खरसाङ: संयुक्त फिल्ड निरीक्षण वन विभाग बामपोखरी रेञ्ज, खरसाङ वन डिभिजन, डब्लुबीएसईडीसीएल, पावर विभाग, दुधे पुलिसले संयुक्त रूपमा लङभ्यू टीई, सिमुलबारी, पाटनफुलबारी, पैनाकुमारी, सिप्टिगड़ी, मेरियनबारी क्षेत्रको बिजुलीको तार झुलिएको, अवैध हुकिङ तथा यससँग सम्बन्धित विभिन्न प्रकारका कार्यहरूको जाँच गरे। विशेष गरी बिजुलीका तारहरू कतिपय ठाउँहरूमा झोलिएको कारणले त्यहाँ विगतका दिनहरूमा दुर्घटना समेत भएको घटनालाई ध्यानमा राखेर तथा अवैध रूपमा बिजुली हुकिङ गर्दा पनि मानिसहरू दुर्घटनामा पर्ने हुनाले यसलाई साम्य पार्न औ मानिसहरूलाई यस प्रकारका खतराबाट जोगाउन सम्बन्धित विभागसँग मिलेर वन विभाग लगायत पुलिसकर्मी अनि चियाबगानले यसरी क्षेत्रमा जनचेतना जगाएको बामन पोखरी रेन्जका रेन्जर सिद्धार्थ गुरूङले जनाएका छन्। उनले बताए अनुसार बिजुलीको तारहरू यसरी झोलिएको कारणले मानिसहरू मात्र होइन तर वन्य जन्तुहरू पनि मरेको हुनाले तिनीहरूको सुरक्षा हेतु पनि मानिसहरूलाई यदि कतै यस्ता तारहरू भुइँमा लत्रिएको अथवा झोलिएको देखे तुरन्तै सम्बन्धित विभाग अथवा वन विभाग अनि पुलिस प्रशासनलाई खबर गरिदिने आग्रह गर्दै माइकिङ गरियो। बुधवार सम्पन्न यस जनचेतना कार्यक्रममा विशेषगरी बामन पोखरी रेन्जका रेन्जर सिद्धार्थ गुरूङ, गाड़ीधुरा थाना ओसी प्रितम लामा, जीटीए पावर विभागका स्टेशन म्यानेजर अभिषेक रोय, खरसाङ विद्युत विभागका अभियान्ता तथा स्टेशन म्यानेजर सौरभ बारता सरकार उपस्थित थिए।