गान्तोक: सिक्किम सरकारले राज्यका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा र समान अवसर सुनिश्चित गर्ने उद्देश्यका साथ एक ऐतिहासिक शैक्षिक कार्यक्रम ‘सीएम-साथी’ को शुभारम्भ गरेको छ। भारत सरकारको ‘साथी’ पहल अन्तर्गत भारतीय प्रविधि संस्थान (आईआईटी) कानपुरको सहकार्यमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) द्वारा यस रूपान्तरणकारी कार्यक्रमको घोषणा गरिएको हो।
यस कार्यक्रम अन्तर्गत मेडिकल (नीट) र इन्जिनियरिङ (जेईई) को तयारी गरिरहेका विद्यार्थीहरूलाई विज्ञहरूद्वारा तयार पारिएका भिडियो लेक्चर, अध्ययन सामग्री, नमुना परीक्षा, अभ्यास प्रश्नहरू र प्रविधिमा आधारित सिकाइका माध्यमबाट निःशुल्क एवं विश्वस्तरीय कोचिङ र शैक्षिक सहयोग उपलब्ध गराइनेछ। आर्थिक रूपमा कमजोर पृष्ठभूमि भएका विद्यार्थीहरूलाई समेत ध्यानमा राख्दै गुणस्तरीय शिक्षा उनीहरूको घर र विद्यालयसम्मै पुर्याउने लक्ष्य राखिएको छ।
सरकारले सञ्चालन गरिरहेको ‘लक्ष्य सेन्टर अफ एक्सीलेन्स’ को सफलतालाई थप सुदृढ बनाउँदै ल्याइएको यस कार्यक्रमबाट सिक्किमका ४० भन्दा बढी सरकारी तथा निजी विद्यालयका २,००० भन्दा बढी विद्यार्थी लाभान्वित हुने अपेक्षा गरिएको छ। यसका साथै आइआइटी कानपुरसँगको सहकार्यले राज्यका विज्ञान र गणित शिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धिमा समेत सहयोग पुग्नेछ।
यस अवसरमा मुख्यमन्त्री तामाङले केन्द्रीय शिक्षा मन्त्रालय र आइआइटी कानपुरलाई जेईई र नीटबाहेक अन्य राष्ट्रिय स्तरका प्रतिस्पर्धी परीक्षाहरू जस्तै सीयूईटी, क्लाट, एनडीए र यूपीएससीको जग तयारीका लागिसमेत यस्तै सहयोग विस्तार गर्न अनुरोध गरेका छन्, जसबाट अन्य संकायका विद्यार्थीहरू पनि लाभान्वित हुन सकून्। विद्यार्थीहरूलाई ठूलो सपना देख्न र अनुशासित रहन उत्प्रेरित गर्दै मुख्यमन्त्रीले यस पहललाई सिक्किमको समृद्ध भविष्यका लागि युवाहरूको आकांक्षामा गरिएको एक महत्त्वपूर्ण लगानीका रूपमा व्याख्या गरेका छन्।










