[बुद्ध पूर्णिमा विशेष] बौद्ध धर्म दर्शन

00-1-Buddha

विश्व भूगोल दुई भागमा बाँडिएको छ- पूर्व र पश्चिम। ज्ञानबारे चिन्तन पनि यी दुई भूगोलको आ-आफ्नै छन्। पूर्वेली दर्शनलाई एसियाली दर्शनभन्दा पनि हुन्छ। यसभित्र चीन, जापान, कोरीया, भियतनाम, हिन्देसिया, फारस र अरब आदि गरी धेरै दर्शन पर्दछन्। मेक्समूलरले सेक्रेट बुक् अब् द इस्ट नाम दिएर पचास भागमा यी सबै देशका धर्मग्रन्थ सङ्ग्रहित गरिदिएका छन्। भारतेली दर्शनचाहिँ जम्मा नौवटा प्रमुख छन्। अध्येताहरूले यिनीहरूलाई दुई वर्गमा राखेर हेर्ने गरेका छन्– आस्तिक र नास्तिक। ईश्वर र वेदलाई प्रमाण मान्ने दर्शन आस्तिक, र ईश्वर र वेदलाई प्रमाण नमान्ने नास्तिक। नास्तिक भनेको न अस्ति हो अर्थात् ईश्वरको अस्तित्व नमान्ने। न्याय, वैशशिक, साङ्ख्य, वेदान्त, मीमांसा र योग आस्तिक दर्शनमा पर्दछन् किनभने यिनीहरूले वेदलाई प्रमाण मान्दछन्। यिनीहरूलाई षड्दर्शन भनिएको छ। जगत्‌लाई सृष्टि, सञ्चालन र नियन्त्रण गर्ने कुनै ईश्वरको अस्तित्व नमान्ने तथा वेदलाई प्रमाण नमान्ने तीनवटा दर्शन छन्– जैन, बौद्ध र चार्वाक्। यिनीहरूलाई नास्तिक वर्गमा राखिएको छ।

न अस्ति अर्थात् ईश्वर छैन भन्ने नास्तिक दर्शन पनि भारतमा उच्च कोटिका छन्। पश्चिममा एपिक्युरसको दर्शनजस्तै यता चार्वाक् दर्शन छ। ईश्वरसहित पूर्वजन्म र पुनर्जन्म पनि नमान्ने चार्वाक् दर्शनलाई लोकायत दर्शन पनि भनिँदछ। जैन र बौद्ध दर्शनले चाहिँ ईश्वरबारे कुरा नगरे पनि पूर्वजन्म र पुनर्जन्ममा विश्वास गर्दछन्। विश्वामित्र, अलारा, कलम, उद्दाका रामापुत्त आदि गुरुहरूबाट वेदोपनिषद्‌सहित प्राचीन भारतीय दर्शन, राजविद्या, युद्धविद्या, मल्लयुद्ध, घोड़दौड़, रथसञ्चालन, शस्त्रास्त्रविद्या सिकेका हुन्। यी कुनै विद्याले पनि बुद्धलाई तृप्ति दिएन। बुद्धले वेदलाई ज्ञानको भण्डार मानेका उदाहरण धेरै छन्, तर जीवन-जगत्‌सम्बन्धी कतिपय गम्भीर प्रश्नहरूको उत्तर वेदले पनि दिन नसकेको कुरा बुद्धले बोध गरे। अर्कोतिर वेदको भव्य ज्ञानलाई विकृत गरेर ब्राह्मणहरूले कर्मकाण्डमा परिणत गरिसकेका थिए। समाजमा बलिप्रथा व्यापक प्रचारमा थिए। पशुबलिबाहेक नरबलि पनि हुन्थे। ब्राह्मणहरूले ‘वैदिक हिंसा हिंसा न भवति’ भनेर वेदको नाममा हिंसा पनि गर्दथे। यसबारे बुद्धले स्वतन्त्र चिन्तन गरे– वेद यदि सत्य हुँदो हो त ब्राह्मणले विकृत गर्नसक्ने थिएनन्। वेदका व्याख्याताहरूमा