नयाँ दिल्ली। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा हालसम्म तीन लाखभन्दा बढी अमेरिकी भिसा रद्द गरिएको छ। सङ्घीय सरकारले अध्यागमनसम्बन्धी कडा नीति कार्यान्वयन गरिरहेका बेला अमेरिकी विदेश मन्त्रालयले यस्तो जानकारी दिएको हो।
मन्त्रालयका अनुसार पछिल्ला हप्ताहरूमा भिसा रद्द गर्ने क्रम तीव्र बनेको छ। यसअघि गत अगस्ट १० मा सार्वजनिक गरिएको तथ्याङ्कमा सन् २०२५ जनवरीदेखि १ लाख ७५ हजारभन्दा बढी भिसा रद्द गरिएको उल्लेख थियो।
विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले सामाजिक सञ्जाल ‘एक्स’मार्फत तथ्याङ्क सार्वजनिक गर्दै ट्रम्प प्रशासनले इतिहासमै तीव्र गतिमा ठूलो सङ्ख्यामा भिसा रद्द गरेको दाबी गरेका छन्। उनका अनुसार कानुन उल्लङ्घन गर्ने, ठगीमा संलग्न हुने वा राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न गर्ने विदेशी भिसावाहकप्रति प्रशासनको शून्य सहनशीलताको नीति छ।
ट्रम्पले अध्यागमनमा कडाइ र देशनिकाला अभियानलाई राष्ट्रिय सुरक्षा सुदृढ गर्ने उपायका रूपमा प्रस्तुत गर्दै आएका छन्। तर, अधिकारकर्मीहरूले सरकारले उचित कानुनी प्रक्रिया र अभिव्यक्ति स्वतन्त्रताको अधिकार कमजोर बनाएको आरोप लगाएका छन्।
विशेषगरी गाजामा इजरायली आक्रमणको विरोध गर्ने प्यालेस्टाइन समर्थक विदेशी प्रदर्शनकारी तथा सामाजिक सञ्जालमा राजनीतिक टिप्पणी गर्ने विदेशीहरूको भिसा रद्द गरिएको विषयमा आलोचना भएको छ।
यसैबीच, आप्रवासी तथा भिसा आवेदकका सामाजिक सञ्जाल निगरानीमा पनि कडाइ गरिएको छ। आलोचकहरूले राष्ट्रिय सुरक्षाको नाममा आप्रवासी समुदायलाई लक्षित गरिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।





