म उभिएको धरतीमा शिबु छेत्री (भाग २)

00-89fcdde0-6f55-442b-9f12-cdca5d05e651-1

(घ) कवि

शिबु छेत्रीलाई कविका रूपमा पनि हेर्न सकिन्छ। यद्यपि यिनको कविता सङ्ग्रह प्रकाशित छैन तर म उभिएको धरती निबन्धभित्र दुइवटा कविता लेखिएका छन्। चन्द्रमान हाँसेको दिन र बाल्यकाल र सङ्घर्ष शीर्षक निबन्धमा लेखिएका दुइवटा कविताले यिनमा प्रशस्त कवि भावना छ भनेर बुझ्न सकिन्छ। यिनी लेख्छन्-

      हिँडदाहिँड्दै दिन बितेर गयो

      रातपछि फेरि बिहान हुने नै हो

      त्यसो हो भने मन किन उदास

      हुनसक्छ बीचमै बाटो बिराउने हो कि?

      सपना सजाउँदा सजाउवदै रात बितिसकेछ

      एक दिन मध्यरातपछि रात सकेने छ

      खुशिको ज्वारभाटाले सबै भासिने छौं

      सपना सजाउँदा सजाउँदै रात बितिसकेछ।(बाल्यकाल र सङ्घर्ष,पृ०१०३)

      बुझ्दैन, कसैले बुझ्दैन मनको व्यथा

      अन्धकारमा अन्तःस्करणमा बस्ने

      वेदना यदि आफ्नै रहने भए

      रातो रातोजवाकुसुम फुलले पनि बुझेन

      विधवाको रित्तो सउँदो

      बुझ्दैन बुझ्दैन मनको गहिराई

      म त तिमीलाई दोष दिन्नँ,

      मजस्तै हुनुपर्छ त्यसो होइन!

      बुझेर पनि नबुझेको

      चिनेर पनि नचिनेक(बुझ्दैन, कसैले बुझ्दैन(पृ०११४)

यिनको एउटा कागजको नाउ शीर्षकको कविता हिमालय दर्पणमा १२ सेप्टेम्बर २०१५ को अङ्कमा प्रकाशित भएको छ। यी कविताको भाव हेर्दा यिनमा प्रशस्त कवि भावना छ भन्ने बुझ्न सकिन्छ। यिनका कतिपय कविताहरू डायरीभित्र थन्किएर पनि बसेका होलान्। भविष्यमा ती अवश्य पाठकसमक्ष पुग्ने छन् र यिनको कवि व्यक्तित्व खुलेर आउने छ। कविताको विकसित रूप निबन्ध हो। निबन्ध र कवितामा मनको भाव खुलेर प्रकट हुने गर्छ। केही प्रकाशित कविताका आधारमा यिनको कवि व्यक्तित्व उन्नतशील छ र भविष्यमा त्यो झ्याङ्गिएर जाने छ भन्ने आशा गर्न सकिन्छ।

