नवद्वीपमा स्थायी पुल र सुसज्जित घाट निर्माण गरिने

Nadia: Suvendu Adhikari Inaugurates Raas Festival

​कोलकाता। रास उत्सवको अवसरमा चैतन्य महाप्रभुको स्मृतिसँग जोडिएको नवद्वीप क्षेत्रको समग्र विकासका लागि मुख्यमन्त्री शुभेन्दु अधिकारीले विभिन्न महत्त्वपूर्ण योजनाहरूको घोषणा गरेका छन्। आइतबार रास महोत्सवमा सहभागी हुन नवद्वीप पुगेका मुख्यमन्त्री अधिकारीले त्यहाँ नदी पार गर्नका लागि एउटा स्थायी पुल र सुसज्जित घाट निर्माण गरिने बताए।
​लामो समयअघि निर्माण सुरु भएर अलपत्र परेको घाटको कामलाई पूर्णता दिँदै त्यहाँबाट फेरी (लन्च) सेवा सञ्चालनमा ल्याइने उनले आश्वासन दिए। मुख्यमन्त्रीले स्थायी पुल निर्माण नहुन्जेल सर्वसाधारणले लन्च सेवाकै भर पर्नुपर्ने र पुल बनेपछि पनि उक्त सेवा निरन्तर जारी रहने स्पष्ट पारे। घाट निर्माण र फेरी सेवा सुरु गर्न करिब दुई महिना लाग्ने बताउँदै उनले आगामी फेब्रुअरी महिनाको पहिलो साता पुनः नवद्वीप आएर उक्त सेवाको उद्घाटन गर्ने जानकारी दिए।
​यसका साथै, मुख्यमन्त्री अधिकारीले भक्तहरूको सहयोगमा निर्माण भइरहेको तर कोषको अभावमा अधुरो रहेको नवद्वीपस्थित अनुसन्धान केन्द्रको काम पूरा गर्न २ करोड रुपियाँ छुट्याउने घोषणा गरे। स्थानीय गौशाला विस्तारका लागि १ करोड रुपियाँ प्रदान गर्ने प्रतिबद्धता जनाउँदै उनले नवद्वीपमा गुरुकुल एवं संस्कृत टोलहरू स्थापना गर्न बजेटको कुनै कमी हुन नदिने बताए।
​सम्बोधनका क्रममा उनले अघिल्लो तृणमूल कङ्ग्रेस सरकारको आलोचना गर्दै पूर्ववर्ती सरकारले महाप्रभुको जन्मस्थलको विकासमा ध्यान नदिई केवल देशी तथा विदेशी मदिरा पसलहरू मात्र खोलेको आरोप लगाए।
​नवद्वीप भ्रमणका क्रममा मुख्यमन्त्रीले रासमन्दिरमा आयोजित कीर्तनमा सहभागिता जनाउनुका साथै सचीमाता गोशालाको अवलोकन गरे। स्रोतका अनुसार उनका लागि पुलाउ, भात, धोका, मोचा र थोडका विभिन्न परिकारसहित २० देखि २५ प्रकारका शुद्ध शाकाहारी भोजनको व्यवस्था गरिएको थियो। भ्रमणकै क्रममा उनले नवद्वीपमा गौराङ्गिनी माता तथा कुटिरपाडास्थित मुक्ति सूर्य क्लबमा भारत माताको पूजाको उद्घाटन गरे भने दिनको अन्त्यमा ऐतिहासिक श्री श्री बोरो श्यामा माँ मन्दिरमा दर्शन तथा पूजाअर्चना गरी कोलकाता फर्किएका छन्।

About Author

Advertisement