कोलकाता: भारतको अग्रणी सार्वजनिक क्षेत्रको बैंक ‘बैंक अफ बडौदा’ ले कोलकातामा आफ्नो वित्तीय सेवा सञ्जाल विस्तार गर्दै न्यु टाउनस्थित खाकी एस्टेटमा अत्याधुनिक विद्युतीय कक्ष र आलिया विश्वविद्यालय परिसरमा स्वचालित गणक यन्त्र सञ्चालनमा ल्याएको छ।
खाकी एस्टेटस्थित विद्युतीय कक्षको बैंककी कार्यकारी निर्देशक बीना वाहिदले उद्घाटन गरिन्। यस्तै, आलिया विश्वविद्यालयमा स्थापित स्वचालित गणक यन्त्रको विश्वविद्यालयका उपकुलपति प्राध्यापक रफिकुल इस्लामले शुभारम्भ गरे। दुबै कार्यक्रममा बैंकका महाप्रबन्धक तथा कोलकाता अञ्चल प्रमुख केआर कगाडल र उपमहाप्रबन्धक तपन सिन्हा लगायत वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो।
न्यु टाउनमा सञ्चालित विद्युतीय कक्षबाट सेवाग्राहीले चौबिसै घण्टा स्वसेवा डिजिटल माध्यमबाट नियमित बैंकिङ कारोबार गर्न सक्नेछन्। यस्तै, विश्वविद्यालय परिसरको यन्त्रले विद्यार्थी, प्राध्यापक तथा कर्मचारीलाई नगद झिक्न र अन्य वित्तीय सेवा लिन सहज बनाउने बैंकले जनाएको छ।
यी नयाँ सुविधा थपिएसँगै पश्चिम बङ्गाल राज्यमा बैंक अफ बडौदाको सञ्जाल १७ वटा विद्युतीय कक्ष, ४१० स्वचालित गणक यन्त्र र २६५ शाखामा विस्तार भएको छ। प्रविधि र सेवा सञ्जाल विस्तारमार्फत आम नागरिकसम्म सहज वित्तीय पहुँच पुर्याउन बैंक प्रतिबद्ध रहेको कार्यकारी निर्देशक वाहिदले बताइन्।





