म्यान्मार लैजाने मानव तस्करको जालो (भाग ३)

00-1-Human-Trafficking-Rep-Photo-2

विद्रोहीबाटै उद्धार! 

फिरौती तिरेर पनि उन्मुक्ति नपाएपछि निरभको परिवारले गुजरात राज्यका विधानसभा सदस्य (एमएलए) भगवानभाई (बीबी) बराडलाई उद्धारका लागि याचना गरेको थियो। बराडले विद्रोही समूह ‘युनाइटेड वा स्टेट आर्मी’का प्रमुखसँग सम्बन्ध भएका सिंगापुरस्थित भारतीय मूलका व्यापारी अल्का बेनसँग सहयोग मागे। उनै बेनले विद्रोही सेना प्रमुखसँग कुराकानी गरेपछि मानव तस्कर र अवैध क्रिप्टोकरेन्सी ठगीलाई सघाउँदै आएको विद्रोही सेनाको एउटा टुकडीले २ फरवरीमा निरभ र योगराजसहित आठ जनाको उद्धार गरेको थियो।

पछिल्ला दिनहरूमा ‘स्क्याम’का लागि यूरोपेली नागरिकलाई टार्गेट गर्नुपर्ने भएकाले योगराज सहितको टोली रातभर काममा खटिन्थे। रातभर काम गरेर दिउँसो सुतिरहेका बेला विद्रोही सेनाको टुकडीले उनीहरूको उद्धार गरेको थियो। चिनियाँ नागरिकको अनधिकृत कामलाई आडभरोसा दिएको भए पनि विद्रोही सेनाप्रमुखकै आदेश भएकाले त्यो टुकडीले उद्धार गरेको योगराज र निरभ दुवैको बुझाइ छ। योगराज भन्छन्, “निरभ, शेषनाथ लगायतलाई कुटपिट समेत गरेको थाहा पाएपछि त्यो उद्धार टोलीका नाइकेले चिनियाँ नागरिक (झाउ) लाई पनि पिट्दै हत्कडी लगाएरै हामीसँगै आफ्नो शिविरसम्म ल्याएको थियो।”

विद्रोहीहरूको शिविरमा तीन दिन राखेर सबैको ‘बयान’ लिइसकेपछि ‘स्क्याम’ कम्पनीमा बन्धक बनाइएका आठ जनालाई विद्रोही सेनाले संघीय राज्यको नियन्त्रणमा रहेको सान स्टेट अन्तर्गतको केङतुङ पठाएको थियो। उद्धार भएर केङतुङ आइसकेपछि योगराजसहितको टोलीलाई स्थानीय होम हेइन होटलमा त्यहाँको अध्यागमनले १३ दिन राख्यो। उनीहरूसँगको बयान सकिएपछि त्यहाँस्थित भारतीय दूतावास र इन्डोनेशियाली दूतावासका अधिकारीहरू केङतुङमै पुगेर उनीहरूलाई जिम्मा लिएका थिए। नेपाली अधिकारीहरू नपुगेका कारण योगराजलाई म्यान्मारी अध्यागमन पुलिसले भारतीय अधिकारीहरूकै रोहवरमा रंगुन पठायो।

केङतुङमा आइसकेपछि क्रिप्टो ठगहरूले दिने दुःखको अर्को कथा पनि उनीहरूले थाहा पाए। योगराजहरूलाई राखिएको वाङ म्याङ्टम नजिकैको माइपोङबाट आठ दिन आठ रात हिंडेर केङतुङ पुगेकी एक मलेशियाली युवतीले त्यो दुःख उजागर गरेकी थिइन्। ती युवतीले उनका एक साथीले क्रिप्टोकरेन्सी ठगी गरेर १२ लाख डलर सञ्चालकको खातामा जम्मा गरे पनि तलब नपाएपछि उनी भागेर आएको योगराजलाई बताएकी थिइन्। “हामीमध्ये मलेशियाबाट गएका एक जनाले १२ लाख डलर जम्मा गरे पनि तलब दिएनन्” ती युवतीलाई उद्धृत गर्दै योगराजले भने, “सञ्चालकले ताली बजाएर ‘वेल डन’ भने तर तलब दिएनन्।” खोज पत्रकारिता केन्द्रको सम्पर्कमा आएकी ती मलेशियाली युवतीले योगराज मार्फत थाहा भएको कुरा सही भएको बताए पनि सुरक्षाका कारण थप केही भन्न चाहिनन्।

रंगुनमा पुगेपछि भारतीय दूतावासका अधिकारीहरूले नेपाली राजदूतावासका द्वितीय सचिव गंगा सुन्दास र गैरआवासीय नेपाली संघ (एनआरएनए), म्यान्मारका अध्यक्ष देवेन्द्र नौलखालाई विमानस्थलमै योगराजलाई जिम्मा लगाएका थिए। नेपाली राजदूतावास र एनआरएनएको समन्वयमा रंगुनस्थित केसी होटलमा बसेका योगराज १९ फरवरीमा कोलकाता हुँदै २१ फरवरीमा काठमाडौं आइपुगे।

