भोटेकोशी-त्रिशूली बाढी: खोज तथा उद्धार स्थगित, पुनर्निर्माणका लागि ५ खर्ब ५९ अर्बको बजेट सिफारिस

IMG-20261005-WA0097

​काठमाडौँ(नेत्र बिक्रम बिमली): नेपाल सरकारले भोटेकोशी-त्रिशूली बाढीपछि सञ्चालन भइरहेको खोज तथा उद्धार अभियान तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को २१औँ बैठकले आम खोज तथा उद्धार स्थगित गरे पनि अत्यावश्यक खोजी कार्य भने जारी राख्ने निर्णय गरेको हो।
​प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले उद्धारको चरण समाप्त भएसँगै प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनर्स्थापनाको कामलाई तीव्र गतिमा अघि बढाउन सम्बन्धित निकायहरूलाई कडा निर्देशन दिएको छ। जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समिति र विपद् व्यवस्थापन प्राधिकरणको स्थलगत निरीक्षण एवं सिफारिसका आधारमा उक्त निर्णय लिइएको बताइएको छ।
​बैठकले विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि कुल ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बजेट स्वीकृतिको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। उक्त बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस पठाइनेछ।
​प्रधानमन्त्री शाहले विपद् व्यवस्थापन र पुनर्निर्माणका कार्यहरू तीनै तह (सङ्घ, प्रदेश र स्थानीय) को आपसी समन्वयमा अघि बढाइने स्पष्ट पारे। बैठकमा विपक्षी दलका नेता तथा विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूले पुनर्निर्माण अभियानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
​परिषद्ले बाढी तथा मनसुनजन्य विपद्बाट ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, खोज, उद्धार तथा राहत कार्यमा अहोरात्र खटिने सुरक्षाकर्मी, जनप्रतिनिधि, स्वयंसेवक, पत्रकार तथा अन्तर्राष्ट्रिय साझेदारहरूप्रति आभार व्यक्त गरेको छ।

About Author

Advertisement