पश्चिम बंगालको पर्यटन विकासमा नयाँ पहल

Screenshot_20260902_215001_WhatsApp

अमेरिकी पर्यटकको सुरक्षादेखि सिधा अन्तर्राष्ट्रिय उडानसम्म जोड

कोलकाता: पश्चिम बंगालमा पर्यटन प्रवर्द्धन, विदेशी पर्यटकको सुरक्षा तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार गर्ने विषयमा भारतस्थित अमेरिकी कन्सुल जनरल र पश्चिम बंगाल सरकारबीच महत्वपूर्ण छलफल भएको छ।
कोलकातास्थित अमेरिकी कन्सुल जनरल महामहिम क्याथरिन गिल्स–डियाज र कन्सुलर सेक्सन प्रमुख नोआ होगनले पश्चिम बंगाल सरकारका संसदीय मामिला तथा पर्यटनमन्त्री डा. शंकर घोषसँग नयाँ सचिवालय भवनमा भेटवार्ता गरेका हुन्। मन्त्री डा. घोषले अमेरिकी प्रतिनिधिमण्डललाई उत्तरीय, पुष्पगुच्छा तथा हस्तनिर्मित डोक्रा कलाका दुर्गा र परिवारका मूर्ति प्रदान गरी स्वागत गरे।
भेटवार्तामा विशेषगरी पश्चिम बंगाल भ्रमण गर्ने अमेरिकी पर्यटकको सुरक्षा, पर्यटन सेवाको विश्वसनीयता र भविष्यमा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भयो। मन्त्री डा. घोषले राज्य सरकारले पर्यटकको सुरक्षालाई प्राथमिकता दिँदै २३ जिल्लामा २४सै घण्टा सञ्चालन हुने हेल्पलाइन तथा वर्षभरि सञ्चालन हुने केन्द्रीय राज्यस्तरीय हेल्पलाइन सुरु गर्न लागेको जानकारी दिए।
उनले अमेरिकी पर्यटकलाई पश्चिम बंगालको आधिकारिक ‘टुरिस्ट एप’ प्रयोग गरी सरकारमा दर्ता भएका होटल, होमस्टे, ट्राभल एजेन्ट तथा यातायात सेवा मात्र बुक गर्न आग्रह गर्न अमेरिकी कन्सुल जनरललाई अनुरोध गरे।
कन्सुल जनरल गिल्स–डियाजले आधिकारिक टुरिस्ट एप तथा पर्यटन विभागको वेबसाइटमा भिसा आवेदनसम्बन्धी सुविधा पनि समावेश गर्न सुझाव दिइन्। मन्त्री घोषले सम्बन्धित निकायसँग समन्वय गरी यस विषयमा आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।
यसैबीच, कोलकाता विमानस्थलबाट थप प्रत्यक्ष अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि राज्य सरकारले पहल गर्ने योजना पनि मन्त्री घोषले प्रस्तुत गरे। प्रत्यक्ष अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारले पश्चिम बंगाललाई विश्व पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्न तथा विदेशी पर्यटकको आगमन बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
दुवै पक्षले पर्यटन क्षेत्रको विकास, अन्तर्राष्ट्रिय प्रवर्द्धन तथा पर्यटकको सुरक्षा र सुविधाका लागि सम्भावित सबै क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

About Author

Advertisement