क्यान्सरका १ हजारभन्दा बढी औषधि सस्तिने

IMG_008fe144-e127-4846-a2e9-b8c66b1d9c02

ट्रेड मार्जिन ३० प्रतिशतमा सीमित

​नयाँ दिल्ली: क्यान्सरको उपचारलाई सर्वसुलभ र आम बिरामीको पहुँचमा पुर्‍याउन भारत सरकारले महत्त्वपूर्ण निर्णय गरेको छ। केंद्र सरकारले १३७ वटा सूचीकृत क्यान्सररोधी औषधिमा अधिकतम व्यापारिक नाफा (ट्रेड मार्जिन) ३० प्रतिशत तोकेपछि १ हजारभन्दा बढी औषधिको अधिकतम खुद्रा मूल्य (एमआरपी) २० देखि ७० प्रतिशतसम्मले घट्ने भएको हो।
​कतिपय बायोलोजिकल र इम्युनोथेरापीजस्ता आधुनिक औषधिहरूको अनुसन्धान, जटिल निर्माण प्रक्रिया र आपूर्ति शृङ्खलामा राखिने अत्यधिक नाफाका कारण क्यान्सरको उपचार निकै महँगो हुने गरेको छ। जनहितलाई ध्यानमा राख्दै स्वदेशी तथा विश्वबजारमा उपलब्ध ती औषधिहरूमा ट्रेड मार्जिनको सीमा तोकिएको हो। यद्यपि, औषधि र ब्रान्डअनुसार मूल्य कटौतीको दर भने फरक-फरक हुन सक्नेछ।
​गत ९ नोभेम्बरदेखि नै संशोधित मूल्य लागू भइसकेको छ। मूल्य घटेको वास्तविक लाभ बिरामीले पाउनुपर्नेमा जोड दिँदै सरकारी तथा निजी अस्पतालहरूले बिरामीको बिलमा संशोधित दर नै लागू गर्नुपर्ने व्यवस्था गरिएको छ। सर्वसाधारणले राष्ट्रिय औषधि मूल्य निर्धारण प्राधिकरण (एनपीपीए) को वेबसाइट र ‘फार्मा सही दाम’ मोबाइल एपमार्फत औषधिको नयाँ मूल्यबारे जानकारी लिन सक्नेछन्।
​अस्पताल र फार्मेसीहरूमा नयाँ मूल्यसूची स्पष्ट देखिने गरी राख्नुपर्ने नियम बनाइएको छ। यसको प्रभावकारी कार्यान्वयनका लागि राज्य औषधि नियन्त्रकमार्फत निगरानी गरिने र ‘फार्मा सही दाम’ एपमा आउने गुनासोका आधारमा कडा अनुगमन गरिने सरकारले जनाएको छ।

About Author

Advertisement