५. विभिन्न कोंणबाट म उभिएको धरतीको विश्लेषण

(क) संरचना

आवरण पृष्ठमा सेतो र खैरो जिल्दले आभूषित, छेउमा टोपी र लामो कोट लगाएको, कोटका पाकेटमा हात हालेको गलामा गलबन्दी बाँधेको,टाउकोमा टोपी लगाएको,टाउको झुकाएर तल हेरिरहेको मान्छे,  माथि तीन लहरमा नीलो रङ्गलेम उभिएको धरती लेखेको र पुछारमा रातो रङ्गले शिबु छेत्री लेखेको, पछिल्लो पृष्ठमा पत्रकार टेकबहादुर घतानी, मणिकुमार राई र दिनेश लालवानी(जो कोरोना कालमा दिवङ्गत)का तीनवटा फोटोले सजिएको यो निबन्ध सङ्ग्रह मझौला आकारको छ। यो पुस्तक कठिन समयमा मार्गदर्शन र परामर्शद्वारा बाटो देखाइदिने मामा रामप्रसाद पौड्याललाई समर्पण गरिएको छ। यस सङ्ग्रहका पैंतीस पृष्ठ कृष्णसिंह मोक्तान र विन्द्या देवी सुब्बाका गहकिला भूमिका सजिएका छन् भने पृष्ठ चौंतीस, पैंतीसमा शिबु छेत्रीले सहयोगीप्रति आभार प्रकट गरेका छन्। पृष्ठ सङ्ख्या नदिएको पृष्ठमा विषय सूचिलाई अनुक्रमणिका भनेर लेखिएको छ। एक सय बयानब्बे पृष्ठमा फैलिएको यस सङ्ग्रहमा- सेफाली, मृत्युर भय ना की?, आमा,सुबास र बिमल, बुबा, बाल्यकाल र सङ्घर्ष, चन्द्रमान हाँसेको दिन, रातकी रानी, पत्रकारिता एक अवसर, मैं जी भर जिया,मैं मन से मरूः अटल,सपनालाई मर्न नदिने ओम पुरी, गोलरोटी र भाइटीका, कानु सन्याल, गोर्खाहरूको समस्याप्रति चिन्तित सौमेन दा र गाईसाल गरेर विभिन्न शीर्षकका चौधवटा निबन्ध सङ्ग्रहित छन्। यस सङ्ग्रहको पहिलो निबन्ध नौ पृष्ठ, दोस्रो एघार पृष्ठ, तेस्रो बाह्र पृष्ठ, चौथो सोह्र पृष्ठ, पाँचौं दश पृष्ठ, छैटौं दश पृष्ठ, सातौं आठ पृष्ठ, आठौं सोह्र पृष्ठ, नवौं आठ पृष्ठ, दशौं पाँचपृष्ठ, एघारौं आठ पृष्ठ, बाह्रौंबाह्र पृष्ठ, तेह्रौं नौं पृष्ठ र चौधौं निबन्ध दश पृष्ठमा फैलिएका छन्। सपनालाई मर्न नदिने ओमपुरीयस सङ्ग्रहको सबै भन्दा सानो पाँच पृष्ठको निबन्ध हो भने पत्रकारिता एक अवसर सोह्र पृष्ठमा फैलिएको सबै भन्दा ठूलो निबन्ध हो।

(ख) विषयवस्तु

म उभिएको धरतीमा शिबु छेत्रीका व्यक्तिगत जीवनसित सम्बन्धित घटना, समाजका विविध पक्ष, संस्कृति, शिक्षा-दीक्षा, राजनीति, नेपाली भाषा आदि विभिन्न विषयसित सम्बन्धित निबन्धहरू सङ्कलित छन्। बाहिरबाट झ्वाट्ट हेर्दा जीवनमा घटेका जटिल विषयजस्तो लागे तापनि ती विषय सरल भाषामा सललल बगेका छन्।बाल्यकालदेखि आफूले भोगेका, अध्ययनकालमा बिताएका, पत्रकारिता गर्दा बटुलेका अनुभवलाई बोलचालको भाषामा सरसर्ती वर्णन गरेका छन्।बङ्गाली समाजको परिवेशमा हुर्केकाशिबुमा त्यस समाजको रहन, सहन, भाषा-संस्कृति, शिक्षाले निकै प्रभाव पारेको छ। बाङ्ला भाषाबाट यिनी यति प्रभावित बनेका थिए कि पछि पत्रकार बनेपछि त्यही भाषामा पत्रकारिता गर्न थाल्छन्। के कारणले हो कुन्नी पछि बाङ्ला भाषा छोडेर नेपाली पत्रकारितामा लाग्छन् यसको उल्लेख कुनै पनि निबन्धमा प्रकट गरेका छैनन्, गोप्य राखेका छन्।विषयवस्तु, सहभागिता, परिवेश,उद्देश्य र दृष्टिविन्दु, भाषाशैलीय विन्यास आदि विभिन्न कोणबाट यस निबन्धको विश्लेषण गरिएको छ-

