राष्ट्रपति भवनमा प्रधानमन्त्रीमोदीको ‘हग डिप्लोमेसी’

47f80455-7643-464c-a097-fbac4b3df803

​नयाँ दिल्ली: भारतको औपचारिक भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित औपचारिक स्वागत (गार्ड अफ अनर) समारोहमा अंकमाल गर्दै न्यानो स्वागत गरेका छन्। प्रधानमन्त्री शाह कारबाट ओर्लनेबित्तिकै भारतीय प्रधानमन्त्री मोदीले अघि बढेर अंकमाल गरेका थिए।
​यसअघि भारत भ्रमणमा गएका नेपालका पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपति भवनको औपचारिक स्वागत समारोहमा मोदीले यसरी अंकमाल गरेर स्वागत गरेको सार्वजनिक रेकर्ड देखिँदैन। विगतका भ्रमणहरूमा प्रचलित कूटनीतिक शिष्टाचारअनुसार हात मिलाउने र नमस्कार गर्ने परम्परा रहँदै आएको थियो। सन् २०२३ र २०१६ मा भएको पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा राष्ट्रपति भवनको औपचारिक स्वागत तथा हैदराबाद हाउसमा भएका भेटवार्ताहरूमा मोदीले हात मिलाएर तथा नमस्कार गरेर स्वागत गरेका थिए। त्यस्तै, सन् २०१८ र २०१६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तथा सन् २०२२ र २०१७ मा शेरबहादुर देउवाको भारत भ्रमणका बेला पनि राष्ट्रपति भवनको प्राङ्गणमा हात मिलाउने र नमस्कार गर्ने प्रचलन नै दोहोरिएको थियो।
​भारतीय प्रधानमन्त्री मोदी विश्वका अन्य शक्तिशाली तथा मित्रराष्ट्रका प्रमुखहरू फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन, अमेरिकी नेताहरू तथा संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपतिलगायतलाई अंकमाल गरेर स्वागत गर्ने ‘हग डिप्लोमेसी’ का लागि परिचित छन्। छिमेकी राष्ट्र नेपालका प्रधानमन्त्रीलाई औपचारिक राजकीय भ्रमणको सुरुवातमै राष्ट्रपति भवनको प्राङ्गणमा यसरी अंकमाल गरेर स्वागत गरिएको दृश्यलाई कूटनीतिक वृत्तमा दुर्लभ र अर्थपूर्ण मानिएको छ।

About Author

Advertisement