​भारत भ्रमणमा सरकारको ‘ब्रेकथ्रू’ दाबी, विपक्षी र विज्ञ भन्छन्: मुख्य मुद्दा नै उठेन

ff20dc37-707d-4d3f-996a-eb85ce714e9d

​काठमाडौँ: सरकारले प्रधानमन्त्रीको भारत भ्रमणलाई ऐतिहासिक र सफल भनी व्याख्या गरिरहँदा विज्ञ तथा प्रमुख विपक्षी दलका नेताहरूले भने वर्षौँदेखि थाँती रहेका पेचिला विषयमा कुनै उपलब्धि हुन नसकेको टिप्पणी गरेका छन्।
​भ्रमणका क्रममा एकाध आर्थिक तथा कनेक्टिभिटीका विषयमा सहमति भए पनि सीमा विवाद, सन् १९५० को सन्धि र ईपीजी प्रतिवेदनजस्ता मुख्य एजेन्डा ओझेलमा परेको उनीहरूको निष्कर्ष छ।
​सरकारले भैरहवाको दुईतर्फी हवाई मार्ग, अयोध्या–जनकपुर रेल सेवा तथा दीनदयाल र पारादीप बन्दरगाहमा नेपालको पहुँच पुग्ने सहमतिलाई ‘ब्रेकथ्रू’ भनेको छ। तर, विपक्षी दल र कूटनीतिक जानकारहरू सरकारको यो दाबीसँग पूर्ण सहमत छैनन्।
​बाढी पुनर्निर्माणको २ खर्ब ४० अर्ब सहयोगलाई सकारात्मक
​भ्रमणका क्रममा भारतले गत भदौ १० गतेको भोटेकोशी–त्रिशूली बाढीपछिको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि २ खर्ब ४० अर्ब रुपैयाँ (अनुदान र सहुलियतपूर्ण ऋण) उपलब्ध गराउने घोषणा गरेको छ।
​यस घोषणाका साथै नेपालमा भारतीय प्राविधिक शिक्षालय (आईआईटी) खोल्ने सहमतिलाई भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले सकारात्मक मानेका छन्।
​पूर्वराजदूत तथा प्रबुद्ध व्यक्ति समूह (ईपीजी) का सदस्य नीलाम्बर आचार्यले निरन्तर भइरहने सहयोगका क्षेत्रमा उपलब्धि भएको बताउँदै भोटेकोशी–त्रिशूली पुनर्निर्माणको घोषणा सराहनीय रहेको बताए। उनले भने, ‘सिङ्गो सम्बन्धलाई हेर्ने हो भने आधामा उपलब्धि भयो, आधामा चाहिँ भएन।’
​पूर्वपरराष्ट्रमन्त्री एवं एमाले नेता प्रदीप ज्ञवालीले पनि बाढीपछिको पुनर्निर्माण सहायता र आईआईटी खोल्ने सहमतिबाहेक अरू विषय विगतकै सहमतिको निरन्तरता मात्र भएको टिप्पणी गरे। कांग्रेस संसदीय दलका नेता भीष्म आङ्देम्बे र नेकपा नेता प्रकाश ज्वालाले पनि बाढी प्रभावित क्षेत्रका लागि घोषित सहयोगलाई सकारात्मक भनेका छन्।
​सीमा विवाद, सन्धि र ईपीजी ओझेलमा परेको आरोप
​संयुक्त वक्तव्यमा सीमा स्तम्भ मर्मतको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै बाँकी सीमा विवाद सुल्झाउन दुवै देशका परराष्ट्र सचिवहरूलाई निर्देशन दिइएको उल्लेख छ। तर, विपक्षी नेताहरूले प्रधानमन्त्री शाहले राजकीय भ्रमणमा उठाउनैपर्ने मूल एजेन्डा नउठाएको आरोप लगाएका छन्।
​कांग्रेस नेता आङ्देम्बेले ठूलो प्रचारबाजीका साथ भारत गए पनि प्रधानमन्त्रीले सीमाको विषयमा ठोस कुरा नउठाएको बताए। ‘जसरी ढोल पिटेर उहाँ जानुभयो, त्यस्तो केही भएको देखिएन,’ उनले भने, ‘भैरहवा हवाई मार्गको विषय पनि टुङ्गो लागिसकेको होइन, उड्डयन अधिकारीबीच छलफल भएर टुङ्गो लाग्ने भनिएको छ।’
​एमाले नेता ज्ञवालीले भ्रमणलाई ‘औसत’ को संज्ञा दिँदै सीमा विवाद, सन् १९५० को सन्धि र वाणिज्य सन्धिमा रहेका असमान प्रावधानका कारण नेपालले व्यहोरिरहेको व्यापार घाटाको विषय नउठ्नु भ्रमणको सबैभन्दा ठूलो कमजोरी भएको बताए।
​त्यस्तै, पूर्वराजदूत आचार्यले विवादित विषय उठाउँदा सहयोग प्रभावित हुन्छ भन्ने मानसिकताबाट माथि उठ्नुपर्नेमा जोड दिए। ‘हामीले न कालापानी उठायौँ, न व्यापार घाटाबारे उठायौँ, न ईपीजी, न त सार्क नै उठायौँ,’ आचार्यले भने, ‘नेपालले ईपीजी प्रतिवेदनको विषय उठाएको भए भारतीय विदेश सचिव विक्रम मिसरीले त्यसलाई खारेज गरिएको आशयको अभिव्यक्ति दिने थिएनन्।’
​नेकपा नेता प्रकाश ज्वालाले पनि दीर्घकालीन प्रभाव पार्ने खालका कुनै ठोस उपलब्धि भ्रमणबाट हासिल नभएको बताए।
​सरकारको बचाउ: सम्बन्धलाई नयाँ आयाम दिन भारत तयार
​विपक्षी र विज्ञको आलोचनाबीच परराष्ट्रमन्त्री शिशिर खनालले भने ईपीजी प्रतिवेदन पूर्णतः अस्वीकार नभएको दाबी गरेका छन्। सोमबार स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले नेपाल–भारत सम्बन्धलाई नयाँ आयामबाट व्याख्या गर्न र आवश्यक नयाँ सन्धिहरू गर्न दुवै देश तयार रहेको बताए।
​‘सन् १९५० को सन्धिलगायत विभिन्न सन्धि–सम्झौताको पुनरवलोकन गर्न तयार छ भनेर स्पष्ट बोलिसकेपछि ईपीजीभित्रका विषयवस्तुहरूलाई पनि सम्बोधन गर्ने गरी संयुक्त दूरदृष्टि दस्तावेजमा समेटिएको छ,’ मन्त्री खनालले प्रष्ट पारे।

About Author

Advertisement