 ‘सेफाली’ यस सङग्रहको पहिलो निबन्ध हो। यस निबन्धमा बङ्गाली युवती सेफाली र लेखकबीच रहेको आत्मीयता झल्किएको छ।सेफालीका माध्यमबाट निबन्धकारले बङ्गाली समाजका सङ्गीत, कला, भोजन, पूजा, देशभक्ति, धर्म, धर्मगुरुप्रति आस्था आदि विविध वस्तु यसमा प्रस्तुत गरिएको छ। यस निबन्धमा निबन्धकारले करूणाको भाव पनि  झल्काएका छन्। बङ्गाली समाजमा कसरी आफ्ना जातिका महान् पुरुषलाई सम्मान प्रकट गरेका हुन्छन् भन्ने विषयले यिनलाई सानै उमेरमा प्रभावित गरेको कुरा बताएका छन्। सेफालीका घरका भित्तामा टाँसिएका ती महान् व्यक्तिहरूले कति गहिरो प्रभाव पारेका छन् र नेपाली जातिमा पनि त्यस्तै व्यक्ति हुनुपर्ने कल्पना गरेका छन्। ती महान् पुरुषहरूको छाप यिनको परवर्ति जीवनमा परेको देखिन्छ। पत्रकार भएपछि वर्तमान युगका महान व्यक्ति, कलाकार,खेलाडीआदिलाई भेट्ने सौभाग्य पाएका छन्। बङ्गाली जातिमा भए जस्ता महान गुण हाम्रो जातिमा हुने कल्पनायिनले गरेका छन्। हुनत हाम्रा जातले पनि परिश्रम गरेर संसारभरि नाम कमाएका छन् तर किन आफ्नो जातिमात्यसको सुगन्ध फैलन सकेन भन्दै यिनी नलेख्छन्-“ उसको जातिलाई सम्झिएँ। कति विचारवान छन् तिनीहरू। एउटा विचारलाई समातेर हिंडेपछि लक्ष्यमा नपुगेसम्म  त्यस विचारलाई नछोड्ने। मेरो जाति भने विचारलाई गर्भमैं मार्ने। ….. एक दिन सेफाली तिम्रो जातिसरह हामी पनि संसारै ढाक्ने बनेर सुवास छर्ने छौं”।(पृ०५०)

 ‘मृत्युर भय ना की’? यस सङ्ग्रहको दोस्रो निबन्ध हो। बङ्गाली भाषामा शीर्षक  राखिएको यो निबन्धमा भाव र भाषाबीच गहिरो सम्बन्ध रहेको छ। शीर्षकबाटै शिबुमा बङ्गाली भाषाप्रति गहन प्रेम र सहानुभूति रहेछ भन्ने बुझ्न सकिन्छ। ‘अल्पश्च कालो बहुविघ्नता च’ भन्ने उक्तिलाई यस निबन्धले स्पष्ट पारेको छ। जीवन  र जगतलाई नजिकबाट बुझेका र रवीन्द्र ठाकुरले ६४ वर्षको उमेरमा जीवनको अर्थ बुझ्न माटोको काम सिकेर आफू बस्न माटाको श्यामली कुटी बनाउँछन् र त्यहीं बस्ने निर्णय गर्छन्।उनी मृत्युशैयामा परेको अघिल्लो दिन विश्व भारतीय कला विभागका आचार्य क्षितिन्द्र मोहन सेन त्यहाँ पुग्छन्। उनलाई देखेर रवीन्द्रका आँखाबाट आँशु झर्न थाल्छन्। त्यो देखेर क्षितिन्द्र मोहनले उनलाई –“ गुरुदेव मृत्युर भय ना की?” भनेर प्रश्न गर्छन्। जगतलाई छेउबाटहेरेका रवीन्द्रले- “ मृत्युको डर होइन तर जीवनजगतबारे एक चिम्टी सत्यता पनि जान्न सकिन यसैले दुःखी बनेर  आँशु बगेको छ” भन्ने गहन भावबाट आरम्भ गरिएको यस निबन्धमा निबन्धकारले आफू कागजको बल खेल्दै स्कूलगएको, सन् १९६२ कोभारत-चीन युद्ध, सन् १९७१ को भारत-पाक युद्धको उल्लेख गरेका छन्।बाङ्लादेशबन्दा बङ्गाली पुनः विस्थापित भएर सिलिगुढी पसेको, नेपालीहरूले जमीन बेचेको, सुस्मिताको परिवारबीच सम्बन्ध बढेको, दार्जिलिङ्ममा चालीस दिने आन्दोलन भएको, आफूले कलेज पढेको, सानैदेखि पत्रकार बन्ने इच्छा राखेको, पत्रकारको काम गर्न थालेपछि आजभोलि समाचारमाथि प्रतिबन्ध लागेको र सुस्मिता र उसकी आमाको रेल दुर्घटनामा परेर मृत्यु भएको आदि घटनाको उल्लेख गरेर निबन्ध समाप्त भएको छ।

