काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो अर्धठोस धातुसहित दुई चिनियाँ महिला पक्राउ परेका छन्। सुरक्षा जाँचका क्रममा उनीहरूको साथबाट प्लास्टिकसहित कुल २ किलो ३४८ ग्राम तौलको उक्त पदार्थ बरामद गरिएको हो।
पक्राउ पर्नेमा चीनको गुवाङदोङ प्रान्तकी ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन जिनपिङ रहेका छन्। प्रारम्भिक अनुसन्धानबाट दुवै महिलाले उक्त धातु शरीरको मलद्वार तथा भित्री वस्त्रमा लुकाएर हङकङबाट काठमाडौँ ल्याएको खुलेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार मङ्गलबार राति ११:१५ बजे क्याथे प्यासिफिक एयरलाइन्सको उडानमार्फत हङकङबाट काठमाडौँ आइपुगेका उनीहरूको गतिविधि शङ्कास्पद देखिएपछि सीमा शुल्क क्षेत्र पार गर्ने क्रममा नियन्त्रणमा लिइएको थियो।
खानतलासीका क्रममा मलद्वार तथा भित्री वस्त्रभित्र प्लास्टिकले बेरेर लुकाइएका सुनजस्ता देखिने पहेँलो अर्धठोस पदार्थका आठवटा गोलाकार टुक्रा फेला परेको प्रहरीले जनाएको छ।
विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार दुवै महिलालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानपछि थप कानुनी कारबाहीका लागि मङ्गलबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ। बरामद पदार्थको वास्तविक प्रकृति र त्यसमा रहेको शुद्ध सुनको मात्रा परीक्षणपछि मात्र पुष्टि हुने प्रहरीले जनाएको छ।





