​​​रुससँग युद्धको खतरा?

IMG_c257093e-8ad9-4d67-a0c0-83dd97e974f7

ब्रिटेनले शीतयुद्धपछि पहिलो पटक १ लाख रिजर्भ सैनिकलाई बोलायो, तयारी तीव्र

​लन्डन: रुस र युक्रेनबीचको युद्ध भयानक बन्दै जाँदा युरोपमा तनाव निरन्तर बढिरहेको छ। यहीबीच ब्रिटेनको रक्षा मन्त्रालयले १ लाख रिजर्भ सैनिकहरूलाई युद्धका लागि तयार रहन भनेको छ। ब्रिटेन
सरकारले नौसेनाको घातक पनडुब्बी (सबमरिन) स्तरोन्नति गर्न ८ अर्ब पाउन्डको ठुलो धनराशि खर्च गर्ने घोषणासमेत गरेको छ। यसबाट पनडुब्बीको उपलब्धता र तयारी बढ्नुका साथै ब्रिटेनको प्रतिरोधात्मक क्षमता र राष्ट्रिय सुरक्षा मजबुत हुने जनाइएको छ। शीतयुद्ध समाप्त भएपछि ब्रिटेनले रिजर्भ सैनिकहरूलाई युद्धका लागि बोलाएको यो पहिलो पटक हो।
​ब्रिटेनले यस कदममार्फत रुसलाई कडा सन्देश दिन खोजेको ठानिएको छ। बेलायती सञ्चारमाध्यमका अनुसार १ लाख रणनीतिक रिजर्भ सैनिकहरूलाई रक्षा मन्त्रालयबाट पत्र पठाइएको छ, जसमा तालिम र अभ्यासमा सहभागी हुन प्रस्ताव गरिएको छ। सेना, वायुसेना र नौसेना गरी तीनवटै अङ्गका प्रमुखहरूको हस्ताक्षर रहेको उक्त पत्रमार्फत रिजर्भ सैनिकहरूको मोबाइल नम्बर, हालको पेसा र सीपसम्बन्धी विवरण मागिएको छ।
​नाटोलाई मजबुत बनाउने ब्रिटेनको योजना
​ब्रिटिश सरकारले पनडुब्बीको स्तरोन्नति देशको युद्धक क्षमता बढाउन गरिएको जनाएको छ। सरकारको यस कदमले देशको रक्षा प्रणाली बलियो बनाउनुका साथै नाटोको धारा ३ लाई गम्भीरतापूर्वक कार्यान्वयन गर्ने लक्ष्य राखेको छ, जसअन्तर्गत नाटोका सबै सदस्य राष्ट्रले कुनै पनि आक्रमण रोक्न आफ्नो व्यक्तिगत र सामूहिक क्षमता कायम राख्नु तथा बढाउनु आवश्यक हुन्छ। साथै, यस नयाँ लगानीबाट ब्रिटेनमा ३,००० जनाले रोजगारीसमेत पाउनेछन्।
​विश्वव्यापी अस्थिरता बढिरहेका बेला र युरोपभर सुरक्षा चिन्ता चुलिँदै जाँदा ब्रिटिश रक्षा मन्त्रालयले सेनालाई सुदृढ पार्ने यो कदम चालेको हो। यद्यपि, पत्र जारी गर्नुको अर्थ तत्कालै सेना परिचालन गर्नु नरहेको र यसले रिजर्भ सैनिकहरूसँग पुनः सम्पर्क स्थापित गर्न मात्र खोजेको स्पष्ट पारिएको छ। ब्रिटिश सरकारले सन् २०२७ मा हुने नाटोको सैन्य अभ्यासका लागि १,००० रिजर्भ सैनिकलाई बोलाउने तयारी गरेको छ। आवश्यक परेको खण्डमा तत्काल परिचालन गर्न सकियोस् भन्नका लागि सरकारले रिजर्भ सैनिकहरूको पहिचान अद्यावधिक राख्न चाहेको हो। यसैबीच, ब्रिटिश सरकारले आफ्ना नागरिकहरूलाई साइबर आक्रमणको अवस्था आएमा सुरक्षित रहन खानेकुरा, पानीको बोतल, कम्बल र एउटा रेडियो साथमा राख्नसमेत आग्रह गरेको छ।
​

About Author

Advertisement