उत्तरकन्यामा मन्त्री दिलीप घोषद्वारा प्रशासनिक समीक्षा बैठक

4d961e74-e24c-4c4a-b522-b5ec25db1f86

पहाड र डुवर्सको विकासबारे छलफल

​फुलबारी: पश्चिम बङ्गालका मन्त्री दिलीप घोषले शनिवार उत्तरकन्यामा दार्जिलिङ र कालिम्पोङ जिल्लाका प्रशासनिक अधिकारीहरूसँग उच्चस्तरीय समीक्षा बैठक सम्पन्न गरेका छन्। बैठकमा पहाड तथा डुवर्स क्षेत्रको विकास निर्माण, पञ्चायतको अवस्था, गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन (जीटीए) को कार्यशैली र कर्मचारी अभावबारे विस्तृत छलफल भएको छ।
​बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री घोषले समीक्षा सकारात्मक र विस्तृत भए तापनि केही क्षेत्रमा अपेक्षाअनुसार काम अघि बढ्न नसकेको बताए। पहाडका भौगोलिक जटिलता, जीटीएमा कर्मचारीको कमी र भारी वर्षाका कारण विकास निर्माणका कार्य केही सुस्त भएको उनको भनाइ थियो।
​प्रत्येक ब्लक विकास अधिकारी (बीडीओ) सँगको छलफलपछि समस्याहरूको पहिचान गरिएको र आगामी दिनमा कामले गति लिने विश्वास उनले व्यक्त गरे।
​भ्रष्टाचारको आरोपबारे बोल्दै मन्त्री घोषले भ्रष्टाचार नियन्त्रणका लागि सरकार गम्भीर रहेको बताए। गुनासो आएका करिब १० प्रतिशत पञ्चायतहरूमा विशेष लेखापरीक्षण (स्पेशल अडिट) भइरहेको जानकारी उनले दिए। साथै, जीटीएमा पनि भ्रष्टाचारका उजुरीहरू प्राप्त भएको उल्लेख गर्दै कर्मचारी तथा पूर्वाधारको कमी पूरा गर्न आवश्यक कदम चालिँदै गरेको बताए।
​आगामी उपनिर्वाचन र राज्यको राजनीतिक अवस्थाबारे सोधिएको प्रश्नमा उनले भने, “मनोनयन दर्ताका लागि अझै समय बाँकी छ, जोकसैले पनि उम्मेदवारी दिन सक्छन्। अन्य राजनीतिक दलका आन्तरिक समस्याको जिम्मेवारी भाजपाले लिँदैन।” पश्चिम बङ्गालका जनताले भाजपाबाटै विकासको अपेक्षा राखेकाले उपनिर्वाचनको परिणाम पनि सकारात्मक आउने र पार्टी भारी मतान्तरले विजयी हुने दाबी उनले गरे।

About Author

Advertisement