सिलगढी: उपभोक्ताको स्वास्थ्य तथा खाद्य सुरक्षालाई ध्यानमा राख्दै सिलगढी नगरपालिका र खाद्य सुरक्षा विभागको संयुक्त टोलीले बजार अनुगमनलाई तीव्र बनाएको छ। सोही क्रममा टोलीले चर्च रोडस्थित ‘गुरु स्विट्स एण्ड स्न्याक्स’ र ‘स्वागत स्विट फ्याक्ट्री’मा आकस्मिक निरीक्षण गरेको छ।
खाद्य पदार्थको स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षाका तोकिएका मापदण्डहरू पालन भए–नभएको सुनिश्चित गर्न नियमित अनुगमनअन्तर्गत यो निरीक्षण गरिएको सिलगढी नगर निगमले जनाएको छ।
निरीक्षणका क्रममा टोलीले मिठाई उत्पादन गरिने ठाउँ, भण्डारण कक्ष र बिक्री कक्षको सरसफाइको अवस्था सुक्ष्म रूपमा जाँच गरेको थियो। साथै, व्यवसायीहरूलाई सफा-सुग्घर वातावरणमा खाद्य वस्तु तयार पार्न र सुरक्षा मापदण्डको पूर्ण पालना गर्न निर्देशन दिइएको छ।





