सिलगढी: सिलगढीमा आयोजित दार्जिलिङ, कालिम्पोङ, खर्साङ र मिरिक नगरपालिकाका साथै सिलगढी नगर निगमको उच्चस्तरीय प्रशासनिक समीक्षा बैठकमा सहरी सुशासन र जनकल्याणका बहुआयामिक विषयमा व्यापक छलफल भएको छ। पश्चिम बंगालकी नगर विकास तथा नगर मामिला मन्त्री अग्निमित्रा पलको अध्यक्षतामा बैठक सम्पन्न भएको हो।
बैठकमा सहभागी दार्जिलिङका सांसद् राजु बिष्टका अनुसार, सहरी क्षेत्रका प्रत्येक घरधुरीमा स्वच्छ खानेपानीको पहुँच पुर्याउने, आधुनिक ढल (सेवरेज) पूर्वाधार विस्तार गर्ने, स्वास्थ्य र सरसफाइमा सुधार ल्याउने तथा फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा विस्तृत समीक्षा गरिएको छ। यसका साथै सहरी क्षेत्रमा बढ्दो ट्राफिक भीडभाड नियन्त्रण गर्ने र ‘प्रधानमन्त्री आवास योजना’को कार्यान्वयनलाई तीव्रता दिने निर्णयसमेत बैठकले गरेको छ।
सांसद् बिष्टका अनुसार आगामी स्थानीय निकाय चुनाव, नगर प्रशासनका समसामयिक मुद्दा र सर्वसाधारणको जीवनस्तर सुधारका उपायहरूबारे बैठकमा रणनीतिक छलफल भएको छ। दार्जिलिङ, कालिम्पोङ, खर्साङ, मिरिक र सिलगढी तीव्र विकासको गतिमा रहेको उल्लेख गर्दै उनले यी क्षेत्रहरू व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य, लजिस्टिक र लगानीका प्रमुख केन्द्र बन्ने ठूलो सम्भावना बोकेको बताए।
”यी पहाडी तथा तराईका प्रमुख सहरी क्षेत्रको द्रुत विकासलाई व्यवस्थित योजना र आधुनिक पूर्वाधारमार्फत अघि बढाउनु अहिलेको मुख्य आवश्यकता हो,” सांसद् बिष्टले भने।
मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा सरकारले यस सम्पूर्ण क्षेत्रलाई आधुनिक ‘हिमाली पहाडी सहर’ (हिमालयन हिल सिटी) का रूपमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएको छ। विकास आयोजनाहरूको समयमै कार्यान्वयन, सहरी पूर्वाधारको सुदृढीकरण र स्वच्छ तथा दिगो सहर निर्माणलाई प्राथमिकतामा राखिएको सांसद् बिष्टले जानकारी दिएका छन्।











