रुसी युद्धपोत डुबेको जेलेन्स्कीद्वारा पुष्टि
मस्को: रुसबाट करिब १,८०० किलोमिटर टाढा लिबियाको तटमा युक्रेनी नौसेनाले मानवरहित डुङ्गा (ड्रोन बोट) को प्रयोग गरी रुसी युद्धपोत ध्वस्त पारेको घटनाले अन्तर्राष्ट्रिय सैन्य वृत्तमा ठुलो चर्चा पाएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस आक्रमणको पुष्टि गर्नुभएको छ। रक्षा विश्लेषकहरूले सानो नौसैनिक क्षमता भएको युक्रेनले टाढाको समुद्रमा पुर्याएको यो क्षतिलाई असाधारण घटनाका रूपमा व्याख्या गरेका छन्। कतिपयले यस घटनाको तुलना सन् १९६७ मा भूमध्यसागरमा इजिप्टको मिसाइल बोटले इजरायली युद्धपोत ‘आईएनएस इलात’ माथि गरेको आक्रमणसँग गरेका छन्।
स्याटलाइट तस्बिरहरूबाट आक्रमणपछि रुसी युद्धपोत डुबेको देखिएको छ। राष्ट्रपति जेलेन्स्कीले सोमबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आइतबार लिबियाको तट नजिकै भएको आक्रमणमा युक्रेनी सेनाले देशमै निर्मित सातवटा नौसैनिक ड्रोन परिचालन गरेको र त्यसबाट रुसको एउटा कार्वेट युद्धपोत डुबेको जानकारी दिनुभयो। उहाँका अनुसार उक्त युद्धपोत रुसका सबैभन्दा नयाँ जहाजहरूमध्ये एक थियो, जसलाई सन् २०२३ मा नौसेनामा समावेश गरिएको थियो।
जेलेन्स्कीले रुसी आक्रामकताको जवाफमा युक्रेनी हतियारको विकास र समुद्री अभियान जारी रहेको बताउनुभयो। आक्रमणमा हातहतियार ढुवानीमा प्रयोग हुँदै आएको भनिएको रुसी मालवाहक जहाज ‘एमभी अङ्गारा’ लाई पनि निसाना बनाइएको तथा एउटा ‘केए–२७’ सैन्य हेलिकप्टर नष्ट भएको उहाँले दाबी गर्नुभयो। युक्रेनको सुरक्षा सेवा (एसबीयू) लगायत रक्षा बलको भूमिकाको सराहना गर्दै उहाँले तय गरिएका लक्ष्य हासिल भएको उल्लेख गर्नुभयो।
पूर्वी लिबियाका अधिकारीहरूका अनुसार आइतबार बिहान बेङ्गाजी क्षेत्रमा ठुला विस्फोटका आवाज सुनिएका थिए र नौसैनिक अड्डामा आगो लागेको थियो, जसलाई नागरिक सुरक्षा टोलीले नियन्त्रणमा लिएको थियो। पूर्वी लिबियाको सरकारसँगको सहकार्य सम्झौताअनुसार इन्धन र रसद सामग्री लिन उक्त रुसी जहाज त्यहाँ पुगेको अधिकारीहरूले जनाएका छन्।





