मन्त्री विशाल लामाद्वारा विकास कार्यको समीक्षा
अलीपुरद्वार: डुआर्स क्षेत्रको समावेशी विकास, आधुनिक सहरी पूर्वाधार र उत्कृष्ट नागरिक सुविधाहरूलाई उच्च प्राथमिकता दिँदै पश्चिम बंगाल सरकारका मन्त्री विशाल लामाको उपस्थितिमा जयगाउँ डेभलपमेन्ट अथोरिटी (जेडीए) को एक उच्चस्तरीय समीक्षा बैठक सम्पन्न भएको छ। अलीपुरद्वारको डुआर्स कन्यामा आयोजित यस विशेष बैठकमा क्षेत्रको समग्र विकासका साथै सञ्चालित विभिन्न विकासात्मक परियोजनाहरूको वर्तमान प्रगतिबारे विस्तृत समीक्षा गरिएको थियो। बैठकमा अलीपुरद्वारका जिल्ला अधिकारी (डीएम), पुलिस उपरीक्षक (एसपी), उप-मण्डलाधिकारी (एसडीएम) तथा जयगाउँ डेभलपमेन्ट अथोरिटीका वरिष्ठ अधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो। सरकारी निकायहरूबीचको आपसी समन्वयलाई अझ सुदृढ बनाउने, राष्ट्रिय तथा क्षेत्रीय गौरवका विकास कार्यहरूमा तीव्रता दिने र जनहितकारी योजनाहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने विषयमा बैठकमा गहन छलफल भएको छ।
यस महत्त्वपूर्ण बैठकको मुख्य कार्यसूची राज्य सरकारद्वारा पूर्वघोषित प्रस्तावित जयगांव नगरपालिका (म्युनिसिपालिटी) स्थापनाका लागि ठोस कार्ययोजना र ‘रोडम्याप’ तयार गर्नु रहेको थियो। नयाँ नगरपालिका गठनपछि सर्वसाधारणलाई सहज र व्यवस्थित रूपमा सहरी सेवाहरू उपलब्ध गराउनका लागि आवश्यक पर्ने प्रशासनिक ढाँचा, आधारभूत संरचना, नागरिक सुविधाहरू तथा भविष्यको रणनीतिक विकास योजनाहरूका बारेमा अधिकारीहरूबीच विस्तृत विचार-विमर्श भएको छ। मन्त्री लामाले जयगाउँलाई एक आधुनिक र सुविधायुक्त सहरका रूपमा रूपान्तरण गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
यसका साथै, क्षेत्रको ऐतिहासिक गोपीमोहन मैदानको समग्र विकास र आधुनिकीकरणका विषयमा पनि बैठकमा महत्त्वपूर्ण निर्णयहरू गरिएका छन्। उक्त मैदानलाई डुआर्स क्षेत्रकै एक प्रमुख खेलकुद तथा सार्वजनिक गतिविधिहरूको केन्द्र (हब) का रूपमा विकसित गर्नका लागि विभिन्न प्रस्ताव र गुरुयोजनाहरूमाथि विस्तृत चर्चा गरिएको छ।
मन्त्री विशाल लामाले डुआर्स क्षेत्रको जनअपेक्षालाई सम्बोधन गर्दै नागरिकहरूको जीवनस्तर सुधार्न र जनहितलाई सर्वोपरि राखेर आफूहरू सबै मिलेर विकासको यस ऐतिहासिक यात्रालाई निरन्तर अगाडि बढाउन दृढ सङ्कल्पित रहेको बताउनुभएको छ।









