अस्थायी ढाँचा हटाउन निर्देशन
सिलगढी: दुर्गापूजा २०२६ को समापनसँगै पश्चिम बंगाल सरकारका संसदीय मामिला तथा पर्यटन मन्त्री डा. शङ्कर घोषले सिलगढी क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा सिलगढीका पुलिस आयुक्त सैयद वाकार राजा (आईपीएस), उपपुलिस आयुक्त राणा मुखर्जी (आईपीएस) लगायत अन्य वरिष्ठ प्रहरी अधिकारी एवम् विशिष्ट व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो।
अनुगमन टोलीले सिलगढीको मुख्य व्यापारिक केन्द्र हिलकार्ट रोड, एयरभ्यू मोड तथा आसपासका बजार क्षेत्रको प्रत्यक्ष निरीक्षण गरेको थियो। सो क्रममा पूजाका अवसरमा निर्मित विभिन्न अस्थायी स्वागतद्वार तथा संरचनाहरूले आवागमनमा बाधा पुर्याएको भन्दै तिनलाई तत्काल हटाउन मन्त्री तथा प्रहरी नेतृत्वले सम्बन्धित पक्षलाई कडा निर्देशन दिएका छन्।
स्थलगत निरीक्षणका क्रममा सडक क्षेत्रमा हुने अवैध अतिक्रमण र अनधिकृत पार्किङको समस्याबारे पनि गहन समीक्षा गरिएको थियो। चाडपर्व सकिएलगत्तै सवारी साधनको सहज आवागमन पुन: सुचारु गराउनुका साथै सर्वसाधारणको सुविधा र जनसुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिइएको छ।
सिलगढी पुलिस कमिश्नरेटले नगरवासी एवम् सर्वसाधारणका लागि सुरक्षित, सहज र बाधाविहीन यातायात व्यवस्था सुनिश्चित गर्न आफूहरू निरन्तर प्रतिबद्ध रहेको जनाउँदै नागरिकको सुरक्षा नै आफ्नो मुख्य प्राथमिकता रहेको स्पष्ट पारेको छ।