सङ्ग्रहको तेस्रो निबन्ध ‘आमा,सुबास र विमल’ शीर्षकभित्र शिबुले आफ्नो बाल्यकालको वर्णनदेखि लिएर दार्जीलिङमा सुवास घिसिङ्ले छुट्टै राज्यको मागको आन्दोलन चरमसीमामा पुराएको र त्यसबाट गोर्खालीहरूले पाएको प्राप्ति र अप्राप्ति आदि विषयलाई गहिराइका साथ उकेरेका छन् भने घिसिङको साम्राज्य समाप्त भएको र बिमलको उदय भएको आदि विषय निष्पक्षताकासाथ प्रस्तुत गरेका छन्। शिबुभित्र आफ्नी आमाको व्यक्तित्वको छाप स्पष्ट भएको विषय पनि यसमा आएको छ। आमाले सम्झाएका कुरा यसरी लेख्छन् – “नानीहरू हो जब तिमीहरू ठूला हुन्छौ आफूभित्रको मान्छेलाई कहिल्यैमर्न नदिनु नत्र मान्छे भएर जन्मिएको कुनै अर्थ हुँदैन”।(पृ०६५)

भाव र भावनाकोराम्रो सम्मीश्रण ‘बुबा’ निबन्धमा देखिएको छ। आफ्ना बुबालाई अत्यन्त प्रेम गर्ने शिबुले बाबाको इच्छा विपरीत पत्रकारिता रोजेको तथ्यपूर्ण घटनालाई यसमा सहज पाराले वर्णन गरेका  छन्। नेपाली पत्रकारिताले जीवन धान्न गाह्रो हुने कुरा उनका बाबुले घरिघरि दोहोर्याउँदै व्यवशायपरिवर्तन गर्न अनुरोध गर्छन् र छोरो कामबाट घर नफर्कँदासम्म बाटो हेरिरहने शिक्षित र गम्भीर बुबाको व्यक्तित्वबाट शिबु निकै प्रभावित छन्।  बुबाले आफूलाई निकै माया गर्ने तर आफूले भने उचित समय दिन नसक्ने बाध्यताले उनी निकै दुःखी छन्। यस्तै भाव र भावनाले यो निबन्ध निकै मार्मिक बनेको छ।

 ‘बाल्यकाल र सङ्घर्ष’ निबन्धमा शिबुले बाल्यकालको राम्रो चित्रण गरेका छन्। बाल्यकाल जीवनकोसबैभन्दा रमाइलोर आनन्दको समय हो। चारजना दाजु-भाइ र दुई जना दिदीमध्ये आफू पाचौं नम्बरमा परेका शिबुले आफ्नो ठूलो दाइबाट ठगिएको घटनालगायत अन्य पलको रोचक संस्मरण यसमा उकरेका छन् भने सङ्घर्ष गर्दै उच्च शिक्षा आर्जन गरेको, पत्रकारितामा लागेको, पत्रकारितामा लागेपछि दक्षिण भारत भ्रमण गरेको, सत्य साइबाबाप्रति आकर्षित भएको आदि विषयको वर्णनले पाठकलाई यस निबन्धले आनन्द दिन्छ।

वेदना भरिएको जीवन तर आँखाबाट आँसु नाआउने क्षण कहीं थियो भने त्यो चन्द्रमानको थियो। जीवनमा खित्का छोडेर हाँसेको चन्द्रमानको जीवनमा औंसीको रातलेझ्याप्प छोप्छ। स्वीच प्याट्ट पार्दा बत्ती निभेझैं चन्द्रमानको हाँसोमा विराम लाग्छ। चन्द्रमानको पेशापत्रकारिता थियो। शिबुको पनि पत्रकारिता तर एकाएक मस्तिष्कघात भएर वाक्शक्ति गुमाउन परेपछिचन्द्रमानको जीवन निराशाले भरिन्छ। उनको अवस्था देखेर आफू अवाक बनेका शिबुलेआफ्नो कथा सङ्ग्रह नयाँ जुत्ता बेचबिखनबाट उठेको पैसा चन्द्रमानकोअनुहारमा हाँसो ल्याउन सहयोग गर्दा यो निबन्धले भावनाको उचाइ प्राप्त गरेको छ। निबन्धकार सच्चा, निष्ठावान, दयालु र सहयोगी बनेर उदार चरित्रको भाव प्रकट गरेकाले निबन्ध सार्थक लेखनको उच्चतामा पुगेको छ।

