काठमाण्डोंँ: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘लौहपुरुष’ गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा श्रद्धासुमन अर्पण गर्दै उहाँका त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई पार्टीको संगठन तथा व्यवहारमा पुनःस्थापित गर्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै सभापति थापाले नेपाली कांग्रेस अहिले १५औँ महाधिवेशनको यात्रामा रहेको उल्लेख गर्दै महाधिवेशनलाई केवल नेतृत्व चयन गर्ने अवसरका रूपमा सीमित नगर्न आग्रह गरेका छन्।
उनले महाधिवेशनलाई गणेशमान सिंहजस्ता अग्रज नेताहरूले देखाएको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई आत्मसात् गर्ने महत्वपूर्ण अवसरका रूपमा अघि बढाउनुपर्ने बताएका छन्।
थापाले समय र चुनौतीहरू परिवर्तन भए पनि लोकतन्त्रप्रतिको निष्ठा, जनताप्रतिको उत्तरदायित्व तथा कठिन परिस्थितिमा सही पक्षमा उभिने साहस अझ बलियो हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
उनका अनुसार नयाँ पुस्ताका विश्वास, अपेक्षा र समयको मागअनुसार नेपाली कांग्रेसलाई अझ सशक्त, जनमुखी र लोकतान्त्रिक पार्टीका रूपमा रूपान्तरण गर्ने संकल्प महाधिवेशनबाट गर्न आवश्यक छ।
गणेशमान सिंहको योगदान र लोकतान्त्रिक संघर्षबाट प्रेरणा लिँदै कांग्रेसले वर्तमान चुनौतीको सामना गर्न संगठन, नेतृत्व र राजनीतिक व्यवहारमा लोकतान्त्रिक मूल्य–मान्यतालाई थप सुदृढ बनाउनुपर्नेमा थापाले जोड दिएका छन्।





