दुर्गापुर: पश्चिम बङ्गालका विपक्षी नेता शुभेन्दु अधिकारीले शुक्रबार दुर्गापुरमा भगवान हनुमानको ३० फिट अग्लो भव्य मूर्ति अनावरण गरेका छन्। अनावरण समारोहमा उनले विधिवत् पूजा–अर्चनासमेत गरे।
धार्मिक अनुष्ठान तथा सम्मान कार्यक्रममा सन्त समाजका सदस्य, जनस्वास्थ्य प्रतिनिधि, सामाजिक अभियन्ता तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहेको थियो।
उक्त मूर्ति दुर्गापुर सिटी सेन्टरको डीएमसी मोडस्थित चोकमा स्थापना गरिएको हो। यसअघि सो स्थानमा ‘विश्व बङ्ला’ को लोगो राखिएको थियो। दुर्गा पूजाका बेला खुदीराम मैदानमा इछापुर समितिले आयोजना गरेको पूजा मण्डपको मुख्य आकर्षणका रूपमा यो मूर्ति राखिएको थियो। दुर्गापुर पश्चिमका विधायक लक्ष्मण चन्द्र घोरुईको पहलमा पूजाको चौथो वर्ष अयोध्याको राम मन्दिरको झल्को दिने भव्य मण्डप निर्माण गरिएको थियो। त्यहीँ राखिएको विशाल हनुमानको मूर्तिलाई पछि डीएमसी मोडमा स्थायी रूपमा प्रतिस्थापन गर्ने पहल गरिएको हो।
कार्यक्रममा शुभेन्दु अधिकारीले आयोजकको निमन्त्रणा स्वीकार गरी दुर्गापुर आएर आफूले दिएको वचन पूरा गरेको आयोजक पक्षले जनाएको छ। सो अवसरमा विधायक घोरुईको भूमिकाको सराहना गरिनुका साथै इछापुरका तर्फबाट अधिकारीलाई उत्तरीय ओढाएर सम्मान गरिएको थियो। आयोजकहरूले उनलाई रसगुल्लाको टोकरी उपहार दिँदै मिठाई खुवाएर स्वागत गरेका थिए।
कार्यक्रममा सन्त समाजका प्रतिनिधि, ज्योतिर्मय सिंह मन्तो, आशिष पाललगायत स्थानीय जनप्रतिनिधि र कार्यकर्ताको सहभागिता थियो। मूर्ति तथा पूजा मण्डपको परिकल्पना र निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका ‘अनिमा डेकोरेटर्स’ का क्याप्टेन मृणाल बसु (स्थानीय स्तरमा मनु दा भनेर चिनिने) लाई पनि सम्मान गरिएको थियो।
’जय श्री राम’ र ‘बजरङ्गबली महाराज’ का नारासहित सम्पन्न कार्यक्रममा आयोजकले अधिकारी, विधायक घोरुई र उपस्थित सबैप्रति आभार व्यक्त गरेका छन्।