 ‘रातकी रानी’ यस सङ्ग्रहको सातौं निबन्ध हो। यो निबन्ध दुइवटी बङ्गाली युवती चम्पा र सम्पाको प्रताडित र शोषित जीवनसित जोडिएको छ। शिबुको कार्यालयमा अकस्मात दुई युवती पुलिसबाट जोगिन भाग्दै त्यहाँ पुग्छन्। ती दुई युवती जीवन धान्नका लागि यौनकर्मी बनेका रहेछन् तर एक दिन पुलिसको छापा परेपछिभागेर ज्यान जोगाउन आजभोलि दैनिक पत्रिकाको अफिसमा पुग्छन्। शिबुले तिनीहरूको समस्या बुझेपछि भोजनको प्रबन्धका साथै आर्थिक सहयोग गर्छन्।उनले दिएको आर्थिक सहयोगबाट ती युवतीले थुँगा  बनाउने काम गरेर आत्मनिर्भर बन्छन्। उनीहरूको जीवनमा आएको परिवर्तन देखेरशिबुले आत्मसन्तुष्टिको अनुभूतिगर्छन्। चोखो मनले गरेको सहयोग खेर जाँदैन भन्ने चोखो मानवीय गुण यस निबन्धमा झल्किएको छ। यसै निबन्धमा किडनी रोगलेथला परेको अभिषेक तामाङलाई पनि दर्पपण दर्शिकाको पहिलो पृष्ठमाफोटोसहित समस्याको स्टोरी प्रकाशित गरेर मानिसको सहयोगले उक्त बालकको उपचारपछि निको भएर घर फर्कन्छ। यी दुईघटना बाहेक शिबुले  अभियाननै चलाएर सहयोग गरेको उल्लेख निबन्धमा गरिएको छ। उनी लेख्छन्-“ आर्थिक रूपले विपन्न बालक बालिका लगायत ठूलाहरूको उपचारका लागिहामीले सहयोगको अपिल लगायत रोगीकै ब्यङ्क खातामा पैसा पस्ने व्यवस्था गरेका थियौं। यस्ता अनगिन्ति कार्य गर्यौं कतिले नयाँ जीवन पाए”।(पृ०१२१)

 ‘पत्रकारिता एक अवसर’ यस सङ्ग्रहको गहकिलो र महत्वपूर्ण निबन्ध हो। पन्ध्र पृष्ठमा फैलिएको यो निबन्धमा शिबु छेत्रीले पत्रकार हुनुको सार्थकता स्पष्ट पारेका छन्। यिनले यस निबन्धमा पत्रकार हुँदा गरेका महत्वपूर्ण कार्यहरूको विस्तृतरूपमा वर्णन गरेका छन्। पत्रकार बनेर मेधा पाटकर, सुष्मिता सेन, ज्याकलिन फर्नाण्डेज, मिथुन चक्रवर्ती, गोविन्दा, परवीन बबी, जीनत अमान जस्ता कलाकार र दलाइ लामा, ए०पी०जे०अब्दुल कलाम, महाश्वेता देवी,सुनील गङ्गोपाध्याय, कपिलदेव आदि महान व्यक्तिहरूलाई भेटेर अन्तर्वार्ता लिंदा आफूले पत्रकारिता गरेर यसप्रति न्याय गरेको सुन्दर अवसर र अनुभवका क्षणलाई सार्थक मानेका छन्। त्यसैले यिनले पत्रकारितालाई इमानदारीर प्रतिबद्धता मानेका छन्। यिनी लेख्छन्‍-“इच्छाशक्ति हुनुपर्छ पत्रकार बन्नका लागि। पत्रकारिता पेशा होइन जिम्मेवारीहो। पत्रकारिता साधना, तपस्या हो”।(पृ०१२४)

