काठमाडौँ: साउदी अरबको राजधानी रियादमा मङ्गलवार भएको आतङ्कवादी आक्रमणमा परी तीन जना नेपाली नागरिक घाइते भएका छन्। साउदी विदेश मन्त्रालयले तीन नेपाली घाइते भएको पुष्टि गरेको रियादस्थित नेपाली दूतावासले जनाएको छ।
कार्यवाहक राजदूत सिर्जना अधिकारीका अनुसार घाइतेमध्ये दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने एक जना उपचारपश्चात् डिस्चार्ज भइसकेका छन्। घाइतेहरूको विस्तृत पहिचान खुलाउने कार्य भइरहेको दूतावासले जनाएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार रियादस्थित ‘किङ अब्दुल्लाह फाइनान्सल डिस्ट्रिक्ट’ मा रहेको पब्लिक इन्भेस्टमन्ट फन्डको ८० तले भवनलाई लक्षित गरी आक्रमण भएको हो।
यमनको वैधानिक सरकारको समर्थनमा रहेको गठबन्धन फौजका प्रवक्ता मेजर जनरल तुर्की अल मलिकीले वित्तीय केन्द्रको टावरमा हूथी विद्रोही समूहद्वारा ड्रोन आक्रमण गरिएको पुष्टि गर्नुभएको छ। सर्वसाधारण नागरिक र नागरिक संरचनामाथि गरिएको यस आक्रमणको कडा जवाफ दिइने चेतावनीसमेत उहाँले दिनुभएको छ। विभिन्न सञ्चारमाध्यमका अनुसार उक्त घटनामा तीन नेपालीसहित दुई साउदी, दुई भारतीय र चार इजिप्टेली नागरिक घाइते भएका छन्।
घटनालगत्तै नेपालको परराष्ट्र मन्त्रालयले प्रभावित क्षेत्रमा रहेका नेपालीहरूलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन, स्थानीय सरकारले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न र दूतावासको नियमित सम्पर्कमा रहन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मध्यपूर्वमा रहेका नेपालीहरूको सुरक्षाका विषयमा साउदी अरबसहित सम्बन्धित देशहरूसँग निरन्तर संवाद भइरहेको बताउनुभयो।
प्रवक्ता पौडेल क्षेत्रीका अनुसार गत फेब्रुअरीमा मध्यपूर्वमा तनाव चर्किँदा सरकारले तयार पारेको आकस्मिक उद्धार तथा सुरक्षित स्थानान्तरणको योजना यथावत् छ र आवश्यकताअनुसार कदम चाल्न सरकार तयारी अवस्थामा छ।
पछिल्लो समय इरानको समर्थनप्राप्त यमनका हूथी विद्रोही र साउदी अरबबीच तनाव बढ्दै गएको छ। हूथी समूहले रियाद तथा लालसागरको तटीय क्षेत्रका ऊर्जा केन्द्रहरूमा ड्रोन र बलिस्टिक क्षेप्यास्त्र प्रहार गर्दै आएको छ। आक्रमणका घटनाले खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकको सुरक्षालाई लिएर चिन्ता बढाए पनि वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिने क्रम भने नरोकिएको वैदेशिक रोजगार विभागका महानिर्देशक नवराज ढकालले जानकारी दिनुभयो।