मलेशियादेखि म्यान्मारसम्मठगीबाहेक केही पाइएन

म २९ वर्षको भएँ। इलाम नगरपालिका–८ लालखोलामा जन्मिएको हुँ। राहदानी यही ठेगानामा बनेको छ। तर हाम्रो घर शिवसतासी–१० सरदारे, माइधार झापामा छ। पछिल्लो पटक २०२१ फेब्रुअरीमा गाउँकै एकजना आफन्तका माध्यमबाट भिजिट भिसामा दुबई पुगें। त्यहाँ ‘सेफलाइन’ भन्ने इलेक्ट्रोनिक गुड्सको ट्रेडिङ कम्पनीको वेयर हाउसमा हेल्परको काम गर्ने भन्ने थियो। तर सोचे जस्तो काम नभएपछि, शारजहाँको अल खानस्थित लौ लोआ नामको बिच रिसोर्टमा मासिक ८५० दिराममा ६ महिना काम गरें। त्यसपछि कफी शपमा काम गरिरहेको थिएँ।

त्यही बेला ‘जब भ्याकेन्सी’ हेर्दै आवेदन गरिरहेको पनि थिएँ। त्यसैबेला रुचनसँग सम्पर्क भयो र, ‘अनलाइन कस्टमर सेल्स सर्भिस’मा काम गर्ने भनेर म्यान्मार पुगें। दुबई जानुअघि म सन् २०१८ मा बिर्तामोडस्थित पायोनियर ओभरसिजका वीरेन्द्र थापा मार्फत कतार गएको थिएँ। जाँदा तालेब मोटर्समा सेल्सम्यानको काम गर्ने, खाने–बस्ने सुविधा, तलब १२०० र ओभरटाइम ३०० कतारी रियाल दिने भनिएको थियो। तर, खानाको पैसा आफैंले दिनुपर्ने र मासिक ९०० कतारी रियाल मात्रै दिएपछि तीन महिनामै फर्कें। फर्केर आएपछि वैदेशिक रोजगार विभागमा उजुरी गरें। पछि अख्तियारमा पनि उजुरी गरेपछि विभागले कारबाही अघि बढाएको त भन्यो तर अहिलेसम्म पनि मेरो लगानीको रु.१ लाख २० हजार फिर्ता पाएको छैन। सन् २०१२ मा वैदेशिक रोजगारको सिलसिलामा पहिलो पटक १९ वर्षको उमेरमै मलेशिया गएको हुँ। त्यहाँ इपोह राज्यको पेराक भन्ने स्थानमा वेटर र बारटेण्डरको काम ठिकै थियो। तीन वर्ष बसेर आएँ।

सन् २०१५ मा फर्केर आएपछि त्रिपुरेश्वरमा काठमाडौं विश्वविद्यालयले बनाउँदै गरेको भवन निर्माणमा खटिएका कामदारका लागि खोलिएको क्यान्टिनमा ६ महिना जति काम गरें। पछि नयाँ बसपार्कस्थित होटल लाइको नेपालमा एक वर्ष काम गरें। तर खासै प्रगति नभएपछि झापा नै फर्किएँ। झापामा कोरियाली भाषा सिक्दै सिकर्मीको काम गरेर बसें। पछि भाइको साथी, काठमाडौंका सहदेव वैद्यको सल्लाहमा सन् २०१७ मा भारतको बनारसमा कपडा फ्याक्ट्रीमा काम गर्न गएँ। तर, त्यहाँ त ‘मल्टिलेभल मार्केटिङ’को काम गर्नुपर्ने भयो। जसमा आफैंले पनि रु.३ लाख लगानी गर्नुपर्ने भनियो। राम्रै होला भनेर लगानी पनि गरें। तर, त्यो पनि ठगी रहेछ। काठमाडौं आएर सहदेवविरुद्ध सीआईबीमा उजुरी गरें, सन् २०१८ को शुरूमा। तर कारबाही केही भएन।

वैदेशिक रोजगारको सिलसिलामा मलेशियादेखि म्यान्मारसम्म चहार्दा ठगी मात्र व्यहोरेको छु। तर पनि मेरो अबको गन्तव्य विदेश नै हो। यहाँ बसेर केही होला भन्ने लाग्दैन। भाइ विदेशमै छ, आमा पनि कुवेतमा हुनुहुन्छ। म यता बसेर के गर्ने? कोरियाली भाषा सिकिसकेको छु, अब त्यतैको ट्राई गर्ने विचार गरेको छु।

(यो लेख खोज पत्रकारिता केन्द्रको सहयोगमा तयार पारिएको हो- लेखक।)

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement