सिलगढी: गोर्खाल्याण्ड राज्य निर्माण राष्ट्रिय समितिले अलग राज्य गोर्खाल्याण्ड बारे प्रेस विज्ञप्ति जारी गरेको छl अलग राज्य गोर्खाल्याण्ड स्थापनाको लागि प्रस्तावना प्रस्तुत गरेको छl विज्ञप्तिमा यसरी उल्लेख गरिएको छ, ‘भारतका समग्र गोर्खाहरुको राष्ट्रिय चिन्हारीको निम्ति गोर्खा राज्यको गठनलाई यस मुद्दाको एउटा हलको रूपमा प्रस्तावित गरिएको हो। कारण भारतमा गोर्खाहरूको आफ्नो राज्य हुनुको अर्थ नै हुन्छ राष्ट्रिय प्रशासनमा गोर्खाको भागीदारी अर्थात् भारतमा गोर्खाको राष्ट्रिय चिहनारी समाधानको लागि पहलको निष्कर्ष हो। बाबु स्व. डम्बरसिंग गुरूङले अखिल भारतीय गोर्खा लीगको स्थापना गर्नुको एकमात्र कारण भारतमा आफ्नो अलग्गै इतिहास लिएर बाँचिरहेका तीस लाख गोर्खाहरूको राजनैतिक भविष्यलाई सुरक्षित पार्नु नै थियो। त्यस समयका सचेत गोर्खा नेतृत्वको प्रयासले गोर्खाहरूले चुनावमा मतदान गर्ने अधिकार त प्राप्त गर्नसके, तर स्पष्ट रूपमा भारतमा गोर्खा जातिको राष्टिय पहिचानको सवाल भने हल हुनसकेन। भन्नलाई गोर्खा जातिको स्वाभिमानको प्रश्न भनेपनि, अस्तित्वको सवाल भने पनि, परिचयको समस्या भनेपनि, चिहनारीको मुद्दा भने पनि गोर्खाल्याण्ड राज्यको स्थापना नै यस मुद्दाको स्थायी सामाधान होl’ विज्ञप्तिमा अझ भनिएको छ, ‘सङ्घीय भारतको राष्ट्रिय प्रशासनमा गोर्खा जातिको भागीदारी भनेको जुन भागीदारीले गोर्खा जातिलाई समग्रतामा सङ्घीय भारतमा राजनैतिक स्वीकृति अनि सुरक्षा पनि प्रदान गर्नेछ। अनि भारत जस्तो बहुसांस्कृतिक सङ्घीय राष्ट्रमा गोर्खा जस्तो अल्पसङ्ख्यक जातिले राष्ट्रिय स्तरमा राजनैतिक प्रतिनिधित्व र प्रशासनमा भागीदारी पाउनलाई एउटै उपाय छ भारतमा गोर्खाहरूको अलग राज्य गठन। तर यो समस्याको हलको निम्ति पहल कहाँबाट शुरू गर्ने हो? गाउँ-गाउँ आफ्नै मान्छेहरूको ढोका ढोकाबाट गर्ने हो कि समस्याको समाधान मिल्ने स्थानबाट गर्ने हो? कसरी गर्ने हो? क्षेत्रीय स्तरको राजनैतिक कार्यक्रमहरूबाट गर्ने हो कि राष्ट्रिय स्तरको बौद्धिक अभियानबाट गर्ने हो? अनि कसले गर्ने हो? यही मुद्दालाई लिएर चुनावमा भिड्ने राजनैतिक दलले गर्ने हो कि ऐतिहासिक तथ्याङ्क, संवैधानिक प्रावधान अनि राष्ट्रिय राजनैतिक धाराको आधारमा बौद्धिक जमातले गर्ने हो? गणतान्त्रिक सङ्घीय भारतमा गोर्खा जातिको चिन्हारीको प्रश्न हल गर्ने दिशातर्फ गरिएका सबै पहलहरू आजसम्म टुँगोमा नपुगेका अथवा असफल बनेका कारणहरू केलाउँदै जाँदा यो मागलाई अघि सार्ने अनि निर्णय दिने दुवै पक्षका सोचमा यस विषयवस्तुको अवधारणाको अस्पष्टता अनि दुवै पक्षका मनमा व्याप्त एकार्काप्रतिको शङ्का, भ्रम र भान्तिलाई नै दोष्याउन सकिन्छ। आफ्नो आकाङ्क्षा पूर्ण हुन नसक्दा अधीर भएर देशले पक्षपात गरेको अथवा गलत व्यवहार गरेको दोष लगाउनुभन्दा समस्याको तहमा गएर भूलभान्तिको तँवालो हटाएर नै समाधानको मार्ग निस्कनेछ। त्यसैले यो समस्याको हल निकाल्नलाई सही पहल गर्नु हो भने निम्न दुईवटा महत्वपूर्ण कुराहरूलाई ध्यानमा राखैर अघि बढ्नुपर्नेछ: क) गोर्खाको राष्ट्रिय चिहनारीको रुपष्ट अवधारणा अनि, ख) गोर्खा जाति र भारत देशको केन्द्रीय सरकार बीचको भ्रमरहित सम्बन्ध!’