांकन गर्नको निम्ति उनले शिक्षण क्षेत्रमा प्राप्त गर्नु भएका राष्ट्रिय पुरस्कार लगायत अन्य सम्पूर्ण पुरस्कारहरू साथै विभिन्न सम्मानहरू भावी पिंढ़ीको मार्गदर्शन र प्रेरणाको निम्ति कुनै आर्कआइभ अथवा ग्रन्थरक्षाणगारको स्थापना गर्नसके शान्ति गुरूमालाई साँचो श्रद्धाञ्जली हुने मन्तव्य जाहेर गरिन्। खरसाङका सम्पूर्ण संघ, संस्थाको तत्परतामा यस्तो हुन सके गोर्खा सांस्कृतिक संस्थान सदैव प्रतिवद्ध रहने मनाशय व्यक्त गरिन्। लामाले आफ्नो वक्तव्यमा गोर्खा सांस्कृतिक संस्थान, खरसाङको स्थापनाकालदेखि जाति, संस्कृति, भाषा, साहित्यबारे आफुलाई निरन्तर मार्गदर्शन र सुझावहरू दिइरहनुहुने शान्ति गुरूमालाई अन्तिम दिनमा भेट्न नपाएकीमा साह्रै दुःख लागेको व्यक्त गरिन्।

सभामा उपस्थित सम्पूर्ण महानुभावहरुबाट पुनः गुरूमाको आत्मा चिर शान्तिको प्रार्थना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सभाध्यक्षले धन्यवादको आदानप्रदान सहित सभा समापन गरियो।