पनि बुद्धले बाझाबाझ देखे। बुद्धले ब्राह्मणहरूलाई भने आफ्नो बुद्धिलाई प्रयोग नगरेर वेदलाई मात्र प्रमाण मान्नु मूर्खता हो। गङ्गाजल पवित्र छ भनेर पिउँदा अस्वस्थ पनि हुन सकिँदछ। वेदको आधारमा कसैले ईश्वरलाई निराकार माने भने कसैले साकार। कसैले भने ब्रह्मले संसार बनाए। कसैले भने ब्रह्मले मायाको सहायताले संसार बनाए। कतिले भने पुरुष र प्रकृतिको समागम सिर्जना हो। बुद्धले सोचे भगवान्‌ निराकार हुन्छ भने संसार कसरी बनाए। साकार हुन्छ भने खोइ ईश्वर? संसारमा पाप मात्र छ; बाख्रा, राँगा, मान्छेलाई बलि दिइँदैछन्। पुरोहितहरूले ठगिरहेछन्; नर्कको भय र स्वर्गको प्रलोभनमा मानिस धर्मान्ध भइरहेछन्। वर्णभेद, वर्गभेद बढ़िरहेछन्। यस्तो अवस्थामा  पापालाई दण्ड दिने क्षमता ईश्वरसित छैन। ईश्वर यदि छन् भने पनि दुर्बल छन्। पाप र पापीलाई ट्वाल्ल परेर हेर्न मात्र सक्दछन्। पाप र पापीलाई दण्ड दिन नसक्ने ईश्वरले पाप र पापीलाई पोषण गर्दछन्। बुद्धले छःवटा प्रश्नका उत्तर वेदमा पाएनन्। कति प्रश्नका उत्तर नै हुँदैनन्। ईश्वरको विषयमा अल्मलिरहनुभन्दा मानव कल्याणमा लाग्नु उचित ठाने। बुद्धको मानवतावाद यही हो। मानवबारे सोचेमा ईश्वर सोचिबस्नु पर्ने आवश्यकता नै छैन भनीकन बुद्धले आफ्नो दर्शनबाट ईश्वरलाई निकालिदिए। त्यसपछि बुद्धले मान्छेको कर्म प्रधान हो, ईश्वर प्रधान होइन भन्ने कुरालाई व्यापक प्रचार गरे।

बुद्धको भनाइमा मान्छेको भाग्य कर्मले निर्धारण गर्दछ। सुपारी रोपेर चामल फल्दैन। बैगुन रोपेर ईश्वरलाई गाली गरेमा कोपी बनिँदैन। कोपी रोपेर पूजा गर्दैमा कोपी साग हुँदैन। यसकारण बुद्धको दर्शन कार्य-कारणको कठोर सम्बन्धको दर्शन हो। यसकारण ईश्वरभन्दा कर्म ठूलो हो। ईश्वरले मानवको दिशा निर्णय गर्ने होइन, तर कर्मले नै स्वर्ग र नर्क निर्णय गर्दछ। कुकर्म गरेर भगवद्‌भक्ति गर्दैमा ईश्वरले स्वर्ग पठाइदिने होइन। ईश्वरले कर्म परिवर्तन गर्न सक्दैन भने ईश्वर किन चाहियो? यसकारण ईश्वरको आवश्यकता छैन। बौद्ध दर्शन पराभौतिक (मेटाफिजिकल) दर्शन होइन, तर नैतिकतामा आधारित लौकिक दर्शन हो। यति कुरा बुझ्नु पश्चिमलाई धेरै वर्ष लाग्यो। इसाब्द ५ सयदेखि १५ सयसम्म रहेको युरोपेली अन्धकार युगमा चर्चविरुद्ध कसैले चुइँ बोल्ने आँट गरेनन्। १९औँ शताब्दीमा नित्सेले आँटै गरेर भने– तिमीहरूको भगवान् मारिदिएँ अब राष्ट्रको उन्नति कसले गर्छ? निस्तेभन्दा केही वर्ष अघि हेगलले राज्य भन्नु नै पृथ्वीमा ईश्वर हिँडेको ठाउँ हो भनेका थिए। नित्सेबाट आँट पाएर कार्ल माक्सले ढुक्कै भने– मान्छेलाई मताइराख्ने धर्म एउटा अफिम हो।

