सिक्किमका नगर निकायका अधिकारीहरूको सहभागिता
इटानगर(अरुणाचल प्रदेश): उत्तर-पूर्वी राज्यहरूका सहरी स्थानीय निकायहरू (युएलबी) का लागि १६औँ वित्त आयोगको अनुदानसम्बन्धी एकदिवसीय अभिमुखीकरण कार्यशाला आज इटानगरस्थित गोल्डेन जुब्ली ब्याङ्क्वेट हलमा सम्पन्न भएको छ।
अरुणाचल प्रदेशका उपमुख्यमन्त्री तथा अर्थमन्त्री चौना मेनको प्रमुख आतिथ्य एवं सहरी विकास मन्त्री बलो राजाको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा सिक्किमका तर्फबाट राङ्पो नगर पञ्चायतका कार्यकारी अधिकृत छिरिङ नोर्बु र नाम्ची नगर परिषदका कार्यकारी अधिकृत योगेन स्याङ्देनको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै भारत सरकारको आवास तथा सहरी मामिला मन्त्रालयका आर्थिक सल्लाहकार गोपाल प्रसादले दिगो सहरी विकासका लागि स्थानीय निकायको सबलीकरण र वित्तीय अनुदानको प्रभावकारी उपयोगमा जोड दिए। कार्यशालामा ‘जनाग्रह’ का तर्फबाट अनुदान परिचालन र कार्यान्वयनको ढाँचाबारे प्राविधिक प्रस्तुति दिइएको थियो भने मन्त्रालयकी प्रतिनिधि शालुले ‘सिटी फाइनान्स पोर्टल’ को प्रयोग र यसले ल्याउने पारदर्शितासम्बन्धी व्यवहारिक ज्ञान साझा गरेकी थिइन्।

अन्तर्क्रियात्मक छलफल तथा प्रश्नोत्तर सत्रसहित सम्पन्न उक्त कार्यशालाले सिक्किमका सहरी निकायहरूको संस्थागत क्षमता अभिवृद्धि, डिजिटल प्रणालीको प्रयोग र वित्तीय व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।





