नयाँ दिल्ली: नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा दुई देशबिच द्विपक्षीय सम्बन्ध र विकास सहकार्यलाई थप सुदृढ बनाउने विभिन्न घोषणा तथा समझौता भएका छन्। नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको द्विपक्षीय वार्तापछि नेपालको पुनर्निर्माण तथा विकासका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विशेष प्याकेज घोषणा गरिएको छ।
वार्ताका क्रममा दुवै देशबिच आठवटा महत्त्वपूर्ण समझौतामा हस्ताक्षर भएको जनाइएको छ। ती समझौताहरूमा अयोध्या–जनकपुर सिधा रेल सेवा, सीमा व्यापार सहजता लगायतका विषय समावेश छन्। साथै दुवै प्रधानमन्त्रीले पाँचवटा सम्पर्क तथा ऊर्जासम्बन्धी परियोजनाको शुभारम्भ तथा शिलान्यास गरेका छन्, जसमा नयाँ एकीकृत जाँच चौकी (आईसीपी), नेपाल र भारतको उत्तराखण्ड जोड्ने पुल, मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण तथा झापा पेट्रोलियम टर्मिनल रहेका छन्। नेपाललाई भारतका काँडला (गुजरात) र पारादीप (ओडिशा) बन्दरगाह प्रयोग गर्ने सुविधा उपलब्ध गराउने विषय पनि अघि बढाइएको छ।
द्विपक्षीय भेटवार्तापछि प्रधानमन्त्री बालेन शाहले भारतलाई भरपर्दो छिमेकीको संज्ञा दिँदै विपद् तथा कठिन परिस्थितिमा भारतले गर्दै आएको सहयोगको प्रशंसा गर्नुभयो। उहाँले नेपाल–भारत सम्बन्धलाई ‘हिमालयजस्तै सुदृढ’ र ‘महासागरजस्तै विशाल’ उल्लेख गर्दै आपसी सम्मान, विश्वास र सद्भावना नै सम्बन्धको आधार रहेको बताउनुभयो। भगवान् राम र माता जानकीको समयदेखिको ऐतिहासिक तथा सांस्कृतिक सामीप्यको स्मरण गर्दै उहाँले विकासका विविध क्षेत्रमा सहकार्य विस्तार गरी रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो। साथै, उहाँले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्दै प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभयो।
भ्रमणका क्रममा भएका यी घोषणा र अभिव्यक्तिलाई क्षेत्रीय कूटनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। कूटनीतिक विश्लेषकहरूका अनुसार प्रधानमन्त्री बालेन शाहको परराष्ट्र नीति कुनै एक छिमेकीतिर मात्र ढल्किनेभन्दा पनि सन्तुलन कायम राख्ने खालको देखिन्छ। भारत भ्रमणअघि मात्र चीनका लागि नेपालका नयाँ राजदूत डा. कल्याण राज शर्माले कार्यभार सम्हालिसक्नुभएको छ भने चीनले पनि प्रधानमन्त्री शाहलाई बेइजिङ भ्रमणको निमन्त्रणा दिएको सन्दर्भमा नेपालले छिमेकी मुलुकहरूसँग सन्तुलित सम्बन्ध कसरी अघि बढाउँछ भन्ने विषयमा चासो बढेको छ।