बाँच्नुको सार्थकता थियो भने भारतका प्रधानमन्त्री स्व०अटल बिहारी बाजपेयीमा थियो। उनी बाँच्न जाने रत अमर बने। ‘मैं जी भर जिया, मैं मन से मरूः अटल’ यस सङ्ग्रहको गहकिलो र महत्वपूर्ण निबन्ध हो। ओजस्वीपूर्ण प्रधानमन्त्रीअटल बिहारी बाजपेयीलाई दिल्लीको विज्ञानभवनमाघेट्नु र उनले दिएको भाषण सुन्नु शिबुले आफ्नो जीवनको ऐतिहासिक क्षण मानेका छन्।एकातिर हाम्रो जातिको दुर्वलता र अधोगति देख्दा दुःख प्रकट गरेका छन् भने अर्कोतिर अटलजीको जीवनबाट आफूले बाँच्ने उर्जा प्राप्त गरेका बताएका छन्। यिनी लेख्छन्-“एक समय दार्जीलिङजिल्लाको सीमाना पूर्णियादेखि माल मटेलीसम्म फैलिएको थियो। त्यही सीमाना अहिले खुम्चिएरसुकनासम्म आइपुगेको छ। हामीले अर्थ बुझ्नसकेनौं। हामी बाटो हिंड्ने मात्र भयौं। सिलगढीको बाटो हाम्रो थियो। अहिलेसिलगढीको बाटोबाट  हाम्रो नामोनिशान हराएर गयो”।(पृ०१४१)

 ‘सपनालाई मर्न नदिने ओम पुरी’ कठिन र सङ्घर्ष गरेर अरुका निम्ति प्रेरणादायी बन्ने ओमपुरीको जीवनसँग जोडिएको छ। ओमपुरी सङ्घर्षका प्रतिमूर्ति थिए। बाल्यकालबाट दुःख र गरिबीमा हुर्केकाउनी धेरैका प्रेरेणाका श्रोत थिए। ओमपुरी हिन्दी फिल्म जगतका महान कलाकार थिए। शिबुले ओम पुरीलाई भेटेर साक्षात्कारगर्न पाउँदा आफ्नो पत्रकार जीवन सफलभएको मानेका छन्। ओमपुरी सङ्घर्षशील र सकारात्मक विचारका धनी थिए। थोरै परिश्रम गरेर धेरै नाम कमाउन चाहनेहरूका लागि ओमपुरीको जीवन आदर्श हुनसक्छ। अलिकति दुःख र अफ्ठ्यारो पर्दा हाइहुइ गरेर पसीना पुछ्ने कहिल्यै पनि सफल बन्न सक्दैन। आफ्नो जीवनको अनुभव बताउँदै ओमपुरीले भनेका विचारलाई शिबुले निकै महत्व दिएका छन्। ओमपुरीले अहिलेका युवालाईभनेका थिए-“एकपल्टको जीन्दगीमा आफूलाई मनपर्ने काम गर्नुपर्छ। सफलता-असफलता एउटै सिक्काका दुइ पाटा हुन्। असफलता पाउँदा निराश र हताश हुनुहुँदैन। चाहिए अनुसार हामीले परिश्रमगर्न नसक्दा नै असफल हुन्छौं। निराश र हताश नबनेर परिश्रम गरे सफल पाउनेदेखि कसैले पनि रोक्न सक्दैन”।(पृ०१५१)

 ‘गोलरोटी र भाइटीका’ शिबुको अतीतका सम्झनाले भरिएको आत्मपरक निबन्ध हो। यसनिबन्धमा यिनले आफ्नो बाल्यकालको सम्झना गरेका छन्। यो निबन्धले नेपाली र बङ्गाली परिवारबीच भएको आन्तरिक सम्बन्धलाई अघि बढाएको छ। यसमा शिबुसानो हुँदा गीता दिदीसित बिताएका बाल्यकालका दिन र उनले गरेको आत्महत्याको दुखदघटनाले मनमा पारेको दुःखलाई भावपूर्ण ढङ्ग्ले वर्णन गरेका छन्।

 ‘कानु सन्याल’ सङ्ग्रहमा समाहित अत्यन्त मार्मिक र भावुक निबन्ध हो। कानु सन्याल बङ्गाली जातका भए तापनि गोर्खाजाति र गोर्खाल्याण्डका कट्टर समर्थक थिए।  उनी नक्सलवादी नेता थिए तर बङ्गालको राजनीति सम्झेका र गोर्खालीहरूको मुटु बुझेका अध्ययनशील, सरल र दार्शनिक मान्छे थिए। शिबु सन्यालको व्यक्तित्वबाट निकै प्रभावित र उनलाई नजिकबाट चिन्थे। सन्याल र शिबुबीच निकै मायाप्रेम थियो। उनले गोर्खासम्बन्धि लेखहरू लेखेर प्रकाशित गर्थे। कानु सन्याल बङ्गालको विरोधमा बोलेर गोर्खा राज्य हुनुपर्छ भन्ने सत्यनिष्ठाराख्ने प्रखर व्यक्तित्वभएका व्यक्ति थिए।कानु सन्याल जस्ता नक्सल नेताले आत्महत्या गरेको सुन्दा शिबु छक्क पर्छन्, उनलाई विश्वास नै हुँदैन तर सत्य, सत्य हो छेकेर छेकिन्न।

