सिलगढी: नजिकै सेवकस्थित प्रसिद्ध कोरोनेसन पुलबाट टिस्टा नदीमा एक व्यक्तिले हामफालेको आशंकामा दोस्रो दिन पनि खोजी कार्य तीव्र पारिएको छ।
सुरक्षा निकाय तथा उद्धार टोलीले निरन्तर खोजी गर्दा पनि अहिलेसम्म ती व्यक्तिको कुनै अत्तोपत्तो पाउन सकिएको छैन।
प्रहरी स्रोतका अनुसार कोरोनेसन पुल नजिकैबाट एक व्यक्तिले नदीमा हामफालेको सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो। सोही क्रममा पुल नजिकै एउटा शङ्कास्पद मोटरसाइकल फेला परेको छ।
उक्त मोटरसाइकलको दर्ता नम्बर जाँच गर्दा त्यो सिलगढीको हाकिमपाडा क्षेत्रका एक बासिन्दाको नाममा दर्ता रहेको खुलेको छ।
यसैबीच, सिल्गुडी महानगरीय प्रहरी अन्तर्गतको पानीट्याङ्की पुलिस चौकीमा एक व्यक्तिको बेपत्ता सम्बन्धी उजुरी दर्ता भएसँगै यस घटनाले नयाँ मोड लिएको छ। घटनाको जानकारी पाएपछि बेपत्ता व्यक्तिका परिवारजन पनि टिस्टा नदी किनारमा पुगेका छन्।
मंगलबार साँझदेखि नै एनडिआरएफ र एसडिआरएफको टोलीले नदीमा निरन्तर खोजतलास गरिरहेको भए पनि ती व्यक्ति अझै फेला परेका छैनन्। पुलिसले यस घटनालाई विभिन्न दृष्टिकोणबाट सुक्ष्म रूपमा अनुसन्धान गरिरहेको जनाएको छ।