ईश्वर र परलोकलाई वियोग गरेर बुद्धको दर्शनले चाहेको दुःखको आत्यन्तिक निवृत्ति हो। दुःखदेखि मुक्ति पाउनु बुद्धले चार आर्यसत्य फेला पारेर दिएका छन्। यसलाई पालि भाषामा चत्तरि अरियसच्चानि र संस्कृतमा चत्वारि आर्य सत्यानि भनिँदछ। यी हुन् – १. दुःख – संसारमा दुःख छ। २. समुदय – दुःखका कारण छन्। ३. निरोध- दुःखको निवारण छ। ४. मार्ग – निवारणका लागि अष्टाङ्गिक मार्ग छन्। १. बुद्धले सर्वं दुःखम् भनेको त्यसै होइन। रमाइलो गर्नेसित पनि दुःख हुँदछन्। अरुको दुःख बुझ्ने प्रयास गर्नुपर्दछ। कसैसित ईर्ष्या गर्नु हुँदैन। उन्नति गर्ने, रमाइलो गर्नेहरूलाई आह्रिस गरेर लाभ छैन। उनीहरूमा पनि दुःख छ। ईर्ष्याले आफैलाई पिरोल्दछ। तीनवटा दुःख संसारभरि हुँदछ– जन्म, जरा र मरण। शरीर व्याधिहरूको घर हो। २. दुःखका कारण छन् र त मानिस दुःखी हुन्छन्। कारणबिना कार्य हुँदैन। सुखकर्ता र दुःखहर्ता ईश्वर भए दुःख नहुनु पर्ने। दुःख हरिदिने भनेर ईश्वरलाई सर्काउँदैमा ईश्वर फुरुक्क भएर दुःख त निमिट्यान्नै हुनुपर्ने। यसबारे बालकृष्ण सम पनि बोलेका छन्– दुःखीको घरमा तेरो बास हुन्छ भने हे ईश्वर मलाई अझै दुःख दे। बुद्धको भनाइमा यस्तो दुःख दिने र दुःखमा रमाउने ईश्वर किन चाहियो? बुद्ध आफै दुःखका कारणहरू खोज्दै जाँदा बाह्रवटा कारण फेला पारे र अन्त्यमा मूल कारण अविद्या हो भने। यसलाई प्रतीत्यसमुत्पाद भनिँदछ। सम्पूर्ण बौद्ध दर्शन यी बाह्रवटा लहरे कारणमा नै अड़िएको छ। यसलाई द्वादश निदान भनिन्छ जहाँ छःवटा इन्द्रिय र छःवटा विज्ञान हुन्छन्। दुःखका कारण जानेपछि के गर्नु त भन्नेबारे बुद्धले चार विहार बनाए।  विहार भनेको बानी हो– क) मुदित – उन्नति गर्नेसित ईर्ष्या नगरेर मुदित अर्थात् हर्षित भईकन उन्नतिका युक्ति जान। ख) मैत्री – समानमा समानताको मैत्री गर। सहकर्मीसित मैत्री राखेर सुःख-दुःख साझा गर दुःख हरण हुँदछ। ग) करुणा – सानालाई सहयोग गर। घृणा नगर। घृणाले आफैलाई नाश गर्दछ। तलकालाई उठ्न लगाएर आफू झुकीकन तानेर उठाइदेऊ। करुणा हुने मान्छे कहिल्यै दुःखी हुँदैन। घ) उपेक्षा– दुष्टसित जोगिनू तर नभिड़िनू। दुष्टसित शत्रुता नराख्नू तर मित्रता पनि नराख्नू। बरु जोगिनू। सके पर पर हुनू। चार विहार यिनै हुन्।

३. दुःख निरोध– जीवनमा निराशा आउन नदिनू। दुःखमा निरास नहुनू। निराशा दुःखको कारण हो। दुःख निवारण हुनसक्दछ। यसलाई अष्टाङ्गिक मार्ग भनिन्छ- १. सम्यक् दृष्टि– सत्य चिन्नू। उदाहरणका लागि धन सदा रहन्छ कि कीर्ति। वेदलाई विवेकले हेर्नु। वेदभन्दा विवेक मुख्य भनी जान्नू। अति सुख र अति दुःखलाई बिचबाट हेर्नसक्नु। अतिवादी नहुनु। बुद्धको मध्यममार्गको प्रतीक स्वयम्भूको गजुरमा देखिने अर्ध निमिलित नेत्र हो। त्यहाँ दुइ आँखा न पूरा खोलिएको छ न पूरा बन्द भएको छ। जीवन र जगत्‌लाई पूर्वाग्रबिना तटस्थ भएर शून्यबिन्दुमा रही दृष्टिपात गर्ने क्षमताको विकास गर्नु। २. सम्यक् सङ्कल्प – मानसिक र नैतिक विकासका लागि प्रतिज्ञा गर्नु। ३. सम्यक् वाक् – झुठो नबोल्नू र वचनले कसैको मन नदुखाउनु। ४. सम्यक् कर्म – सत्कर्म गर्नु दुश्कर्म नगर्नु। शील, सूचि, स्नेह पालन गर्नु (नहेरुजीले पठि यसैलाई पञ्चशील बनाए)। ५. सम्यक् आजीविका – धर्ममय भएर अर्थ कमाउनु। हानिकारक व्यापार नगर्नु। शुद्ध विधिले कमाउनु। अचेल पनि अशुद्ध विधिले कमाएको धन डाक्टरले लान्छ कि डाकुले लान्छ। ६. सम्यक् व्यायाम – आफू सुध्रिने प्रयत्न गर्नु। ७. सम्यक् स्मृति– स्पष्ट ज्ञान देख्नसक्ने योग्यताका लागि प्रयास र अभ्यास गर्नु। ८. सम्यक् समाधि – दुःख भए पनि दुःखको चेतना नभए दुःखी हुँदैन। यसलाई बुद्धले दुःख निरोध पतिपदगामिनी भनेका छन्। विपश्यना अभ्यासीहरूले यसैलाई प्राथमिकता दिँदछन्। यसो गरे निर्वाण प्राप्त हुँदछ।

धम्म भाषा पालिमा भगवान् शब्दको अर्थ ईश्वर होइन, तर तृष्णालाई भङ्ग गर्ने व्यक्ति हो। बुद्ध धर्मको सबैभन्दा मुख्य विशेषता यसको वैज्ञानिक दृष्टिकोण हो। परलोकवाद, ईश्वरवाद र आत्माको सत्तामा यसले विश्वास गर्दैन। विश्वमा फैलिएका अनगन्ति धर्महरूमा बुद्ध धर्मको छुट्टै छवि हुनुको कारण बुद्धको वैज्ञानिक दृष्टिकोण हो। पालि भाषाको भगवान् अथवा भगवतं दुइवटा शब्दले बनिएको छ– भग र वान्। भग भनेको भङ्ग गर्नु वा भत्काउनु। वान् भनेको धारणाकर्ता वा तृष्णा। तृष्णालाई भङ्ग गर्ने भगवान् – ‘भग्ग रागोति भगव’ (राग भग्न गर्ने भगवान्), भग्ग दोसोति भगव (द्वेष भग्न गर्ने भगवान्), भग्ग मोहोति भगव (मोहलाई भङ्ग गर्ने भगवान्), भग्ग मानोति भगव (अभिमान नष्ट गर्ने भगवान्), भग्ग कालेसोति भगव (क्लेश भग्न गर्ने भगवान्), भवानं अन्त करोति भगव (भव संस्कारलाई अन्त गर्ने भगवान्)। त्यस्ता कारिका धेरै छन्।