कानु जस्तै सौमेन नाग पनिगोर्खाहरूको छुटै प्रदेश हुनुपर्छ भन्ने समर्थक थिए। सौमेनसँग शिबुको गहिरो सम्बन्ध थियो। गोर्खाहरूप्रति सधैं चिन्तित रहने सौमेन नाग शोमनलाई सम्झिएको निबन्ध हो ‘गोर्खाहरूको समस्याप्रति चिन्तित सौमेन दा’। सौमेन नाग गोर्खाहरूको प्रदेश हुनुपर्छ भन्ने निर्भीक व्यक्ति थिए। सौमेन नाग विद्वान, राजनीतिज्ञ, इतिहासकार, अध्ययनशील, ओजस्वी वक्ता थिए। यिनी समय-समयमा दार्जीलिङमा हुने सबैखाले सङ्गोष्ठी आदिमा समावेश हुन्थे साथै यिनका विभिन्न लेख तथा निबन्धहरू पनि विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित हुन्थे।

सत्य विषयमा आधारित निबन्धहरूमध्ये ‘गाईसाल’ प्रमुख हो। यो सत्य घटनामा आधारित छ। यो घटना १ अगस्तसन् १९९८ मा असमको गाईसाल भन्ने ठाउँमा घटेको हो। अवधअसम र ब्रह्मपुत्रमेल मध्यरातमा एउटै पटरीमा आएर भिडन्त हुँदा अनेक यात्रुहरू त्यसको चपेटमा आउँछन्। त्यो घटनाको खबर सुनेर शिबु र भारत दर्पण पत्रिकाका पत्रकार राजेश सिंहसँगै त्यस घटनास्थलमा पुग्छन्। त्यो घटना मन-मुटुलाई मर्माहत पार्नेखालको थियो। शिबुले त्यस घटनालाई मर्मभेदी घटनाका रूपमा लिएका छन् ।  उनलाई त्यस घटनाले मुटुभित्र गहिरो प्रभाव पार्छ। घटनास्थल पुगेर कष्ट गरेर बनाएको रिपोर्ट पत्रिकाले छाप्दैन। त्यस घटनापछि मन विचलित भएर उनी निकै दिन अफिस पनि जाँदैनन्। पत्रकारको पेशाप्रति उनलाई दिक्क लागेर आउँछ। पत्रकारितामा देखिएको तानाशही प्रवृत्तिको पोल उसले यसमा खोलेका छन्। उनी लेख्छन्-“ सृजनात्मक कार्य गर्न नसक्नेहरू एउटा समूह बनाएर प्रतिभाशाली पत्रकारलाई किनाराकृत गर्न विभिन्न प्रकारका कार्य गर्छन्। यहाँसम्म पनि देखिन्छ कि आन्तरिक दबाउले केही नहुने देखेपछि बाह्य दबाउ बढाउने गर्छन्। यस कार्यमा नेतादेखि सामाजिक सङ्घ-संस्थाका उच्च पदमा आसीन व्यक्तिहरूको प्रयोग गरिन्छ”।(पृ०१८८)

निबन्धकार गाईसाल निबन्धकाका माध्यमबाट निर्भीक र साहसी बनेका छन्। पत्रकारितामा देखिएको विकृतिलाई खुलेरै विरोध गरेका छन्। यिनले मनमा उब्जेका भावलाई स्पष्टरूपले प्रकट गरेका छन्। पत्रकारिताको तीस वर्षे अनुभवलाई गाईसालका माध्यमबाट पाठकका अघि राखिदिएका छन्। यिनले-“…पद, चौकी, पदवी मात्र महत्वका उपलब्धि होइन। जति नै ठूलो पदमा पुगे तापनि एउटा निश्चित समयमा पदमुक्त बन्नुपर्छ। यसैले पदबाट ठूलो नबनेर असल मानिस बन्नु सबैभन्दा ठूलो उपलब्धि रहेछ भन्दै जीवनको पाठशालाबाट सिकें”। भन्दै यिनले निबन्ध सङ्ग्रहको पृष्ठ बन्द गरेका छन् र निबन्ध समाप्त भएको छ। -क्रमश:

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement