४५ हजार बढी सरकारी दरबन्दी खुलाउने पश्चिम बंगाल सरकारको निर्णय

IMG_e38f7ab7-1822-4e38-a271-90479f753d74

३३ हजार शिक्षक थपिने, पहाड र तराईका युवालाई ठूलो राहत

काेलकाता: पश्चिम बंगाल मन्त्रिपरिषद्ले राज्यका विभिन्न सरकारी निकायमा रिक्त रहेका ४५ हजार १८५ पदमा नयाँ भर्ना प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले सर्वसम्मतिमा उक्त निर्णय स्वीकृत गरेको हो।
​कुल स्वीकृत दरबन्दीमध्ये ३३ हजार १९९ पद प्राथमिकदेखि उच्च माध्यमिक तहसम्मका विद्यालय शिक्षकका लागि छुट्याइएको छ। बाँकी ११ हजार ९८६ पद भने अन्य प्रशासनिक तथा सरकारी निकायअन्तर्गत पूर्ति गरिनेछ।
​वर्षौंदेखि लोकसेवा र निष्पक्ष प्रतिस्पर्धाको पर्खाइमा बसेका बंगालका शिक्षित युवाहरूका लागि यो निर्णयलाई ठूलो राहतका रूपमा हेरिएको छ। विशेष गरी दार्जिलिङ पहाड, तराई र डुवर्स क्षेत्रका युवाहरूले अब निष्पक्ष र पारदर्शी प्रक्रियामार्फत आफ्नो प्रतिभा देखाउने अवसर पाउनेछन्।
​लामो समयदेखि रोजगारीको पर्खाइमा रहेका युवाहरूको माग सम्बोधन गर्दै सरकारले भर्ना प्रक्रियालाई छिटो, पारदर्शी र धाँधलीरहित ढंगले अघि बढाउने प्रतिबद्धता जनाएको छ। शिक्षक भर्ना प्रक्रिया सुरु भएसँगै लामो समयदेखि शिक्षण पेसामा प्रवेश गर्न चाहेका उम्मेदवारहरू उत्साहित बनेका छन्।

About Author

Advertisement