इटहरी(सुनसरी): राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल, सुनसरी शाखाको अध्यक्षमा गुरुराज ढकाल सर्वसम्मत चयन हुनुभएको छ। इटहरीस्थित युवा विकास केन्द्रमा शनिबार आयोजित विशेष समारोहका बीच नवनिर्वाचित तीन वर्षे कार्यसमितिको पदस्थापन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो।
निर्वाचन समितिका संयोजक एवं कानुनी सल्लाहकार विकल रेग्मीको अध्यक्षता तथा कोशी प्रदेशका प्रेस रजिस्ट्रार लीलाराज भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नवनियुक्त समितिलाई शपथ ग्रहण गराइएको थियो।
सर्वसम्मत चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा खेमराज श्रेष्ठ, सचिवमा केशव सिग्देल (पवन) र कोषाध्यक्षमा दिनेश श्रेष्ठ रहनुभएको छ । यस्तै, कार्यसमिति सदस्यहरूमा मिलन अधिकारी, सञ्जीव तिम्सिना र दोलराज तिम्सिना चयन हुनुभएको छ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि भट्टराईले फोटो पत्रकारिताको महत्त्वमाथि प्रकाश पार्दै फोटो पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि प्रविधिमैत्री तालिम र आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नवनिर्वाचित अध्यक्ष ढकालले आगामी तीन वर्षभित्र फोटो पत्रकारहरूको व्यावसायिक विकाससँगै तस्बिरमार्फत सुनसरीका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचान र प्रवर्द्धन गर्दै शाखालाई देशकै उत्कृष्ट बनाउने लक्ष्य रहेको बताउनुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, प्रेस चौतारी कोशी प्रदेश अध्यक्ष सुमन पुरी, सञ्चारकर्मी एवं पर्यटन व्यवसायी रविन गौतम र एनएफपीजे झापाका अध्यक्ष नेत्रविक्रम बिमली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।





