बाढी प्रभावित नेपाललाई भारतले दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्ने

IMG-20260914-WA0111

काठमाडौं: भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्ने भएको छ। भारतको विद्युत् मन्त्रालयले आगामी १३ सेप्टेम्बरदेखि ३१ डिसेम्बर २०२६ सम्म नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् निर्यात गर्न स्वीकृति दिएको हो। हालै आएको विनाशकारी बाढीका कारण नेपालको जलविद्युत् क्षेत्रमा ठूलो क्षति पुगेपछि आन्तरिक विद्युत् उत्पादन प्रभावित भएको अवस्थामा भारतले विद्युत् निर्यातको अनुमति दिएको हो। स्वीकृतिअनुसार भारतले मुजफ्फरपुर–ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत अधिकतम ६०० मेगावाट तथा टनकपुर–महेन्द्रनगर १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत अधिकतम ५४ मेगावाट विद्युत् नेपाललाई उपलब्ध गराउन सक्नेछ। भारतको विद्युत् मन्त्रालयका अनुसार नेपालले राति १२ बजेदेखि साँझ ६ बजेसम्मको अवधिमा दैनिक १८ घण्टा विद्युत् आयात गर्न सक्नेछ। बाढी तथा पहिरोका कारण जलविद्युत् आयोजनाका उत्पादन तथा प्रसारण पूर्वाधारमा क्षति पुगेपछि नेपालको आन्तरिक विद्युत् उत्पादन क्षमता घटेको र थप विद्युत् आवश्यक परेको मन्त्रालयले जनाएको छ। भारतले कठिन परिस्थितिमा नेपाललाई विद्युत् आवश्यकता पूरा गर्न सहयोग पुग्ने उद्देश्यले निर्यात अनुमति दिएको जनाएको छ। पछिल्लो निर्णयले नेपाल र भारतबीच लामो समयदेखि हुँदै आएको ऊर्जा सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। भारतबाट सन् २०२७ जनवरीदेखि नेपाललाई निर्यात गरिने विद्युत्को परिमाणबारे भने डिसेम्बर २०२६ मा पुनरावलोकन गरिने जनाइएको छ। बाढीका कारण नेपालको ऊर्जा क्षेत्रमा परेको असरका बीच भारतबाट प्राप्त हुने अतिरिक्त विद्युत्ले तत्कालीन विद्युत् माग व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

About Author

Advertisement