बुद्धले परमतत्त्वको शाश्वततामाथि ब्राह्मणहरूले पर्दा हालिदिएको विरोध गरे। उपनिषद्‌मा भएको ‘पूर्णमेवावशिष्यते’ कारिकाको अर्थ जति मेवा छन् सबै पुरोहितलाई दिनू जस्ता अनर्थ भाष्यको विरोध गरे।  मन्त्रले एउटा कुरा भन्ने तर व्याख्याताले अर्कै अर्थ लगाइदिने गर्दथे। हे देवी मन अशान्त छ शान्त गर भनिएको ‘ॐ शन्नोदेवीरभिष्टय आपो भवन्तु पीतये शन्योरभिस्त्रवन्तु नः’-लाई शनिदेवको मन्त्र भन्दथेl यस्तो पाखण्डी विचारलाई बुद्धले विरोध गरे। बुद्धले भने अव्याकृत, पराभौतिक प्रश्नहरूको उत्तर खोज्ने प्रक्रम कहिल्यै अन्त्य हुँदैन। विश्वोत्पत्तिबारे कसैले प्रकृतिले, कसैले मायाले, कसैले ब्रह्मले, कसैले भूततत्त्वले भन्दै बाझाबाझ गर्नुभन्दा अव्याकृत पछि नलाग्नु उचित हो। त्यसबेलाको समाजमा वेदविचार जनतासम्म आइपुग्दा धेरै धमिलिएका हुन्थे। यसलाई सँगाल्ने काम बुद्धले गरे। संस्कृत भाषा एकमुठ्ठी ब्राह्मणहरूको अधीनमा रहेको बुझेर उनले जनभाषामा धर्म प्रचार गरे। मगधका जनताले त्यसबेला मागधी बोल्दथे। त्यसैलाई धम्म भाषा पालि भनियो। आफ्ना उपदेशमा सामाजिक कुरीति, वर्णभेद निर्मूल पारिदिए। ब्राह्मणहरूले नकारेको लोकभाषामा धर्मग्रन्थ रचना गरिदिए। पुरोहितहरूको सिंहासन हल्लियो। जनताले बुद्धलाई ग्रहण गरे। बुद्धले भने– बहुजन हिताय बहुजन सुखाय। बुद्धका आलोचकहरूले भने- किन सर्वजन भनेनन्? बुद्धको विचारमा मानिसहरू विभिन्न रुचिका हुन्छन्। सबैजना एकैचोटि सुखी भए भने दुःखको महत्त्व हुँदैन। बुद्धले एकठाउँ भनेका छन्– स्वर्गमा सुख छैन किनभने त्यहाँ दुःख छैन। बुद्धले सदैव आलोचनालाई पनि स्वागत गर्दथे। आलोचना नभए आत्मालोचना पनि हुँदैन। आत्मालोचना नभए आत्मविकास हुँदैन। बुद्ध धर्ममा भएका दौर्बल्य थाहा पाउन र सुधारको मार्ग खोज्न उनले सङ्घको स्थापना गरेका थिए। बुद्धकै पालामा अहिलेको बिहार र पूर्वी उत्तर प्रदेशसम्म मात्र छाएको स्थानीय धर्म थियो। पछि सम्राट् अशोक र कालान्तरमा अरु राजाहरूको राजाश्रय पाएपछि विस्तारै यो धर्म एसिया महादेशकै धर्म बन्यो। अब त संसारै शान्तिको खोजमा बुद्धधर्मको तृष्णा राख्दछन्। वैज्ञानिक अल्बर्ट आइन्सटाइन र विद्वान् बर्ट्रेन्ड रसेलले त्यसै भनेका होइनन्- बौद्ध धर्मको वैज्ञानिकता बुझेर यदि धर्म मान्नु परे बौद्ध हुनेछु। 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement