मेघालय: ५०औँ स्वर्ण जयन्ती ‘एक सय ड्रम्स वाङ्गाला’ महोत्सवको तयारी तीव्र

IMG-20261007-WA0073

तुरा: मेघालय विधानसभाका सभामुख तथा नर्थ तुरा क्षेत्रका विधायक थोमस ए. साङ्माले आगामी नोभेम्बर ११ देखि १४ तारिखसम्म आयोजना हुने ‘एक सय ड्रम्स वाङ्गाला’ महोत्सवको ५०औँ स्वर्ण जयन्तीका लागि वाङ्गाला आदाममा भइरहेको तयारीको बुधबार स्थलगत निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा साङ्मासँग वेस्ट गारो हिल्सका प्रहरी अधीक्षक अब्राहम टी. साङ्मा, अतिरिक्त जिल्ला आयुक्त जुड राङ्कु टी. साङ्मालगायत विभिन्न सरकारी निकायका अधिकारीहरू तथा महोत्सव आयोजकहरू सहभागी थिए।
वाङ्गाला महोत्सव परम्परागत रूपमा एक सयवटा अ·चिक ढोलको सामूहिक र लयबद्ध वादनका लागि प्रसिद्ध छ। तर यस वर्ष महोत्सवको स्वर्ण जयन्ती विशेष अवसर भएकाले कार्यक्रमलाई विगतका वर्षभन्दा भव्य बनाउने तयारी गरिएको छ। आयोजकहरूले यस अवसरमा करिब एक हजारवटा परम्परागत अ·चिक ढोल एकसाथ बजाइने अपेक्षा गरेका छन्।
स्थलगत निरीक्षणका क्रममा साङ्माले निर्माण तथा व्यवस्थापनका कामहरूको प्रगति अवलोकन गर्नुका साथै सम्बन्धित सरकारी निकाय र महोत्सव आयोजकहरूसँग आवश्यक तयारीबारे छलफल गरेका थिए।
सञ्चारकर्मीसँग कुरा गर्दै साङ्माले महोत्सवको तयारीप्रति आफू सन्तुष्ट रहेको बताए। विभिन्न चुनौतीका बाबजुद तयारी तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै उनले सम्बन्धित कामलाई नजिकबाट निगरानी भइरहेको जानकारी दिए।
“काम पूर्ण गतिमा अघि बढिरहेको छ,” साङ्माले भने।
उनका अनुसार यस वर्षको महोत्सवमा पूर्वोत्तर भारतका चार जना मुख्यमन्त्रीसमेत सहभागी हुने अपेक्षा गरिएको छ। साथै, अन्य राज्यबाट पनि विभिन्न वाङ्गाला टोली तथा सांस्कृतिक समूहहरू सहभागी हुने तयारी छ।
यद्यपि, यस वर्षको स्वर्ण जयन्ती समारोहमा बङ्गलादेशबाट आउने भनिएको सांस्कृतिक टोली भने सहभागी हुन नसक्ने साङ्माले जानकारी दिए।
‘एक सय ड्रम्स वाङ्गाला’ महोत्सवको ५०औँ स्वर्ण जयन्तीले पूर्वोत्तर क्षेत्रका विभिन्न स्थानबाट कलाकार, सांस्कृतिक समूह तथा वाङ्गाला टोलीलाई एकै ठाउँमा ल्याउने अपेक्षा गरिएको छ। तुरा यस अवसरमा परम्परागत सङ्गीत, नृत्य र अ·चिक समुदायको सांस्कृतिक पहिचानसँग जोडिएको ढोलको गुञ्जायमान प्रस्तुतिले झनै रंगिने भएको छ।

About Author

Advertisement