सिलगढी: पश्चिम बंगालका गृह तथा पहाडी मामिला, अल्पसंख्यक मामिला र मदरसा शिक्षासम्बन्धी राज्यमन्त्री एवं कालचीनी (एसटी) विधानसभा क्षेत्रबाट विधायक विशाल लामाको उपस्थितिमा सिलगढीस्थित उत्तरकन्यामा आठ वटा जिल्लाका अल्पसङ्ख्यक मामिला विभागका अधिकारीहरूसँग एक महत्त्वपूर्ण बैठक सम्पन्न भएको छ।
बैठकमा विभागीय गतिविधिहरूको समीक्षा गर्नुका साथै विभिन्न जनहितका मुद्दाहरूमाथि विस्तृत छलफल गरिएको छ। यसका साथै सरकारी योजनाहरूको प्रभावी कार्यान्वयन र आम जनताका गुनासाहरूको सम्बोधन गर्ने विषयमा विचारहरूको आदान-प्रदान गरिएको थियो।
अल्पसङ्ख्यक समुदायको कल्याण, पारदर्शी प्रशासन र सरकारी योजनाहरू वास्तविक तथा योग्य लाभग्राहीसम्म पुग्ने कुरालाई उच्च प्राथमिकतामा राखिएको छ। जनहितका पहलहरूलाई अझ बढी प्रभावकारी बनाउँदै तिनको सफल कार्यान्वयन सुनिश्चित गर्न कटिबद्ध रहेको बैठकमा मन्त्री विशाल लामाले जोड दिएका छन्।





